काठमाण्डौ । कोरोना महामारीबीच नजिकिँदै गरेको नेपाली महान चाडपर्वलाई लक्षित गरी उपत्यकाका तीनै जिल्लामा ‘चाडपर्व सुरक्षा योजना’ लागू हुने भएको छ।

नजिकिँदो दसैं–तिहारमा मानिसको भीडभाड र आवतजावत सहज पार्दै आपराधिक गतिविधि हुन नदिन उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुर प्रहरीलेसुरक्षा योजना लागू गरेका हुन्। चक्रपथ बाहिर र भित्र क्षेत्र छुट्याएर ‘कर्डन एन्ड सर्च अप्रेसन’ गरिने महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ। परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार गेस्ट हाउस र होटेलमा सर्च अप्रेसन चलाउइनेछ भने लामो दूरीका बस छुट्ने र आउने ठाउँमा सादा पोसाकमा प्रहरी खटाएर निगरानी बढाइनेछ। 

धेरै भिडभाड हुने बसपार्क र सपिङ मलमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेर ‘डग स्निफिङ’ गराउने सुरक्षा रणनीति तयार गरेको छ। ज्ञवालीले भने, ‘चाडपर्व सुरक्षा योजना लागू भइसकेको छ, ३६ ठाउँमा चेकप्वाइन्ट राखेका छौँ।’

उपत्यकामा प्रहरीको २८ ‘एम्बुसिङ टिम’ खटिएका छन्। नियमित ६६ वटा पिकेट ड्युटीबाहेक दसैँ–तिहार लक्षित गरी थप ३० ठाउँमा पिकेट टिम परिचालन गरिएको छ। 

प्रहरीले घर–डेरा छाडेर उपत्यका बाहिर जाँदा डेरामा मूल्यवान वस्तु नराख्नसमेत अपिल गरेको छ। 

दसैं, तिहार लक्षित सुरक्षा योजनाअनुसार कन्ट्रोल रुम भेहिकल (सीआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र पिकेट ड्युटी परिचालन गरिएको छ। दसैँ–तिहारको बहानामा जुवा तास खेल्नेलाई पनि कडा निगरानी गरिने प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालयको समन्वयमा तीनवटै जिल्लामा बढी भिडभाड हुने ठाउँमा ‘हेल्प डेस्क’ राखिएको छ। कलंकी, बल्खु, कोटेश्वर, गौशाला, बाईपास, सितापाइला, सुन्धारा, सातदोबाटो र जगातीलगायतका स्थानमा त्यस्ता ‘हेल्प डेस्क’ छन्। जहाँबाट सर्वसाधारणले प्रहरी सेवा लिन सक्छन्।

दसैँ–तिहारको बेला सुरक्षाका लागि उपत्यकामा मात्रै करिब १० हजार प्रहरी परिचालित हुनेछन्। उपत्यकामा कार्यरत प्रहरी–कर्मचारीले बिदा भने पाउने छैनन्। कोभिड–१९ को जोखिम र चाडपर्वमा हुने अपराध नियन्त्रण गर्नुपर्ने दायित्वले गर्दा प्रहरी कर्मचारीले बिदा नपाउने महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए।