काठमाडौं। शिवम सिमेन्टको आइपीओ सबै आवेदकले पाउने भएका छन्।

सबै आवेदकले पाउने गरी बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले बाँडफाँडको मोड्यूल तयार गरेको हो । 

योसँगै कम्पनीले यसअघि घोषणा गरे झै बुधबार बिहान १०ः३० बजे सिद्धार्थ क्यापिटल परिसरमा एक कार्यक्रमका बीच आइपीओ बाँडफाँड गर्दैछ । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका चिफ अपरेटिंग अफिसर सन्दीप कार्कीका अनुसार शिवमको आइपीओमा ५० कित्तादेखि अधिकतम ५ हजार ६४० कित्तासम्म आवदेन दिने सबैले मागेजति सेयर पाउनेछन् ।

उनका अनुसार बाँकी ११५ कित्ता सेयर चाहि लक्की ड्रबाट बाँडफाँड गरिनेछ । बाँकी ३८ जनामध्ये ११ जनाले १० कित्ताको दरले पाउने र त्यसमा पनि थप ५ जनाले १ कित्ताको दरले थप सेयर पाउनेछन् । यसरी अधिकतम कित्ता(५ हजार ६४०)का लागि आवेदन दिनेले नै लक्की ड्रबाट सेयर पारे अधिकतम ५ हजार ६ सय ५१ कित्ता पाउनेछ । 

शिवमले प्रिमियम मूल्यसहित प्रतिकित्ता ३०० रुपैयाँको दरले सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओमा कुल ५१ हजार ८९८ जनाले आवेदन दिएका थिए। कम्पनीले सर्वसाधारणका लागि ४१ लाख २० हजार आइपीओ निष्काशन गरेको थियो। प्रभावित क्षेत्रमा बिक्री नभएको ९४ हजार ३३५ कित्ता समेत सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।

यस्तै, कम्पनीले आयोजना प्रभावितका लागि दोश्रो चरण अन्तर्गत ५ लाख ७९ हजार ६४० कित्ता पुनः निष्काशन गरेको थियो । आयोजना प्रभावितलाई भने प्रतिकित्ता २०० रुपैयाँको दरले सेयर निश्कासन गरिएको थियो ।

यो समूहतर्फ ९८८ आवेदकबाट ४ लाख ८४ हजार ९४५ कित्ताको लागि आवेदन परेको छ। दुई चरणमा गरेर प्रभावित क्षेत्रका बासिन्दाले ७ लाख ८५ हजार ३०५ कित्ता शेयर प्राप्त गर्नेछन् ।