काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’ साउनभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखेको थियो। तर, नेप्सेले लक्ष्य भेट्याउन सकेन। 

अब त भदौको दोस्रो साता पनि बित्न लागिसकेको छ। तर, नेप्से–३० कहिलेदेखि सञ्चालनमा ल्याउने भन्ने विषयमा अझै नेप्से टुंगोमा पुग्न सकेको छैन। 

त्यसो त नेप्सेले नेप्से–३०मा समावेश हुने ३० वटा कम्पनी छनौट गरी आन्तरिक परीक्षण सफलतापूर्वक सकिसकेको छ। धितोपत्र बोर्डले गत साउनको दोस्रो नै नेप्से–३० ल्याउन नेप्सेलाई ग्रिन सिग्नल दिएको थियो।

नेप्से–३० इन्डेक्सका लागि छनौट गरिएका ३० वटा कम्पनीको रियल टाइमको डाटा फिट गरेर इन्डेक्सको मुभमेन्ट हेर्ने काम भइसकेको नेप्सेका एक अधिकारीले बताए। ‘नेप्से–३० सञ्चालनमा ल्याउन सबै तयारी पूरा भइसकेको छ’, ती अधिकारीले भने, ‘तर, नेप्सेको बोर्ड बैठक बस्न सकेको छैन, बोर्ड बैठकले मिति तय गरेपछि नेप्से–३० सञ्चालनमा ल्याउने बाटो खुल्छ।’

नेप्सेका सीईओ कृष्णबहादुर कार्की पनि नेप्सेको बोर्ड बैठक बस्न नसक्दा नेप्से–३० सञ्चालनमा ल्याउने मिति तय हुन नसकेको बताउँछन्। ‘अध्यक्षज्यू अहिले अलि व्यस्त हुनुहुन्छ, उहाँ आउनुभएपछि नेप्सेको बोर्ड बैठक बस्ला’, उनले भने, ‘त्यसपछि नेप्से–३० लन्च गर्ने मिति तय हुन्छ।’

बोर्ड बैठकबाट मिति टुंगो लागेपछि नेप्से–३०बारे विस्तृतमा जानकारी दिन मिडियाकर्मी तथा सरोकारावाला निकायहरुबीच एउटा अन्तर्क्रियाको आयोजना गरिने सीईओ कार्कीले जानकारी दिए। ‘पहिला नेप्से–३०को सञ्चालन र उपयोगबारे सबैले जानकारी पाउनपुर्छ, त्यसैले एउटा कार्यक्रम गरी त्यसबारे जानकारी दिन्छौँ’, उनले भने, ‘त्यसपछि मात्रै नेप्से–३०को औपचारिक सुरुआत हुनेछ।’