काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडको दोश्रो बजार मूल्य केही दिनदेखि बढिरहेको छ । सेयर कारोबार खुलेको केही मिनेटमै बिहीबार एकाएक पोजिटिभ सर्किट लागेपछि कम्पनीको विषयमा चासो बढेको छ । 

आम लगानीकर्तामा एकाएक यो कम्पनीको सेयरमूल्यमा के कारणले पोजिटिभ सर्किट लाग्यो भन्ने कौतुहुलता देखिएको छ । 

अरुण भ्यालीको मूल्य एकाएक बढ्नु पछाडिको कारणको विषयमा हामीले खोजी गरेका छौं । 

यो कम्पनीको चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण उत्साहजनक आउने विश्लेषणसहित लगानीकर्ताहरुले धमाधम सेयर उठाएका कारण मूल्य बढेको देखिएको छ । बिहीबार केही मिनेटमै यो कम्पनीको सेयरमा खरीद चाप एकछत्र हाबी भएको थियो । कारोबार अवधिभर धेरै प्रयास गर्दा समेत एककित्ता समेत बिक्रीतर्फ आएको थिएन । यसले कम्पनीको सेयरमूल्यमा अझै केही दिन सर्किट स्तरमा कारोबार हुने देखिन्छ । 

अरुण भ्यालीस्थित उच्च स्रोतका अनुसार कम्पनीले हालै ५० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा बिक्री नभएको ४ लाख ६३ हजार कित्ता सेयर अक्सनमार्फत बिक्री हुँदैछ । नबिकेको हकप्रद सेयर अक्सनबाट बिक्री गरेर कम्पनीले १८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने देखिन्छ । 

कम्पनीको संचालक समितिले यसअघि नै १०० प्रतिशत हकप्रद निश्कासन गर्ने निर्णय गरेको थियो । त्यसमध्ये पहिलो चरणमा ५० प्रतिशत निश्कासन गरिएको थियो । यसको अर्थ अझै ५० प्रतिशत हकप्रद निश्कासन हुन बाँकी नै छ।

यस्तै, अरुण भ्यालीसँग अरुण कावेली पावर लिमीटेडको १८ लाख भन्दा बढी कित्ता सेयर रहेको छ । कम्पनीले अरुण कावेलीको यो सबै सेयर बिक्री गर्न खोजिरहेको छ । हाल अरुण कावेलीको दोश्रो बजार मूल्य ५०० रुपैयाँ हाराहारीमा पुगिसकेको छ । अरुण कावेलीको सेयर बिक्री गरेपछि अरुण भ्यालीको आम्दानीमा नसोचेको बढोत्तरी हुनेछ ।

एकातिर हकप्रद निश्कासनको क्रममा बिक्री नभएको सेयरको अक्सनबाट १८ करोड बढी आम्दानी हुने र अरुण कावेलीको सेयर बिक्री गरी ठूलो आम्दानी हुने भएकोले चौथो त्रैमासको वित्तीय विवरणमा नसोचेको परिवर्तन हुने र यही विश्लेषणसहित बाठा लगानीकर्ताले धमाधम सेयर उठाइरहेका स्रोत दाबी गर्छ । 

अरुण भ्याली हाइड्रोपावर कम्पनीसँग अरुण काबेलीसहित विभिन्न कम्पनीका करिब २ अर्ब रुपैयाँ बराबरको सेयर रहेको छ । ती सेयरहरु कम्पनीले धमाधम सल्टाइरहेको छ । 

यो कम्पनीसँग ग्लोबल आइएमई बैंक, अपी पावर कम्पनी, चिलिमे हाइड्रो, नागरिक लगानीकोष, माछापुच्छ्रे बैंक, महालक्ष्मी विकास बैंक, नवील बैंक, इन्भेष्टमेन्ट बैंक, नेको इन्स्योरेन्स, नेपाल टेलिकम, प्रूडेन्सियल इन्स्योरेन्स, रिडी हाइड्रोपावर, रैराङ हाइड्रोपावर, नेपाल एसबीआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड, सनराइज बैंक, अपर तामाकोशी, युनिलिभर नेपाल लिमीटेड लगायतका कम्पनीको हजारौं कित्ता सेयर रहेको छ । 

‘मूल्य बढेको बेला कम्पनीले क्रमशः सेयर बिक्री गरिरहेकोले चौथो त्रैमासिक रिपोर्ट आउटस्ट्याण्डिङ आउने अपेक्षासहित खरीदतर्फ ठूलो चाप देखिएको छ ।’–स्रोतले भन्यो । 

यो कम्पनीको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको रिपोर्ट भने खासै उत्साहजनक छैन । यो अवधिसम्म १ अर्ब ४ करोड सेयरपूँजी रहेको कम्पनीले ७ करोड १३ लाख खूद नाफा आर्जन गरेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७ पैसा मात्र छ । 

कम्पनीले अरुण कावेलीको सेयर बिक्री र अक्सनबाट आएको आम्दानीले मात्रै पनि सेयरधनीलाई उच्च प्रतिफल दिन पर्याप्त हुने देखिन्छ ।