बिहान खाली पेटमा रगत जाँच्दा रगतमा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना बढेकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय भन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ । १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । यो अवस्था पत्ता लगाउन रगत जाँच्नै पर्ने हुन्छ ।

रगतमा ग्लुकोजको मात्रा १८० मिलिग्राम भन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर डाइबिटिज पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । ८–१० घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०–१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको २ घण्टामा जाँच्दा यो मात्रा करीब १४० मिलिग्रामसम्म पुग्न सक्छ ।

मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शक्ति शरीरभित्र रहेका सेल्स (कोशिकाहरु) भित्र हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिन नामक हर्मोनले गर्छ । इन्सुलिन पेटको प्यान्क्रियाज भन्ने ग्रन्थीले उत्पादन गर्छ । यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरुप ग्लुकोज कोशिकाहरुभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ र पिसाबबाट बाहिर निस्कन्छ थाल्छ । यसले गर्दा शक्ति उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान थाल्छ ।

यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्याधिक बढेको हुन्छ भने कोशिकाहरुमा शक्तिको उत्पादन हुन नसकेर शरीर कमजोर हुँदै जान्छ । यही अवस्थालाई डाइबिटिज वा मधुमेह भनिन्छ । यसरी रगतमा ग्लुकोजको मात्रा बढ्दै गएपछि मुख सुक्ने, बढी तिर्खा लाग्ने र धेरै पिसाब लाग्ने जस्ता लक्षण देखिन थाल्छन् । पिसाबमा ग्लुकोज जान थालेपछि दुब्लाउदै जाने, भोक बढी लाग्ने, हातखुट्टा झमझम गर्ने जस्ता लक्षण देखिन थाल्छन् ।

लक्षणहरु

प्यास बढी लाग्ने
पिसाब बढी हुने
भोक बढी लाग्ने
दुब्लाउने
आँखाको दृष्टिमा खराबी
घाउ निको नहुने
हातखुट्टा झमझम गर्ने
पिसाब फरेको ठाउँमा कमिला लाग्ने

-Agency