बजारमा पहिरो गएर समयअगावै कारोबार बन्द भएपछि सुनसान बनेको एक ब्रोकर हाउस ।
काठमाण्डौ । धेरै समयपछि नेप्सेमा नेगेटिभ सर्किट लागेर आज तेस्रो घण्टामा पूरा दिनको कारोबार बन्द भयो । नेप्सेमा करेक्सन आउने कुरा लगानीकर्ताहरुले हेक्का राखेकै थिए, तर अकस्मात बजारले ओरालो गतिलाई तीव्रताका साथ निरन्तरता दिएर कारोबार नै रोक्का हुन पुग्यो ।
नेप्सेको उत्तारचढावलाई सामान्य रुपमा लिइन्छ । तर, आजको बजारको खसाई भने अलिक फरक र सुनियोजित नै थियो । पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा इण्ट्राडे करेक्सन भइरहेको हुन्थ्यो । कारोबार समय ४ घण्टामा सोही दिन घटबढको अवस्था रहन्थ्यो र बजारले उकालै गति तय गर्ने गरेको थियो । यद्यपि आज भने सुरुमा बजारमा करेक्सन आएतापनि अन्तिम समयतिर भने बजार फर्किने अनुमान आधारभूत तथा प्राविधिक पक्षबाट देखिएको जानकारहरु दाबी समेत गर्दथे ।
बढ्दो बजारमा सेयरमूल्य बढ्दै जाने हुनाले लगानीकर्ताहरु अन्धाधुन्ध सेयर बढी मूल्यमै उठाइरहेका हुन्छन् र घट्दो बजारमा भने नयाँ तथा कम परिपक्व भएका लगानीकर्ताहरु बजार अझ घट्ने त्रासमा घाटामै सेयर फाल्ने प्रवृत्ति नेपाली सेयर बजारमा कुनै नौलो चलन नै होइन । हामीले सर्वेक्षण नै गर्यौ भने राम्रा र बलिया कम्पनीहरुको सेयरमूल्य र कमजोर कम्पनीहरुको मूल्य घटाइको अन्तरमा आकाशजमिनको फरक पाइन्छ ।
आजको बजार हदै घटे १५४० देखि १४६० विन्दूसम्मको घटाइ स्वभाविक भएको प्राविधिक विश्लेषक सूकराम पाण्डेले दाबी गरे । ‘नेगेटिभ सर्किट नै लागेर बजार बन्द नै हुने अवस्था भने होइन ।’ पाण्डेले भने–‘बजारमा हङ्ग्री इन्भेष्टरको दबदबा निकै राम्रो छ । आगामी मार्च ५ देखि अप्रिल २० सम्म राम्रो र्याली देखिन्छ । लगानीकर्ताहरु डराउनु पर्ने अवस्था छैन । म ठोकुवासाथ भन्छु बजार अब १७२८ विन्दूको मूभमा जाँदैछ ।’ आज बजारलाई जबर्जस्ती झराइएको उनको बुझाइ छ । बैंकिङ इण्डेक्स दुई दिनमै १०÷१० प्रतिशत बढ्यो । बैंक दौडने यथेष्ट कारण नै नभएको उनको भनाइ छ । अब माइक्रो र इन्स्योरेन्स सेक्टरले नै बजारलाई लिड गर्ने र लगानीकर्ताहरुलाई यस्तो परिस्थितिमा सम्हालिएर लगानी गर्न पाण्डेको सुझाव छ ।
विश्लेषकहरुले यति ठूलो पहिरो नजानुपर्ने भनिरहेका बेला के कारणले बजारमा यस्तो भयो त ? कस–कसले खेलेर बजारलाई यति थिलथिलो बनाउने प्रयास गरे ? हेरौं बजार सुनियोजित रुपमा प्यानिक बनाउन खोज्ने पात्र तथा भित्री कारणहरुको विषयमा हाम्रो खोज:
नयाँ ब्रोकर थप्ने विषय
धितोपत्रको दोस्रो बजारमा हाल ५० वटा ब्रोकर कम्पनीहरु संलग्न छन् । केही दिनअघि नेप्सेले नेपाल धितोपत्र बोर्डलाई ५० वटा ब्रोकर कम्पनी थपेर १०० पुर्याउने भन्ने गोप्य सूचना हिजो साँझ बिजशालामा खुलासा भएसँगै आजको बजार घटाइको कृत्रिम नाटक मञ्चन भएको हो । यसमा हाल सक्रिय ब्रोकरहरुले ब्रोकरको संख्या थप्न कस्सिएको नेप्सेलाई काउण्टर दिन सुनियोजित ढंगले बजार घटाएका हुन् ।
सिडिएससीले कारोबार राफसाफमा गरेको १२ बजेको उर्दी
पछिल्लो समय सेयर कारोबार रकम ५ अर्ब हाराहारीमा पुग्दा कारोबार संख्या पनि ३५ हजार नाघिसकेको छ । टीप्लस थ्रीमा कारोबार राफसाफ गर्ने चलन रहेको धितोपत्र बजारमा सिडिएससीले भर्खरै ब्रोकरहरुलाई तेस्रो दिनको १२ बजेअगावै राफसाफका लागि तयारी गर्नुपर्ने भन्ने छ । तर, २–३ जना मात्र ब्रोकर हाउसका सिएनएसमा रहेका स्टाफहरुबाटै रातको ११ बजेसम्म म्यानुअल इन्ट्री गरिरहेका भेटिन्छन् । ब्रोकर कम्पनी सञ्चालकहरु कामको लोड बढे नयाँ कर्मचारी थप्न भने उत्सुक भेटिएका छैनन् । संस्थागतभन्दा पनि व्यक्तिगत फर्म झैं चलाउँदै आएका ब्रोकर कम्पनीहरुले औसतमा ७ सय कारोबारको इन्ट्री गर्नसमेत अधिक लोड भएको र सिडिएससीको सिस्टम सुस्त भएको कारण जनाउँदै पन्छिने गरेका छन् । तर सिस्टम द्रुत बनाउने र आइटीमा खर्च गर्न हिच्किचाइरहेका ब्रोकरहरु कारोबार रकम ५ अर्बभन्दा बढी भए थेग्नै नसक्ने लगानीकर्ताहरुको भनाइ छ । आजको बजार घटाइ र कारोबार रकम गिरावट गर्ने ब्रोकरहरुको पूर्वयोजना सफल समेत भएको छ ।
ब्रोकरहरुको मिटिङ र ग्रुप
स्टक ब्रोकरहरुको पनि दुईवटा समूह र लाइन छ । एउटा बजार बढाउने भन्ने पक्षमा र अर्को भने बजार घटाउने पक्षमा छ । यी दुईको टकरावको कारणसमेत आज बजार नराम्रोसँग थेचारिएको छ । पछिल्लो समयमा बजार बढाइबाट केही ब्रोकरहरु जो अचम्भित मात्र हैन कि रातारात पैसा छाप्न बुलिस बजारको रेल छुट्यो भन्दै रोइलो मच्चाइरहेका थिए । यिनै समूहले केही दिनअघि नेपाल टेलिकम र वाणिज्य बैंक समूहलाई उचाल्यो र केही माथि पुर्याएर प्रफिट बूक गर्दा बजारमा टेलिकम र वाणिज्य बैंकको अधिक आपूर्ति ओइराइदिएपछि सबै समूहमा राताम्मै भयो । स्मरण रहोस् नेप्सेको कुल बजार पूँजीकरणमा नेपाल टेलिकम र वाणिज्य बैंकको बलियो हिस्सेदारी भएकै कारण बजार घट्नु नौलो रहेन । आज नेप्से ९६.०४ विन्दूको गिरावटमा वाणिज्य बैंक समूहको मात्र ९५.४ विन्दूको ठूलो पहिरो गयो । यसमा ब्रोकरहरु र केही ठूला लगानीकर्ताहरुकै चलखेल मुख्य कारण देखियो ।
अर्थमन्त्री खतिवडा र सेयर बजार
स्रोतहरुका अनुसार अर्थमन्त्री निकट रहेका सेयर लगानीकर्ता र स्टक ब्रोकरहरुले अर्थमन्त्रीको छवि सुधार्न सहयोग गर्ने र बजारलाई माथि पुर्याउने योजन थियो । तर अर्थमन्त्री खतिवडा अब लगभग नरहने भन्ने भएपछि तिनै समूह जसले वाणिज्य बैंक र नेपाल टेलिकम उठाएर नेप्सेलाई धकेलेका थिए, आज तिनै गिरोहले बजारमा ओभर सप्लाइ गरिदिए र कारोबार खुलेसँगै १ मिनेटभित्रै टेलिकम र वाणिज्य बैंकको सेयर सस्तो भाउमा बिक्री गरिदिए ।
