काठमाण्डौ । सोमबार अत्यासलाग्दो ढंगले बजार झार्ने चलखेल निस्तेज भएसँगै मंगलबार बजार पुरानै लयमा फर्किएको छ । 

सोमबारको बजार झर्नुको भित्री कारणको खुलासा भएसँगै अत्तालिएका लगानीकर्तामा आत्माबल बढेसँगै मंगलबार बजार पुरानै लयमा फर्किएको हो । 

बजार मंगलबार लयमा फर्किए पनि यसलाई पुनः घटाउने खालका चलखेल भने अझै रोकिएका छैनन् । आफूहरुले सेयर बेचेपछि बजार घटोस् भन्ने चाहनामा ब्रोकरहरुको गूट सफल भए पनि यसले मंगलबार भने निरन्तरता पाउन सकेन । 

नेप्सेले गोप्य रुपमा नै थप ५० ब्रोकरलाई लाइसेन्स दिने तयारी गरेपछि यसप्रति रुष्ट बनेका ब्रोकरहरुले बजार घटाएर सस्तोमा सेयर उठाउने दाउ बनाएका थिए । कोही त्यसमा सफल भए भने अझै घटाउने योजना चाहि लगानीकर्ताले चाँडै कुरा बुझ्दा सफल हुन पाएन । 

बजार बढेपछि ब्रोकरहरुबीच पनि दुई ध्रुवीकरण भएको स्रोतको दाबी छ । पुरानाभन्दा नयाँ ब्रोकरहरुले उल्लेख्य कारोबार बढाएपछि चिढिएका पुराना स्टक ब्रोकरले बजार घटाउने प्रयत्न गरेका स्वयम् ब्रोकर बताउँछन् । तर, पछिल्लो समयमा ब्रोकर कमिसन घटाउने र नयाँ ब्रोकर थप गर्ने नेप्सेको तयारीविरुद्ध भने नयाँ र पुराना ब्रोकरहरुबीच गठबन्धन नै भयो । गत साताको अन्ततिर बसेको ब्रोकरहरुको मिटिङ्गले कमिसन र नयाँ ब्रोकरको इन्ट्रीलाई काउन्टर दिन तथा बजारलाई अत्यासपूर्ण बनाएर कारोबार रकम घटाउने योजना मुताबिक नै आइतबार ४०.८२  र हिजो नेगेटिभ सर्किट लगाएर ९६.०६ अंकको फ्रीफल बनाउनेतर्फ लागे ।

बजार घटाउन लागिपरेका ब्रोकरहरुले म्युचुअल फण्डहरुलाई ‘सेयर सस्तोमा आउँदैछ, २–४ दिन बाई नबस्न’ उर्दी नै जारी गरेको स्रोतको दाबी छ । 

सेयर बजारमा आएको उछालमा कमाउन चुकेका म्युचुअल फण्डका लागि ढुङ्गा खोज्दा देवता मिले झै भयो ब्रोकरको यो उर्दी। एक क्यापिटलका सीइओले भने–‘हेर्नु न बजार अगाडि गयो, बोर्ड संचालकको दवाबमा छु, सेयर किन्न नै ढिला भएछ ।’

एक लगानीकर्ता भन्छन्–‘हामीलाई ब्रोकरले सिधैं सेयर किन्न नै रोके, अल्झाइदिए । हालिदिए पनि कम मात्रै बाईमा बस्ने । सेटलमेन्ट गर्नै गाह्रो हुने त्रास देखाउने काम ब्रोकरबाट भयो ।’

पछिल्लो समय ब्रोकरको कमिसन घटाउने तयारी धितोपत्र बोर्डले गरेपछि यसबाट समेत ५० वटा ब्रोकर संचालक रुष्ट छन् । यसकारण समेत बढ्दो बजारमा अनेक तिकडम गरेर घटाउने खेल खेलिएको बोर्डकै अधिकारीहरु दाबी गर्छन् । 

नेप्से तथा धितोपत्र बोर्डर्ला काउण्टर दिनैका लागि बजारलाई तल झार्ने प्रयासमा असफल बनेपछि ब्रोकरहरुले मंगलबार डाटा सेन्टरमा गडबडी गरिदिए । आज लगानीकर्ताहरुलाई मार्केट डेप्थ समेत हेर्नबाट  धेरै समय बञ्चित गराइयो । 

सस्तोमा सेयर किनेर महँगोमा सेयर भिडाइ बजारबाट बाहिरिने ब्रोकरहरुको हरप्रयत्न असफल भएपछि र यी सबै गतिविधिलाई लगानीकर्ताका नेताहरुले समेत नियालिरहेका देखिएको छ । नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका पौड्यालले यो कुरा सांकेति रुपमा फेसबूकमा स्टाटसमार्फत व्यक्त गरेका छन् । उनले लेखेका छन्–‘नेप्से, सिडिएससी र ब्रोकरहरुले तत्काल आफ्नो प्रबिधिको क्षमता बढाउ, अन्यथा लगानीकर्ताहरुलाई नोक्सानीको क्षतिपूर्ति दिन तयार बन ।’

किन थप्दैछ नेप्सेले नयाँ ५० ब्रोकर कम्पनी ?
हाल स्टक ब्रोकर कम्पनीहरुको चुक्तापूँजी २ करोड रहेकोमा केही ब्रोकरको मात्रै चुक्तापूँजी ५ करोड छ । 

नेप्सेको अनलाइन प्रणाली आएपछि कारोबार रकम बढ्ने र नेप्सेमा समेत उछाल आउने आँकलन नेप्सेले गरेको थियो । सुरुवातीताका नेप्से अनलाइन प्रणालीमा समस्या देखिए पनि  बिस्तारै अनलाइन प्रणाली लगानीकर्तामाझ प्रयोगमैत्री बन्दै गएकोमा हाल दोश्रो बजारमा रहेका सक्रिय ५ लाख लगानीकर्तामध्ये ४० प्रतिशत लगानीकर्ताले अनलाइन कारोबार गर्दै आइरहेको नेप्सेको तथ्यांकमा छ । जुन आगामी दिनमा बढ्दो क्रममै रहेको बुझिन्छ । कारोबार रकम ४–५ अर्ब पुगेपछि हालका ब्रोकरहरुले कारोबार धान्नै सकेका थिएनन् । अनि कारोबारको सेटलमेन्ट गर्न ब्रोकरहरुले कर्मचारी थप्ने र आइटीमा अपग्रेड नहुने छाँटकाटलाई नेप्से र बोर्डका अधिकारीहरुले सूक्ष्म निगरानी गर्दै आए । 

केही समयअघि नेप्सेका सीइओ चन्द्रसिंह साउदले ब्रोकरहरुलाई २० करोड रुपैयाँ चुक्तापूँजी बनाई संस्थागत क्षमता वृद्धि गर्न सुझाव दिएका थिए । व्यक्तिगत फर्म झै चलाएका ब्रोकहरुले बढ्दो कारोबारमा अहिलेजस्तै समस्या आउने भनेर ब्रोकरहरुलाई संस्थागत हुने सुझावलाई अटेर गरेका ब्रोकर अहिले पुनः नयाँ ब्रोकर लाईसेन्स रोक्न तीव्र लबिङ गर्ने तयारीमा लागेका छन् र यसैको रापमा सोझा लगानीकर्तालाई बिलखबन्दमा पार्ने र उनीहरुको करोडौंको लगानी दाउमा राख्ने चलखेल भइरहेको स्रोतहरु बताउँछन् ।