काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले बिक्री नभएको निकै ठूलो परिमाणको सेयर लिलामीमा ल्याएसँगै त्यो प्राप्तिका लागि बजारमा तँछाडमछाडको अवस्था सिर्जना भएको छ । 

अरु त अरु दोश्रो बजारमा मार्केट डिलरको रिहर्सलमा उत्रिएको नागरिक लगानीकोष(सीआइटी)ले यो बैंकको सबै सेयर उठाउने गरी शिलबन्दी बोलपत्र पेश गरेपछि यो विषय बजारको हटकेक बनिरहेको छ । 

योसँगै एनसीसी बैंकको सेयर सस्तोमै पाउने आशाले बिड गर्नेहरुमध्ये कसले कति कित्ता फुत्काउने हुन् भन्ने बिषय पनि व्यग्र प्रतिक्षाको विषय बनेको छ । 

कतिपयले मार्केट डिलरको रिहर्सल गरिरहेको नागरिक लगानीकोषले नै निकै राम्रो मूल्यको बोली लगाउँदै सबै सेयर उठाउने इच्छा प्रकट गरेपछि यसलाई बैंकको सुखद भविष्यको संकेतको रुपमा समेत लिएका छन् । 

कतिपयले चाहि समग्र सेयर बजारको उज्वल भविष्यको विश्लेषण गरेर नागरिक लगानीकोषले यो कदम उठाएको भन्दै यसले लगानीकर्तालाई समेत उत्साहित बनाउने दाबी गरिरहेका छन् । 

यिनै तर्क र दाबीबीच हामीले नागरिक लगानीकोषले एकैपटक निकै ठूलो रकमको सेयर उठाउने आँट किन गर्यो भन्ने बिषय खोतल्ने प्रयास गरेका छौ।

सीइआटी किन आयो अगाडि ?
एनसीसी बैंकले गत भदौ ४ देखि असोज २२ गतेसम्म समय दिएर ५० प्रतिशतको अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निश्कासन गरेको थियो ।

तर, बैंकका आधारभुत शेयरधनीहरु एनबी समूह र निर्मल प्रधान समूहले हकप्रद खरीदका लागि इच्छा नै देखाएनन्, फलस्वरुप कुल निश्कासित हकप्रदमध्ये एक करोड ५४ लाख ८४ हजार २९० कित्ताका लागि मात्र आवेदन पर्यो । बिक्री नभएको सेयर अहिले लिलामीमा ल्याइएको हो ।

एनसीसी बैंकले पुस ११ देखि २० गतेसम्म संस्थापक समूहतर्फ ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहतर्फ १३ लाख ९४ हजार १९८ कित्ता शेयर लिलामीमा राखेको थियो । 

लिलामीमा राखिएको सबै सेयर खरीद गर्ने इच्छा देखाउँदै नागरिक लगानीकोषले बिड गरेको हो । 

कोषले साधारण समूहतर्फको शेयरमा प्रतिकित्ता रु. १९१ र संस्थापकतर्फ १०१ रुपैयाँ मूल्यको बोल लगाएको छ ।

यो हिसाबले कोषले संस्थापक समूहतर्फ १०१ रुपैयाँका दरले ६५ करोड ८१ लाख ९६ हजार रुपैयाँ र सर्वसाधारण समूहतर्फको शेयरका लागि २६ करोड ६२ लाख ९१ हजार रुपैयाँको गरी कुल ९२ करोड ४४ लाख ८८ हजार रुपैयाँ सेयर उठाउने हिम्मतका साथ आवेदन दिएको हो ।

सबै कित्ता खरीदका लागि कोषले किन हिम्मत गर्यो त ? कोषका केही अधिकारीहरुले यसको कारण प्रस्तुत गरेका छन् । 

यसका पछाडि तीन कारण रहेका छन् । 

पहिलो कारण, नागरिक लगानीकोष आफैं पनि एनसीसी बैंकको प्रोमोटर हो । ‘संस्थापक सेयरधनी भएको नाताले ठूलो मात्रामा अक्सनमा आएको प्रमोटर सेयर नै किन छाड्ने ? भन्ने हाम्रो निश्कर्ष रह्यो ।’ कोषस्थित स्रोतले भन्यो–‘हामी त्यसै पनि मार्केट डिलरको पूर्वअभ्यास(रिहर्सल)का लागि दोश्रो बजारबाटै पनि विभिन्न सूचिकृत कम्पनीको सेयर किनिरहेका छौ भने दोश्रो बजार भन्दा सस्तो पाइन्छ भने एनसीसीको सर्वसाधारण समूहतर्फको सेयर पनि किन नउठाउने भन्ने तर्कले समेत काम गरेको छ ।’

ती अधिकारीका अनुसार दोश्रो कारण हो, एनसीसी बैंकबाट आउनसक्ने सोच्दै नसोचिएको लाभांश वा रिटर्न । अक्सनमार्फत सबै हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी ७ अर्ब १ करोड  भन्दा बढीको उचाईमा पुग्नेछ । त्यसपछि यो कम्पनीले ९९ करोड रुपैयाँको हाराहारीको बोनस सेयर दिएर पूँजी जुटाउनुपर्नेछ । यसले समेत कोषलाई एनसीसी बैंकको सेयर उठाउन आकर्षित गरेको बताइएको छ । 

अर्को हो, निकै लामो विश्लेषणपछि तयार गरिएको रेट । कोषका अधिकारीका अनुसार उनीहरुले बिड गरेको प्राइसमा एनसीसी बैंकको सेयर पाइए त्यसबाट घाटा हुने कुनै गुञ्जायस नरहेको विज्ञहरुको निश्कर्ष छ । न्यूनतम तोकिएको चुक्तापूँजी पुगिसकेपछि त्यो संस्थाले राम्रै गर्छ भन्ने विश्लेषण समेत कोषका विज्ञहरुले गरेका छन् । 

‘हामीले हाम्रो एनलाइसिस अनुसारको रेट हालेका हौ।’ स्रोत भन्छ–‘हामीले मागेको रेटमा सेयर पाए निकै राम्रो हुनेछ ।’

तर, कोषको सबै सेयर उठाउने योजना सफल हुने अवस्था भने देखिएको छैन । कारण, कोषले बिड गर्दा तोकेको रेट भन्दा बढीमा एनसीसी बैंकको संस्थापक र साधारण सेयर खरीद गर्ने निकै धेरै आवेदन परिसकेका बिक्री प्रबन्धक सनराइज क्यापिटल स्रोतले जनाएको छ । ‘कोषले सबै सेयर पाउने संभावना अब छैन ।’ सनराइज क्यापिटल स्रोतले भन्यो–‘उसले भन्दा बढी रेट परिसकेको छ । तर, थोरै कित्ता भए पनि केही न केही चाहि कोषले पाउने नै देखिन्छ।’

अक्सनबाट बैंकको सेयर उठाउन संस्थापक समूहतर्फ ११९ वटा र सर्वसाधारणतर्फ ४ हजार ९२२ वटा आवेदन परेको छ। संस्थापक समूहतर्फ १०१ रूपैयाँ प्रारम्भिक कटअफ कायम भएको छ । सर्वसाधारण समूहतर्फको सेयर खरीदका लागि निकै धेरै शिलबन्दी बोलपत्र परेकाले त्यसलाई खोल्ने काम भइरहेको छ ।