काठमाण्डौ। सरकारले चालु आर्थिक वर्ष अर्थात साउन १ गतेदेखि लागू हुने गरी विद्यालयका शिक्षकहरुको नयाँ तलबमान लागू गरेको छ। अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै साउन १ मा लागू हुने गरी शिक्षकहरुको नयाँ तलबमान कार्यान्वयनमा आएको हो। 

सरकारले माध्यमिक शिक्षकहरुलाई ३ तह, निम्न माध्यमक शिक्षकहरुलाई ३ तह र प्राथमिक शिक्षकलाई ५ तहमा विभाजन गरी नयाँ तलबमान लागू गरेको छ। जसअनुसार माध्यमिक शिक्षक प्रथम श्रेणीको सुरुको तलब स्केल ४९ हजार ३८० रुपैयाँ छ। छैटौँ ग्रेडको प्रतिग्रेड दर १ हजार ६४६ रुपैयाँ थप हुँदा ५९ हजार २५६ रुपैयाँ मासिक तलब पुगेको छ।

यसैगरी माध्यमिक शिक्षक द्वितीय श्रेणीको सुरु तलब स्केल ४२ हजार ३८० कायम रहेकोमा प्रतिग्रेड संख्या १ हजार ४१३ रुपैयाँले आठौँ ग्रेडका शिक्षकको तलब ५३ हजार ६८४ रुपैयाँ पुगेको छ। माध्यमिक शिक्षक तेस्रो श्रेणीको सुरुको तल स्केल ३७ हजार ९९० कायम रहेकोमा ८ औँ ग्रेड शिक्षकको प्रतिग्रेड १ हजार २६७ रुपैयाँ थप भएर ४८ हजार १२६ रुपैयाँ पुगेको छ।

यसैगरी निम्न माध्यमिकतर्फ प्रथम श्रेणीका आठौँ ग्रेडका शिक्षकको सुरुको तलबमान ३९ हजार ८ ८० रुपैयाँ रहेको छ। प्रतिग्रेड १ हजार ३३० रुपैयाँ थपसहित प्रतिमहिना ५० हजार ५२० रुपैयाँ पुगेको छ।

निम्न माध्यमिक दोस्रो श्रेणीका ८ औँ ग्रेड शिक्षकको सुरुको तलब ३७ हजार ९९० रुपैयाँ रहेको छ। प्रतिग्रेड १ हजार २६७ रुपैयाँ थप हुँदा मासिक तलब ४८ हजार १२६ रुपैयाँ पुगेको छ। यस्तै तृतीय श्रेणीको निम्न माध्यमक शिक्षकको सुरुको तलब ३० हजार २ ०० रुपैयाँ रहेकोमा प्रतिग्रेड १ हजार ७ रुपैयाँ जोड्दा ३८ हजार २५६ रुपैयाँ पुगेको छ।

उता प्राथमिक तहका शिक्षकतर्फ एसएलसी उतीर्ण प्रथम श्रेणीका आठौँ तहका शिक्षकको सुरुको तलबमान ३७ हजार ९९० रुपैयाँ पुगेको छ भने प्रतिग्रेड १ हजार २६७ रुपैयाँ थप गर्दा ४८ हजार १२६ रुपैयाँ पुगेको छ।

एसएलसी उत्तीर्ण गरेका द्वितीय श्रेणीका प्रावि शिक्षकको सुरु तलब ३० हजार २०० पुगेको छ भने प्रतिग्रेड १ हजार ७ रुपैयाँ गरी कुल मासिक ३८ हजार २५६ रुपैयाँ पुगेको छ।

त्यस्तै एसएलसी उत्तीर्ण तृतीय श्रेणीको छैटौँ तहका शिक्षकको सुरु तलब २८ हजार ६१० मा प्रतिग्रेड ९५४ रुपैयाँ थपिँदा मासिक तलब ३४ हजार ३३४ रुपैयाँ पुगेको छ। दुई विषयसम्म एसएलसी अनुत्तीर्ण छैटौँ तहका शिक्षकको सुरुको तलब २४ हजार १० रुपैयाँमा प्रतिग्रेड ८०१ रुपैयाँ थपिँदा २८ हजार ८१६ रुपैयाँ पुगेको छ। दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण छैटौँ तहका शिक्षकको सुरुको तलबमान २२ हजार ६८० मा प्रतिग्रेड ७५६ थपिँदा २७ हजार २१६ रुपैयाँ पुगेको छ।