काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेका एनएमबि हाइब्रिड फन्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फन्ड–इले आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरण प्रकाशित गरेका छन्। 

एनएमबि हाइब्रिड फन्ड एल–१ को २०७९ असारमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) १३.१३ रुपैयाँ कायम रहेको छ। अघिल्लो वर्ष यस फन्डको न्याभ १६.८९ रुपैयाँ कायम रहेको थियो। योजनाले आव २०७८–७९ का लागि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरी हिजो साउन ३१ गते बुक क्लोज गरिसकेको छ। 

एनएमबि फिफ्टीको २०७९ असारमा न्याभ १३.२८ रुपैयाँ कायम रहेको छ। अघिल्लो वर्ष यस फन्डको न्याभ १८.९६ रुपैयाँ कायम रहेको थियो। योजनाले आव २०७८–७९ का लागि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरी हिजो साउन ३१ गते बुक क्लोज गरिसकेको छ। 

एनएमबि म्युचुअल फन्डअन्तर्गतको चौथो म्युचुअल फन्ड योजना ‘एनएमबि सरल बचत फन्ड–इ’ रहेको छ। विगत नौ महिनादेखि सञ्चालनमा रहेको यस योजनाको २०७९ असारमा न्याभ ९.११ रुपैयाँ कायम रहेको छ।

यसका साथैे एनएमबि क्यापिटलको पाँचौँ म्युचुअल फन्ड योजना ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’ गत साउन २६ गतेदेखि निष्कासन भइरहेको छ। सो योजनाका इकाइमा आवेदन दिने म्याद थप गरिएको छ। योजनामा भदौ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।