काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भएको छ। पाँच कारोबार दिनमा तीन दिन बजार घट्यो भने २ दिन बजार बढ्यो। 

साताको पहिलो कारोबार दिन आइतबार बजार ९५.५१ अंकले बढेको थियो। सोमबार ३५ अंकले घटेको बजारमा मंगलबार १६ अंकको गिरावट आएको थियो। 

यसैगरी बुधबार ५ अंकले सकारात्मक बनेको बजारमा बिहीबार भने पुनः २० अंकको गिरावट आएको छ। यसरी साताभरिमा बजार ३१ अंकले मात्रै सकारात्मक भएको छ। 

साताभरि सेयर बजारमा लगभग  पौने ८ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ।

एकैदिन झन्डै १०० अंकले आएको बढोत्तरीपछि बजार पुनः सुस्ताउनुमा लगानीकतामा बजारप्रति विश्वास कम भएको जानकारहरु बताउँछन्। बजारमा मुख्य समस्या तरलता संकट नै रहेको र अहिले सेयर धितो कर्जा तथा अन्य कुनै पनि कर्जा उपलब्ध नहुँदा बजारमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव परेको उनीहरुको बुझाइ छ। 

बजारमा तरलताको अभाव भए पनि आसन्न स्थानीय तह चुनावमा लगानीकर्ता बढी सक्रिय हुँदा सेयर बजारमा प्रभावित भएको मान्नेहरुको जमात पनि ठूलै छ। सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा जुटिसकेकोले बजेटमार्फत पुँजी बजारको विषयमा केही सम्बोधन हुन सक्नेमा लगानीकर्ताहरु आशावादी छन्। 

समग्रमा यो साता सामान्य रहेकोले आगामी साता बजारमा ठूलो उतारचढाव नहुन पनि बजार जान्कारहरुको मत छ।