काठमाण्डौ । नेपाल टेलिकमले उपत्यकामा विभिन्न भौतिक पूर्वाधार निर्माणले कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्दा सेवा अवरुद्ध भएको जनाएको छ।
नेपाल टेलिकमले आज एक विज्ञप्ति जारी गरी सेवा अवरुद्ध हुनुको कारण खुलाएको हो। ‘नेपाल टेलिकमले ग्राहकलाई सेवा प्रदान गर्नको लागि अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी सेवा सञ्चालन गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सडक, खानेपानी, ढल, विद्युतलगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुग्ने गरेको छ। यसले गर्दा हजारौँ ग्राहक वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवाहरु प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ।’
यही क्रममा काठमाण्डौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तीगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, कीर्तिपुरलगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई हजारौँ ग्राहक केही अवधिका लागि सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको विज्ञप्तिमा जनाइएको छ।
यस्तै अवस्थालाई मध्यनजर गरी संरचना निर्माण वा विस्तारका क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता रहेको कम्पनीले औँल्याएको छ। ‘कम्पनी सबै निकायसँग समन्वय र सहकार्यका लागि सदैव तत्पर छ’, विज्ञप्तिमा भनिएको छ, ‘दूरसञ्चार अत्यावश्यक र संवेदनशील सेवासमेत भएकोले सबै सम्बन्धित पक्ष तथा आम सर्वसाधारणमा निरन्तर सेवा प्रवाहमा साथ दिनुहुन अनुरोध गर्दछ।’
संरचनामा क्षति पुगी सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मतकार्य अघि बढाउने गरिएको कम्पनीले जनाएको छ। ‘यस क्रममा क्षतिको प्रकृतिअनुसार पुनः सेवा सुचारु गर्न केही समय लाग्नसक्ने सम्भावना पनि रहन्छ’, विज्ञप्तिमा उल्लेख छ ‘विविध कारणबाट ग्राहकले निरन्तर सेवा प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाप्रति कम्पनी क्षमाप्रार्थी हुनुका साथै कम्पनीका सेवा प्रयोगमा निरन्तरताको अपेक्षा व्यक्त गर्दछ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago