काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ। 

महाशाखाका अनुसार आज बुधबारदेखि आउँदो शुक्रबारसम्म देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भूभागमा बुधबार दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ। 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा बुधबार राति मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा बिहीबार हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको अनुमान गरिएको छ। 

सूदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ का धेरै स्थानमा शुक्रबार मध्यम वर्षाका साथै ती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना छ। उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।