काठमाण्डौ । लगानीकर्ताको दवाबपछि नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीको बिषयमा कार्यतालिका सार्वजनिक गरेको छ । 

सोमबार आन्दोलनमा उत्रिएका र नेप्सेमा प्रदर्शन गरेका लगानीकर्ताहरुसँग गरेको प्रतिबद्धता अनुरुप नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणाली कार्यान्वयनको कार्यतालिका सार्वजनिक गरेको हो । 

प्रवक्ता मुराहरि पराजुलीबाट जारी विज्ञप्तिमा तीन चरणका कार्यक्रमसहितको कार्यतालिका सार्वजनिक गरिएको छ । 

जसअनुसार मंसिर १६ गते अनलाइन कारोबार प्रणालीमा कारोबार  गर्ने तरिका सिक्नका लागि लगानीकर्तालाई यूजर नेम र पासवर्ड उपलब्ध गराइनेछ । 

त्यसपछि लगानीकर्ताबाट प्राप्त उचित सुझावहरुलाई समेत टिएमएसमा समावेश गरी मंसिर २३ गतेदेखि कारोबारका लागि सदस्य दलालसँग सम्झौता गरेका ग्राहकलाई यूजर नेम र पासवर्ड उपलब्ध गराउने कार्यको थाली गरिनेछ । 

नेप्सेका अनुसार तेश्रो तथा अन्तिम चरणमा पुस १७ गतेदेखि कारोबारका लागि सदस्य दलालसँग सम्झौता गरेका ग्राहकलाई यूजर नेम र पासवर्ड उपलब्ध गराउने कार्यलाई निरन्तरता दिंदै सबै प्रयोगकर्तालाई नेप्सेको अनलाइन कारोबार प्रणाली खुल्ला गरिनेछ ।