– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । अहिले संसारमा व्यापार तथा व्यवसाय सञ्चालन गर्न ठूलठूला युनिभर्सिटी खुलेका छन्। मानिसहरुले पनि लगानी तथा व्यवसाय अध्ययनका लागि धेरै पैसा खर्चेका हुन्छन्। 

त्यसो त पछिल्लो समय सेयर बजारमा लगानी गर्न सिक्ने र सिकाउने प्रशस्त संस्थाहरु पनि खुलेको पाइन्छ। विश्वमा सेयर बजारमा लगानी गरेर अर्बौं रकम कमाएका वारेन बफेट र पिटर लिन्चका जम्मा ७ सूत्र जानेमा एमबीएको डिग्री आवश्यकै नभएको पिटर लिन्चले लेखेको किताब ‘बिट द स्ट्रिट’ मा उल्लेख छ। 

१. जति धेरै अध्ययन त्यति आम्दानी 

यो खासगरी वारेन बफेटको लगानीसम्बन्धी सिद्धान्त हो। यस सिद्धान्तअनुसार तपाइँले दैनिक कम्तीमा ६ घन्टा अध्ययन गर्न आवश्यक हुन्छ। त्यसो त तपाइँले कम्पनीहरुको विषयमा सम्पूर्ण अध्ययन गर्नुपर्ने हुन्छ। यसको मुख्य आशय भनेको  पैसा कम्पाउन्डिङ हुनुभन्दा पहिले तपाइँको नलेज कम्पाउन्डिङ हुन आवश्यक रहेको छ। 

२. तपाइँले किन्ने कम्पनीको विषयमा ज्ञान 

तपाइँले खरिद गर्ने कम्पनीको विषयमा ज्ञान हुन आवश्यक रहेको छ। यसमा कम्पनीले कुन वस्तु उत्पादन गरेको छ ? भन्ने मुख्य विषय रहेको हुन्छ। यो सिद्धान्त खासगरी पिटर लिन्चको हो। उनले आफ्नो किताब ‘बिट द स्ट्रिट’मा लेखेका छन् कि यदि तपाइँलाई कम्पनीको विषयमा सम्पुर्ण ज्ञान रहेको छ र पोर्टफोलियो व्यवस्थापन गर्न सक्नुहुन्छ भने लगानीका लागि कुनै युनिभर्सिटीको एमबीएको डिग्री आवश्यक छैन। यो सिद्धान्तलाई एउटा स्कुले विद्यार्थीहरुमा अध्ययन गरेर प्रमाणित पनि गरिएको छ। पिटर लिन्चले उक्त पुस्तकमा लेखेका छन् ‘पोर्टफालियो  व्यवस्थापन गर्न जान्नुहुन्छ भने एमबीएमात्रै होइन ड्राइभिङ लाइसेन्स नभएको व्यक्तिले पनि स्टक मार्केटमा लगानी गर्न सक्छ।

३. दीर्घकालका लागि सानो कम्पनी  

यो सिद्धान्तको मुख्य आशय भनेको मध्यम तथा साना लगानीकर्ताले धेरै ठूला कम्पनीमा भन्दा भविष्यमा व्यापार विस्तार हुन सक्ने साना कम्पनीहरुमा लगानी गर्न उपयुक्त हुन सक्छ। 

४. थोरै कम्पनीमात्रै होल्ड गर्नुहोस् 

यो सिद्धान्तअनुसार धेरै व्यक्तिको सम्झने क्षमता भनेको ८ देखि १५ कम्पनीहरुमा  मात्रै हुन्छ। त्यसैले कम्पनी छान्दा धेरैमा १० कम्पनीहरुमा मात्रै लगानी गर्नुहोस्। अर्थात् आफ्नो पोर्टफोलियोमा १० वटा मात्रै कम्पनी राख्नुहोस्। यो सिद्धान्त मुख्यगरी बफेट सिद्धान्तअन्तर्गत पर्छ। 

५. तपाइँको परिवारलाई मनपर्ने उत्पादन गर्ने कम्पनीमा लगानी गर्नुहोस् 

यो सिद्धान्त खासगरी पिटर लिन्चको हो। उनले आफ्ना तीन छोरीलाई पहिला बजारमा लगेर एउटा उत्पादन ‘बडी सप’ छान्न लगाए। त्यसपछि ती कम्पनीहरुको वित्तीय रिपोर्ट मगाएर हेरे। अनि उनी यो निचोडमा पुगे कि बजारमा धेरै व्यक्तिहरुले खरिद गर्ने र मन पराएको वस्तुमा लगानी गर्न उपयुक्त हुन्छ। 

६. इन्ट्री र एक्जिटको समय 

राम्रो उत्पादन भएको राम्रो कम्पनी खरिदपछि सेयर बजारमा इन्ट्री र एक्जिट पनि महत्वपूर्ण हुने पिटर लिन्च बताउँछन्। लिन्चले भनेका छन्, ‘कुनै पनि कम्पनीको  ग्रोथ हुन समय लाग्छ। तर कम्पनी एउटा व्यक्ति जस्तै– बूढो पनि हुन सक्छ। अर्थात् कम्पनीको रिटर्न अन इक्विटी घट्न पनि सक्छ।’ 

७. फ्री क्यास फ्लो 

क्यास फ्लोमा खासगरी तीन थरिका हुने गर्छन्। अपरेटिङ एक्टिभिटी, इन्भेस्टिङ एक्टिभिटी र फाइनान्सियल एक्टिभिटी। बफेटको सिद्धान्तअनुसार लगानी गर्न फ्री  क्यास फ्लो आवश्यक छ। यो भनेको कुन पैसा कहाँ खर्च भएको छ र कुन आउन बाँकी रहेको छ भन्ने हो। अर्थात् कम्पनीको आम्दानी कति रहेको छ र खर्च कति भएको छ ? यदि कम खर्च र बढी आम्दानी भएको कम्पनी रहेको छ भने त्यस्तो कम्पनी लगानीका लागि उपयुक्त हुने गर्छ। अर्थात् क्यास फ्लो सकारात्मक हुन आवश्यक हुन्छ। जसलाई बफेटले फ्री क्यास फ्लो पनि भन्छन्।