काठमाण्डौ । साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाले दुुईचरणमा निश्कासन गरेको आइपीओको बाँडफाँड भएको छ । 

जसअनुसार रसुवागढीको आइपीओ खरीदका लागि ७० कित्तासम्म आवेदन दिने सबैले मागेजति शेयर पाएका छन्। सोभन्दा बढी कित्ताका लागि आवेदन दिएकाबीच गोलाप्रथाबाट १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको थियो । जसमध्ये १ लाख ६२ हजार ६ सय ३९ जनाले मात्र सेयर प्राप्त गरेका छन् । 

रसुवागढीले निष्काशन गरेको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयर स्मार्ट क्याफे धुम्बाराहीमा आइतबार बाँडफाँड गरिएको हो । बिक्री प्रबन्धकहरुका अनुसार ८० कित्तादेखि ५०० कित्तासम्म माग गर्ने लगानीकर्तामध्ये ६८ हजार १८ जनाले ८० कित्ता तथा पाँच जनाले ७१ कित्ता सेयर प्राप्त गरेका छन् । 

फागुन ११ देखि ३० गतेसम्म रसुवागढीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि निष्काशन गरिएको सो सेयरमा एक लाख ८८ हजार ९६३ आवेदकले ५.०२ गुणा बढी ६ करोड ६९ लाख ६६ हजार २६ कित्ता सेयर माग गरेका थिए ।

आवेदनको क्रममा भएको त्रुटीका कारण कूल आवेदकमध्ये एक हजार ८५ वटा आवेदन रद्ध भएको घोषणा गरिएको छ । एक लाख ८७ हजार ८७८ जना आवेदकको ६ करोड ६६ लाख ५२ हजार ३७० कित्ता सेयर सदर भएको थियो ।

यसैगरी, साञ्जेनमा सबैले ३० कित्तासम्म शेयर पाएका छन्। ३० कित्ताभन्दा बढी आवेदन दिनेमध्ये एक लाख ८५ हजार ३५ जनाले गोलाप्रथामार्फत थप १० कित्ता शेयर पाएका छन् । साञ्जेनले सञ्चयकर्ताका लागि बिक्री गरेको ७१ लाख १७ हजार ५०० कित्ता सेयरमा कुल १ लाख ८५ हजार ३५ जना सञ्चयकर्ताको आवेदन स्वीकृत भएको हो । यी सबैलाई ३० कित्ताको दरले सेयर दिइएको छ । 

यसरी बाँडफाँड गरिएपछि बाँकी रहेको १५ लाख ६६ हजार ४ सय ५० कित्तालाई गोलाप्रथाबाट बाँडफाँट गरी १ लाख ५६ हजार ६४५ जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ ।

साञ्जेनको संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई निश्कासन गरिएको १२ लाख ७७ हजार ५०० कित्ता सेयरको पनि आइतबार नै बाँडफाँड गरिएको छ । यसमा ५० देखि १४० कित्तासम्म माग गर्ने सबैलाई मागअनुसार नै सेयर दिइएको छ । यसैगरी, १५० देखि ३०० कित्तासम्म माग गर्नेलाई पनि १४० कित्ताको दरले सेयर दिइएको छ । यसरी बाँडफाँड गरी बाँकी रहेको २७ हजार ४ सय ६० कित्ता सेयर गोलप्रथामार्फत १५० देखि ३०० कित्तासम्म सेयर माग गर्नेलाई १० कित्ता थप गरिएको छ ।

दुबै कम्पनीले शेयर बाँडफाँड गरेपछि शेयर बापतको पैसा कटाएर बाँकी रकम बिहीबारबाट आवेदकले फिर्ता पाउने बिक्री प्रबन्धकहरुले जनाएका छन् ।