– अर्जुन तिमिल्सिना

काठमाण्डौ । दैनिक बजार घटिरहेकै बेला ब्रोकरहरुले आफ्ना केही लगानीकर्ताहरुको कोल्याट्रल जिरो पारेका छन्। 

केही लगानीकर्ताले ब्रोकरहरुले बजार घटाउनका लागि जानी–जानी कोल्याट्रल जिरो पारेको आरोप लगाएका छन्। ‘मैले कारोबार गर्ने ब्रोकरले मेरो कोल्याट्रल जिरो बनाइदिएको छ’, बिजशालासँगै कुरा गर्दै एक लगानीकर्ताले भने, ‘केही दिनदेखि बजार घटिरहेको छ तर ब्रोकरले कोल्याट्रल जिरो बनाइदिँदा घटेको बजारमा मैले सेयर किन्न पाइनँ।’ 

कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) का सञ्चालक भरत रानाभाटले सबै लगानीकर्ताको कोल्याट्रल जिरो नबनाइएको स्पष्ट पारे। ‘जसले २५ प्रतिशत डिपोजिट राखेर कारोबार गरेका छन् र ब्रोकरलाई समयमै भुक्तानी गरिरहेका छन्, उनीहरुको कोल्याट्रल जिरो बनाइएको छैन’, रानाभाटले भने, ‘तर, जसले २५ प्रतिशत डिपोजिट पनि राखेका छैनन् र समयमा भुक्तानी पनि गर्दैनन्, उनीहरुको हकमा भने ब्रोकरले आफ्नै सुरक्षाका लागि कोल्याट्रल जिरो बनाइएको हो।’ 

रानाभाटका अनुसार पहिले चेक डिपोजिटबाट कारोबार गर्न दिइन्थ्यो। ‘अहिले नगद नै राख्नुपर्ने व्यवस्था छ’, उनले भने, ‘बढ्दो बजारमा ग्राहकले त्यही सेयर बेचेर पनि हिसाब मिलान गर्ने हुँदा केही समस्या हुँदैन। अहिले बजार घटेको समयमा ब्रोकरलाई पनि दबाब हुन्छ। हामीले पनि हिसाब मिलान गर्नुपर्छ।’

नियमसंगत चल्ने ग्राहकको हकमा त्यस्तो नहुन सक्ने रानाभाटको भनाइ छ। ‘जो नयाँ छ र कारोबारको भुक्तानी पनि समयमै गरेको छैन, उसको हकमा ब्रोकर आफैँले आफ्नो सुरक्षाका लागि कोल्याट्रल घटाउने तथा जिरो नै बनाउनेसम्मको कार्य गरेको हुन सक्छ’, उनले भने। 

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरहरुले जोखिम  व्यवस्थापनका लागि केही नयाँ लगानीकर्ता र समयमा भुक्तानी नगर्नेको हकमा कोल्याट्रल घटाइएको अथवा पूर्ण रुपमा हटाएका पनि हुन सक्ने बताए। ‘२५ प्रतिशत पनि डिपोजिट नराख्ने र उल्टै ब्रोकरलाई तिर्न भएको खण्डमा ब्रोकरले जोखिम मूल्यांकन गरेका हुन सक्छन्’, उनले भने, ‘नियमसंगत कारोबार गर्ने तथा समयमा भुक्तानी गर्ने लगानीकर्ताको हकमा भने यस्तो गरिएको छैन’, उनले भने।