– अनन्त्य सुन्दर

काठमाण्डौ । हिन्दु धर्मावलम्बीले प्रत्येक वर्ष फागु पूर्णिमा (होली पर्व) धुमधाम मनाउँदै आएका छन्। रङहरुको चाड होली नेपाल, भारतलगायत अन्य मुलुकमा हिन्दु धर्मावलम्बीहरुले एकअर्कालाई अबिरका साथै विभिन्न रङ लगाएर नाचगान गरी मनोरञ्जन साथ मनाउने गरेका छन्।

गत दुई वर्ष कोरोना कहर र लकडाउनले गर्दा हिन्दु धर्मावलम्बी होली धुमधामका साथ मनाउनबाट वञ्चित भएका थिए। अहिले कोरोनाको जोखिम कम हुनुका साथै अधिकांश नागरिकले खोप लगाएकाले साथीभाइका साथै परिवारजनमा भेटघाट गरी होली मनाइरहेका छन्। आज नेपालमा हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदैछ।  

आज होलीको उपलक्ष्यमा सार्वजनिक बिदा हुनुका साथै सेयर बजार बन्द रहेको छ। सेयर बजार बन्द भएसँगै लगानीकर्ता तथा लगानीकर्ता संघसंगठनका नेताहरु होली मनाउँदैछन्। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको आज पोखरामा होली मनाउने योजना रहेको छ। ‘बच्चा बेलामा भव्य रुपमा होली खेल्थ्यौँ’, उनले भने, ‘अहिले भने साथीभाइसँग जमघट गरेर टीका, रङ लगाएर रमाइलो गर्ने गरेको छौँ।’

‘बजार अहिले धेरै तल आइसकेको अवस्था छ। चुनाव पनि नजिकिँदैछ’, होलीको शुभकामना दिँदै ढकाल भन्छन्, ‘लगानी गर्दा लगानीकर्ताले होलीको रङ छनौट गरेजस्तै राम्रा–राम्रा कम्पनी छनौट गरेर लगानी गर्नुपर्छ।’

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलको आज होलीमा साथीभाइका साथै पारिवारिक भेटघाट गरेर मनाउने योजना रहेको छ। ‘कोरोनाले गर्दा विगत २ वर्षदेखि होली रमाइलो गरी मनाउनबाट वञ्चित थियौँ। कोरोना कहर सुरु हुनुभन्दा अघि लगानीकर्तासँग भेटघाट गरी संस्कृति कार्यक्रम आयोजना गरेर मनाउने गरेका थियौँ’, पोख्रेल भन्छिन्, ‘यसपटक भने केही लगानीकर्ता, साथीभाइका साथै परिवारजनसँग भेटघाट गरेर मनाउने योजना रहेको छ।’

गाउँमा हुँदाको होली मनाएको पल सम्झिँदै पोख्रेल भन्छिन्, ‘बच्चा बेलामा होलीको बेला आँखामा रङ पसेर स्कुटरबाट लडेको थिएँ। त्यो पल अझै पनि सम्झनामा छ।’  

‘होली खुसी र हर्षका साथ मनाऔँ’, होलीको लगानीकर्तालाई शुभकामना दिँदै पोख्रेलले भनिन्, ‘फागु पूर्णिमाबाट बजार बढ्दा आत्तिने र मातिने क्रियाकलाप बन्द हुने विश्वास छ।’ 

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीको साथीभाइ र परिवारसँग आज सामान्य रुपमा होली मनाउने योजना रहेको छ। ‘बच्चा बेलामा होली मनाउँदा रमाइलो हुन्थ्यो। आजबाट तीन दिनसम्म बजार बन्द छ। त्यसैले साथीभाइसँग घुम्ने योजना रहेको बनाएको छु’, उनले भने। लगानीकर्ताका साथै आमनेपाली दाजुभाइलाई कार्कीले होलीको शुभकामना व्यक्त गरे। 

लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला गाउँघरमा साथीभाइ मिलेर खसी काटेर होली मनाउने योजना रहेको छ। ‘विगतमा साथीभाइसँग बसेर मनाउने गरेका थियौँ। तर कोरोनाले गर्दा मनाउन पाएका थिएनौँ। यस पटक भने भव्य साथ मनाउने योजना रहेको छ’, उनले भने।

होलीको शुभकामना दिँदै बास्तोला भन्छन्, ‘होलीमा हामीले आफूलाई मन पर्ने रङहरु छनौट गरेर मनाउँछौँ। होलीमा कालो रङ प्रयोग गर्दैनौँ। त्यस्तै लगानी गर्दा हामीले वित्तीय अवस्था राम्रो भएका कम्पनीहरु छनौट गरेर लगानी गर्नुपर्छ।’

नेपाल इन्भेस्टर्स फोरमकी सदस्य सिर्जना सुवेदीको आज घरमा परिवारसँग बसेर होली मनाउने योजना रहेको छ। ‘कलेजमा पढ्दा होली खेल्दा रमाइलो हुन्थ्यो’, सुवेदी भन्छिन्, ‘अहिले भने त्यति बाहिर गएर मनाउने गरेको छैन। पहिला होलीमा बाटोमा हिँड्नेलाई लोलाले हानेर सताउने गर्थे। अहिले भने उग्र रुपमा होली खेल्न कम भएको छ।’ 

लगानीकर्तााई होलीको शुभकामना दिँदै संयमित भएर होली खेल्न सुवेदीको आग्रह छ।