काठमाण्डौ । नयाँ वर्षको सुरुवातदेखि दोश्रो बजारमा सेयर खरीद गर्दा खरीदकर्ताले अनिवार्य रुपमा स्थायी लेखानम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरी धितोपत्र बोर्डले नेप्सेले त्यसको पूर्वतयारी गर्न निर्देशन दिएको देखिएको छ । 

धितोपत्र बोर्डले सेयर खरीद गर्दा स्थायी लेखा नम्बरलाई अनिवार्य हुने गरी लागू गर्ने कात्तिक १२ गते नै निर्णय गरेको देखिएको हो । 

अर्थमन्त्रालयको निर्देशनमा सो निर्णय गरेको बोर्डले यो विषय निकै लामो समयसम्म लुकाएर राखेको समेत देखिएको छ । 

सोही विषयमा भएको अपडेट अर्थमन्त्रालयले खोज्दै बोर्डलाई पुनः पत्र लेखेपछि नेपाल स्टक एक्सचेञ्जलाई २०७६ बैशाख १ गतेदेखि लागू हुने गरी अनिवार्य पान नम्बरको व्यवस्था गर्न र त्यसको आवश्यक पूर्व तयारीमा लाग्न बोर्डले निर्देशन दिएको देखिएको छ । 

अर्थमन्त्रालयले कात्तिक ९ गते सरकारले बजेटमार्फत नै उल्लेख गरेको सेयर खरीदमा पान अनिवार्य रुपमा लिनुपर्ने विषयको प्रगति विवरण बोर्डले नबुझाएको भन्दै त्यस बिषयमा अपडेट मागेको थियो ।

अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका उपसचिव बैकुण्ठनिधि शर्माबाट बोर्डलाई प्रेसित पत्रमा बोर्डले पेश गरेको कार्य प्रगतिविवरणमा पान नम्बरको विषय समावेश नभएको उल्लेख गर्दै त्यस विषयमा सो बेलासम्म भएको प्रगति विवरण पेश गर्न भनिएको थियो । 

अर्थबाट तागेता आएको ३ दिनपछि नै बोर्डले पाननम्बर अनिवार्य लागू गराउने भनी निर्णय गरेको देखिएको छ । 

सरकारले बजेट, नीति तथा कार्यक्रममार्फत नै नीतिगत रुपमा गरेको व्यवस्था कार्यान्वयनका लागि तालुकदार निकायहरुले ढिलो गरी काम गरेका र अहिले त्यही विषय कार्यान्वयनको क्रममा बाहिर आएको समेत देखिएको छ । 

बोर्डले नेप्सेलाई कात्तिक १५ गते नै पान नम्बर अनिवार्य गराउन आवश्यक तयारी गर्न लिखित निर्देशन दिएको थियो ।

कात्तिक १५ गते दिइएको निर्देशन अनुसारको पूर्व तयारी यति ढिलो गरी किन सुरु गरियो भन्ने बिषय चाहि रहस्यकै गर्भमा छ ।

बोर्डले नेप्सेलाई २०७६ बैशाख १ गतेदेखि पान नम्बर अनिवार्य गराउन आवश्यक पूर्व तयारीमा जुट्न आग्रह गरेपछि नेप्सेले टिएमएस तथा नोट्समा हाल कर्पोरेट तथा म्युचुअल फण्ड क्लाइन्टहरुको लागि अनिवार्य पाननम्बर प्रविष्ट गरेपछि मात्र दर्ता हुने व्यवस्था गरिएको र व्यक्तिगत क्लाइन्टहरुको हकमा पान अनिवार्य गर्न सकिने र यसका लागि टिएमएस वा नोट्समा कुनै समस्या नरहने नेप्सेले सो बेलै प्रष्ट्याएको थियो । 

यसरी हेर्दा अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेप्से तीनवटै निकाय २०७६ बैशाख १ गतेदेखि सेयर खरीदमा पाननम्बर अनिवार्य गर्ने विषयमा दृढ देखिएका छन् । 

लगानीकर्ताको तीव्र विरोध
प्यान नम्बरलाई सेयर खरीदमा अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनअघि नेप्सेले शुक्रबार लगानीकर्ताका विभिन्न संघसंगठनका नेता तथा प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ । अहिले छलफल जारी छ । छलफलमा सहभागी अधिकांश लगानीकर्ताले हतारमा प्यान नम्बर लगाउने निर्णय गर्न नहुने सुझाव दिएका छन् । 

छलफलस्थलमा रहेका हाम्रा संवाददाता भक्तराज रसाइलीका अनुसार प्यान नम्बरको अनिवार्य व्यवस्था हुने खबरले साना लगानीकर्ता डराएका, प्यानको त्रासले बजार प्यानिक बनेको, प्यान अनिवार्यको बैमौसमी बाजा बजाउने काम भएको, प्यान सेयर बजारका लागि विष सावित हुने, अनलाइन प्रणाली गुणस्तरीय बनाउन नसकिरहेको अवस्थामा प्यानको त्रास फैलाउने काम भएका जस्ता गुनासो गर्दै यो व्यवस्थामा जानुअघि पर्याप्त अध्ययन हुनुपर्नेमा जोड दिएका छन् । 

कतिपय लगानीकर्ताले भने खरीदकर्ताले मात्र प्यान नम्बर लिने व्यवस्था हटाउनुपर्ने सुझाव दिइरहेका छन् । 

यस्तै, कतिपयले प्यान कार्यान्वयनको विषयमा धितोपत्र बोर्डबाट उच्चस्तरीय अध्ययन समिति बनाउनुपर्ने माग समेत गरेका छन् । 

कतिपयले बजारको लगानीलाई धराशायी पार्न र थोरै मात्र बचेखुचेको पूँजी समेत पलायन गर्ने गलत नियतले प्यानको कुरा आएको भन्दै यसको विरोध गरेका थिए । 

तर, केही लगानीकर्ताले भने प्यानमा जान आफूहरु तयार भए पनि यसको विषयमा पर्याप्त अध्ययन हुनुपर्ने र लगानीकर्ता मात्र पीडित हुने गरी कुनै पनि व्यवस्था आउन नहुनेमा जोड दिएका थिए । नेप्सेको छलफल यो समाचार तयार पार्दासम्म जारी छ ।