काठमाण्डौ । पूँजीबजारमा दैनिकजसो पहिरो किन गइरहेको होला ? यो बेलामा सेयर बिक्री गर्दा ठीक होला कि होल्ड गर्दा ठीक ? कतै बजार अझै तल झरेर लगानी बर्बाद त हुने होइन ?पूँजीबजारका लगानीकर्ताहरुको त्रसित मानसिकतामा यस्तै तर्कनाहरु खेलिरहेका छन् । अझ साताको पहिलो कारोबार दिन आइतबार बजारमा तीव्र गतिमा गिरावट आई सर्किट ब्रेकर नै लगाउनु परेपछि लगानीकर्ता थप अत्तालिएका छन् । आखिर के भइरहेको छ देशको पूँजीबजारमा ?

विश्लेषकहरुका अनुसार विभिन्न कारणले बजारले यो हविगत भोग्नु परिरहेको हो । तर लगानीकर्ता यत्तिमै आत्तिइहाल्नुपर्ने अवस्था भने छैन । 

बजार विश्लेषक अञ्जनराज पौड्यालको भनाईमा उच्च बिक्री चापले सर्किट ब्रेकर नै लगाउनुपर्ने अवस्था आएको हो। ‘तर यसको अर्थ लगानीकर्तामा क्रय इच्छाशक्ति छैन भन्ने होइन।’ उनले भने–‘धेरै लगानीकर्ता बजार अझ घटेर घाटा परिने हो कि भन्ने डरले समेत अत्तालिएर सेयर बिक्रीमा लाग्दा यस्तो अवस्था आएको हो।’ 

यो बाहेक गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजारमा ४० अंक बढीले घटेको थियो । यो घटाईको प्रभाव समेत साताको पहिलो कारोबार दिन परेको हो । गत साता निकै ठूलो अंकमा घटेर बन्द भएको बजार यो साता पनि त्यही लयमा जाला भन्ने लगानीकर्ताको सोंचले सेयरको बिक्री चाप बढेको उनको विश्लेषण छ । 

यस्तै, बजारमा खरीदको चाप छैन, यसको अर्थ लगानीकर्ता सेयरमा भन्दा अन्यत्रै बढी संभावना देखिरहेका छन् । तरलता अभावका कारण बैंक तथा बित्तीय संस्थाहरुले निक्षेप खिच्नका लागि मुद्धती खातामा निकै आकर्षक ब्याजदरको अफर गरिरहेका छन् । बियरिस ट्रेण्डमा रहेको बजारमा लगानी गरेर घाटा व्यहोर्नु भन्दा फिक्स डिपोजिटमा राम्रो ब्याज लिएर, थोरै र ढुक्कको नाफा हात पार्नेतर्फ धेरै लगानीकर्ता लागेका छन् । यो कारणले समेत पूँजीबजारलाई घट्न मद्धत गरिरहेको छ। 

हिजोको दिनमा पूँजी बजार १९ सयको नजिक पुुग्दा त्यसमा बिमा कम्पनीहरुको निकै ठूलो भूमिका थियो । बिमा कम्पनीहरुको चुक्तापूँजी बढ्दैछ भन्ने हल्लाले निकै ठूलो काम गरेको थियो । बिमाले नै नेतृत्व गरेर बजार परिसूचकलाई १९ सय नजिक पुर्याएको थियो । तर हल्ला भएजस्तो समयमै बिमाको क्यापिटल प्लान सम्बन्धी कुनै स्पष्ट नीति आउन सकेको छैन । बिमा नीति आउन ढिलाई भएका कारण समेत उचालिएर लगानी गरेकाहरुले धमाधम बिक्री गर्न थालेका छन् । यो कारणले बिमा समूहको सूचकको अवस्था समेत निराशाजनक छ ।

अर्कोतर्फ, बैंक तथा बित्तीय संस्थाहरुले पूूँजी वृद्धिको बाध्यताले यो वर्ष राम्रो हकप्रद र बोनस सेयर घोषणा गरेका छन् । आगामी वर्ष त्यही लेभलमा हकप्रद र बोनस नआउने विश्लेषणसहित लगानीकर्ता यतिबेलै नाफा सुरक्षित गर्ने चक्करमा लाग्दा समेत बजारमा दैनिक गिरावट आइरहेको विश्लेषक बताउँछन ।

ठूलाको चलखेल, सानाको बिजोग
नेपालको पूँजीबजारमा संस्थागत लगानीकर्ताहरुको समूह इन्साइडर ट्रेडिङ गर्न जति माहिर छ, विभिन्न कम्पनीसँग मिलेर बजारलाई घटाउने र न्यूनतम बिन्दूमा पुर्याएर सेयर खरीद गरी पुनः सुनियोजित रुपमा बढाउने खेलमा पनि उत्तिकै अब्बल । कतिपय विश्लेषक भने यो पटकको बजार घटाईमा यस्तै समूहको हात रहेको दाबी गर्छन । एभरेष्ट बैंक लगायत महंगो मूल्यको सेयरमा इन्साइडर ट्रेडिङ गरी राम्रो नाफा हात पारिसकेका संस्थागत लगानीकर्ताहरुले विभिन्न हौवा फिजाएर बजार घटाइरहेका छन् । यसमा उनीहरुको एउटै उद्देश्य, बजारलाई निकै तल झारेर पुनः आफूले उच्च नाफा लिएर बिक्री गरेको सेयर खरीद गर्नु रहेको छ । 

उनीहरुको भनाईमा संस्थागत लगानीकर्ता र केही गिरोहहरुको पूँजीबजारमा सधैं हुने र फस्टाइरहेको खेलो फड्कोको बिषयमा नियामक निकायहरुले ध्यान नदिंदा समेत यस्तो अवस्था आएको हो। नियामक निकायको कमजोर भूमिका कारण समेत बजारमा यस्ता गिरोहको राज चलेको र उनीहरुको धन्दा तथा गैरकानूनी हर्कतले साना लगानीकर्ता भने टाट पल्टने अवस्थामा पुुगेका छन् । 

बजार तीव्र गतिमा वियरिस ट्रेण्डमा गएको यस्तो बेलामा सम्हालिएर सेयर खरीदबिक्रीको निर्णय लिन र कसैको हल्ला पछाडि नलाग्न तथा दीर्घकालीन नाफाघाटाको कोणबाट समेत बजारका कम्पनीहरुलाई विश्लेषण गर्नुपर्ने विज्ञहरुको सुुझाव छ ।