– धर्म मलासी

काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस संकटबीच नेपालीहरुको महान चाड दसैँ आउन अब एक महिनाभन्दा कम समय बाँकी रहेको छ। 

सदाझैँ यसपालि पनि खाद्य व्यवस्था तथा व्यापार लिमिटेडले दसैँका लागि उपभोक्ताहरुलाई सहुलियत दरमा खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराउने हिसाबले तयारी सुरु गरिसकेको छ। यसपालि कुल ३ हजार खसी, बोका र च्यांग्रा काठमाण्डौ भित्र्याइने खाद्य व्यवस्थाकी सूचना अधिकारी सर्मिला न्यौपानेले सुवेदीले जानकारी दिइन्। 

सुवेदीका अनुसार यसपालि काठमाण्डौमा १ हजार ४०० च्यांग्रा र १ हजार ६०० खसीबोका हुनेछन्। गत दसैँमा खाद्य व्यवस्था १ हजार ९२० च्यांग्रा र १ हजार ८० खसी र बोका काठमाण्डौ भित्र्याएको थियो।

गत दसैँमा खसी, बोका र च्यांग्र हेटौँडा र लहानबाट भित्र्याइएको थियो। यसपालि खसी, बोका र च्यांग्रा कहाँबाट ल्याउने भन्ने विषयमा टुंगा लगिनसकेको सुवेदीले बताइन्। 

गत वर्ष खाद्य व्यवस्थाले मासुमा प्रतिकेजी १० रुपैयाँ र चामलमा ५ रुपैयाँ छुट दिएको थियो। ‘यसपालि यो स्वास्थ्य संकटका कारण धेरै परिवारको आयस्रोत घटेको छ’, उनले भने, ‘पोहोरजति त यसपालि छुट होला, अझै छुटमा बढाउने विषयमा छलफल हुँदैछ।’

खाद्य व्यवस्थाले साल्ट्र ट्रेडिङ र दुग्ध विकास संस्थासँग मिलेर सञ्चालन गर्ने सुपथ मूल्यको पसलका विषयमा टुंगो लागिनसकेको पनि सुवेदीले बताइन्। ‘पोहोर हामीले उपत्यकामा ५ वटासहित देशभर सुपथ मूल्य पसल चलाएका थियौँ’, उनले भनिन्, ‘तर यसपालि भीडभाड नियन्त्रण गर्नुपर्ने भएकोले कसरी यस्ता पसल सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।’

सुवेदीका अनुसार उपत्यका र सुर्खेतमा खाद्य व्यवस्थाले अनलाइनमार्फत उपभोक्तालाई आवश्यक सामान पुर्याउने काम सुरु गरिसकेको छ। ‘अन्य जिल्लामा अनलाइन वा वैकल्पिक माध्यमबाट दसैँमा सुपथ मूल्यको पसल चलाउने सोचका हामी गृहकार्य गरिरहेका छौँ’, उनले भनिन्।