काठमाण्डौ । हल्लाको पछि दगुरेर पैसा खन्याउने लगानीकर्ताहरुको चमकधमक स्थायी हुँदैन । हल्लाको पछि नलागी कम्पनीको राम्रो विश्लेषण गरेर लगानी गर्नेहरुले समेत बजारमा कुस्त कमाइरहेका छन् । उदाहरणका लागि सोमबारकै बजारलाई अध्ययन गर्न सकिन्छ । यो दिन हल्लाको पछि लागी माइक्रो फाइनान्समा आँखा चिम्लिएर लगानी गर्नेहरुको लहर जसरी चल्यो, त्यसबाट आफूलाई अलग राखी कम्पनीको राम्रो विश्लेषण गरी लगानी गर्नेहरुले पनि कम कमाएनन् । 

माइक्रो फाइनान्समय भएको बजारमा बिमा कम्पनी र वाणिज्य बैंकका लगानीकर्ताहरुले पनि राम्रो कमाए । 

हल्लै हल्लाको बजारमा कमाउने बिमा कम्पनीहरुमध्ये सबैभन्दा टप स्थानमा एनबी इन्स्योरेन्स र सूूर्य लाइफ इन्स्योरेन्स रहे । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ताले साढे ८ प्रतिशत, प्रूडेन्सियल इन्स्योरेन्सकाले ७ प्रतिशत भन्दा बढी, नेपाल इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले ७ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाएका छन् । यूनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ६ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सकाले साढे ५ प्रतिशतको हाराहारीमा कमाएका छन् । ५ प्रतिशत भन्दा कमको दरले मूल्य बढेका कारण थोरै भए पनि अन्य आधा दर्जन बिमा कम्पनीले समेत आफ्ना लगानीकर्तालाई निराश पारेनन् । 

बिमा जत्तिको नकमाए पनि केही वाणिज्य बैंकका लगानीकर्ताले समेत राम्रै सम्पत्ति जोड्ने सफलता पाएका छन् । एनएमबी बैंकले ७.५८ प्रतिशतले सेयर मूल्य बढाएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताको सम्पत्ति ३.४२ प्रतिशतले बढेको छ । यस्तै, बैंक अफ काठमाण्डूूले ३ प्रतिशतको हाराहारीमा कमाउँदा सिद्धार्थ बैंकको सेयर मूल्य २.२० प्रतिशतले बढेको छ । हिमालयन बैंक, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकको सेयर मूल्य पनि वृद्धि भएकै छ । 

सोमबारको यही उदाहरणले समेत कम्पनीको राम्रो विश्लेषण गरेर राम्रा बैंक तथा बिमा कम्पनीहरुमा लगानी गर्दा त्यसले राम्रो रिटर्न दिने देखिन्छ । अझ वाणिज्य बैंकहरुमा लामो समयका लागि लगानी गरे त्यसले अझ राम्रो रिटर्न दिने केही दिनको कारोबार र बजारको प्रवृतिलाई अध्ययन गरे थाहा हुुन्छ ।  नेपालको सेयर बजारमा वाणिज्य बैंकहरुको हिस्सा निकै ठूलो छ, यहीकारण समेत हल्लाको पछि लागेर कमजोर कम्पनीको केही दिनको चमकधमकमा फस्नुु भन्दा ठूला बैंक तथा बिमाहरुको सेयर खरीद गरेर आफूसँग भएको पैसालाई काममा लगाउनुु नै श्रेयस्कर देखिन्छ ।