काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो। बजार ३ दिन घट्यो भने २ दिन बढ्यो।
समग्रमा साताभरि बजारमा ७१.१ अंकको गिरावट आएको छ। साताको पहिलो दिन आइतबार बजार झन्डै ४० अंकले घटेको थियो। दोस्रो दिन सोमबार झन्डै २५ अंक र तेस्रो दिन मंगलबार १५ अंकले बजार बढ्यो। बजार बुधबार र बिहीबार भने क्रमशः १५ अंक र ५९ अंकले ओरालो लागेको छ।
यो साताभरि १७ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ। जुन गत साताको तुलनामा थोरै कम हो।
यो साता बजारमा राजनीतिक घटनाक्रमको सामान्य प्रभाव परेको विश्लेषकहरु बताउँछन्। सरकारले संसदमा एमसीसी टेबल गरेको छ। तर, सत्ता साझेदारबीच नै एमसीसीलाई लिएर मतभेद देखिन्छ। जसका कारण आजबाट संसदमा सुरु हुने भनिएको एमसीसीमाथिको छलफल हुन सकेन।
उता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअन्तर्गत गरिएका केही निर्णय कार्यान्वयन गर्दै सेयर धितो कर्जालगायत विभिन्न कर्जामा जोखिम भार बढाएको छ। यो नीति ल्याएर राष्ट्र बैंकले कर्जामा कडाइ गर्न खोजेको भन्दै विज्ञहरुले आलोचनासमेत गरेका छन्।
आगामी साता केमा ध्यान दिने ?
सेयर बजार सधैँ बढेको बढ्यै र घटेको घट्यै पनि गर्दैन। सामान्यतय फागुन–चैतमा सेयर बजारमा करेक्सन नै आउने समय भएकोले अहिलेको घटाइलाई सामान्य रुपमा लिनुपर्ने विश्लेषकहरु बताउँछन्।
भोलि शुक्रबारबाट संसदमा एमसीसीमाथि घनिभूत छलफल हुन सक्छ। एमसीसीमाथिको छलफलले आउँदो साता पनि केही दिनसम्म निरन्तरता पाउन सक्छ।
एमसीसी पास भएमा बजारलाई सकारात्मक नै प्रभाव पार्न सक्ने विश्लेषकहरु बताउँछन्। यदि केही गरी पास नभएमा पनि बजारलाई खासै ठूलो प्रभाव पार्ने सम्भावना नरहेको उनीहरुको तर्क छ।
बजार बुलिस नै रहेकोले अहिलेको घटाइमा राम्रा कम्पनीको सेयर उठाउँदा दीर्घकालमा फाइदा नै हुने बजार जानकारहरु सुझाव दिन्छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19