काठमाण्डौ । फोर्ब्सले सार्वजनिक गरेको विश्वका धनाढ्याहरुको सूचीमा यसपालि पनि नेपालबाट विनोद चौधरीमात्रै पर्न सफल भएका छन्।

चौधरी सन् २०१३ देखि फोर्ब्सले सार्वजनिक गर्दै आएको विश्वका धनाढ्यहरुको सूचीमा पर्दै आएका छन्। यो वर्षको सूचीमा चौधरी २१४१ औँ स्थानमा छन्। अघिल्लो वर्ष उनी यो सूचीको १५१३ स्थानमा थिए। 

सन् २०१९ मा चौधरीको सम्पत्ति १.७ अर्ब अमेरिकी डलर पुगेको थियो। हाल लगातार दुई वर्षसम्म चौधरीको सम्पत्ति १.४ अर्ब डलर रहेको छ। 

कोभिडका कारण चौधरीको सम्पत्ति बढ्न नसकेको बताइएको छ। भूकम्प तथा नाकाबन्धिले सन् २०१६ मा उनको सम्पत्ति १.१ अर्ब डलर थियो। 

सन् २०१३ मा पहिलो फोर्ब्सको धनाढ्यहरुको सूचीमा प्रवेश गर्दा उनको सम्पत्ति जम्मा १ अर्ब डलरमात्रै थियो। 

चौधरी सिजी कर्प ग्लोबलका सञ्चालक हुन् भने नेपालमा उनको नबिल बैंक र सिजी फुडमा धेरै लगानी छ। 

यो वर्ष विश्वका धनाढ्यहरुको सूचीको पहिलो स्थानमा अमेजनका जेफ बेजोस छन्। उनको कुल सम्पत्ति १७७ अर्ब डलर रहेको छ। 

त्यस्तै कुल सम्पत्ति १५१ अर्ब डलरका साथ टेस्ला कम्पनीका सीईओ एलन मस्क यो सूचीको दोस्रो स्थानमा रहेका छन्। तेस्रो स्थानमा बर्नार्ड आर्नाल्ट छन्। उनको कुल सम्पत्ति १५० अर्ब डलर रहेको छ।