नेप्से अलटाइम हाइमा डुबेका ब्रोकरको रिकभर
सेयर बजारको ४ वर्षे वियरिस चक्र अनि सञ्चालन खर्च अधिक भइरहेको मात्र थिएन, ब्रोकर हाउसहरुमा बैंकलाई ब्रोकर लाइसेन्सको मुद्धाले समेत उग्र रुप लिइरहेको थियो । ब्रोकर व्यवसायमा संकट लगभग संघारमा नै थियो । उनीहरुले अलटाइम हाइमा किनेका सेयरहरु घाटामा गएकाले बेच्न उपयुक्त समयको पर्खाइ थियो । नेप्सेमा करिब ४०० अंकको बढोत्तरी भएपछि ब्रोकरहरुको पोर्टफोलियो अब सकारात्मक बन्यो । अब भने बजारको बढाइ यतिमात्रै भन्ने ब्रोकरहरुले हेक्का राख्दै बजारमा आपूर्ति खन्याइदिए ।
अपरिपक्व म्युचुअल फण्ड
नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डलाई बजार सन्तुलन कायम गर्ने र संस्थागत लगानीकर्ताहरुको अभावलाई पूर्ति गर्ने उद्धेश्य राखेर सेयर बजारमा प्रवेश गराएतापनि ठूलो फण्ड भएका म्युचुअल फण्डहरुबीच बजारको बढाइबाट अल्पकालीन नाफा कुम्ल्याउने होडबाजी चल्छ । म्युचुअल फण्डहरुले दोस्रो बजारमा आज निकै सेयर आपूर्ति गर्दा समेत त्यसको प्रभाव नकारात्मक पर्न गयो ।
अब के त ?
बजार घट्यो सेयर बेच्ने ? हो अवश्य पनि सेयर बेच्छन्–नयाँ लगानीकर्ता र अपरिपक्व लगानीकर्ताहरुले । आज हामी ब्रोकरहाउस चाहर्दा नेप्सेको गिरावटमा पनि लगानीकर्ताहरु सस्तो भाउमा सेयर किन्न तछाँडमछाड गर्दै गरेको दृश्य देखिन्थ्यो । आज किने भोलि नै बढ्नु पर्ने मान्यता लगानीकर्ताहरुमा हावी भएकाले नेप्से १६ सय विन्दूमाथि किनेका लगानीकर्ताहरु आत्तिएर सेयर बेच्न दौडदा आजको अवस्था आएको देखिन्छ । भोलि बजार बढे १०० रुपैयाँ बढी मूल्य तिरेर किन्ने पनि यिनै अपरिपक्व लगानीकर्ताहरु नै हुनेछन् ।
पछिल्लो समय ब्रोकर कम्पनीहरुमध्ये ब्रोकर नम्बर ५८ नासा सेक्युरिटीजले दैनिक कारोबार रकम समेत उल्लेख्य बढाइरहेको छ भने ब्रोकर कम्पनीहरुको दौडमा १ नम्बर बन्ने रहर उसको फ्लोरसिटबाट देखिन्छ । बजारमा सबैभन्दा खेलाडी र चलाख ब्रोकर कम्पनी अनि कमाउने लगानीकर्ताहरुको धोइरो लाग्दै आएको ५८ नम्बरले आज बिक्री करिब ४ करोड रुपैयाँ र खरिद १२ करोड रुपैयाँ गरेबाट पनि उसको मुभमेन्ट थाहा पाउन मुश्किल नपर्ला । अर्थात् बजार घटेको बेलासमेत त्यहाँबाट आएको खरिद चापले समेत भविष्यमा के हुन्छ भन्ने कुरा प्रष्टै छ ।
घट्दो बजारका लगानीकर्तामा छाएको घट्दो मनोबललाई सकारात्मक रुपमा लिएर बुद्धिमतापूर्ण लगानी निर्णय गर्नु उपयुक्त हुन्छ । सेयरमूल्य अधिक सस्तिँदा खरिद चाप बढी सेयरमूल्य बढ्ने र सेयरमूल्य अधिक हुँदा बिक्री चाप बढी सेयरमूल्य सस्तिने, यो बजारको सामान्य सिद्धान्त नै हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago