– अर्जुन तिमिल्सिना

काठमाण्डौ । २०७७ सालमा सेयर बजारमा थुप्रै रेकर्ड कायम भएका छन्। नेप्से परिसूचकसँगै बजार पुँजीकरण, कारोबार रकमलगायत सबैमा नयाँ रेकर्ड कायम भयो। अब २०७८ सालमा बजारमा रौनक कायमै रहला या नरहला भन्ने जिज्ञासा आमलगानीकर्ताको छ। यस विषयमा बिजशालाले केही बजार जानकारसँग जिज्ञाशा राखेको छ। उनीहरुको भनाइ यस्तो छ–

छोटेलाल रौनियार, अध्यक्ष– नेपाल इन्भेस्टर फोरम

१०७७ सालमा नेपालको सेयर बजारमा धेरै राम्रा काम भए। अनलाइन प्रविधि तथा मेरो सेयरमा विकास भयो। सेबोनले लाभकर ५ प्रतिशतमा झार्यो। मौद्रिक नीति राम्रो आयो। डिम्याट खाता ३४ लाखभन्दा बढी भएका छन्। बजार अहिलेसम्मकै उचाइमा पुग्यो। अहिले बैंकको ब्याजदर घटेको छ। औसत ब्याजदर ८.७३ मा आएको छ। लगानीकर्ताले ७ प्रतिशतको हाराहरीमा सेयर कर्जा पाइरहेका छन्। 

२०७८ साल अझै सुखद हुनेछ। लगानीकर्ताको मनोबल उच्च रहेको छ। बैंक तथा हाइड्रोमा बढोत्तरी हुन सक्छ। राजनीतिक माहोल पनि बजारमैत्री नै छ। बजार अझै माथि जानेछ। 

भरत रानाभाट, पूर्वअध्यक्ष– ब्रोकर एसोसियसन अफ नेपाल

२०७७ सालमा बजार २–३ महिना बजार बन्द भयो। त्यो जटिल समय पनि रह्यो। कारोबार सुरु भएपछि भने सामान्य भयो। बजारले गति लियो। धेरै रेकर्ड तोडिए।  यो वर्ष आईपीओको लहर चल्यो। आवेदन दिने पनि ह्वात्तै बढे। सबैभन्दा ठूलो उपलब्धि त कोभिडपछि हामी सबै अनलाइनमा अभ्यस्त भयौँ। अनलाइन कारोबार र भुक्तानीमा छलाङ मार्यो।  

२०७८ सालमा पनि बजार राम्रो नै हुनेछ। ब्रोकरले नयाँ आर्थिक वर्षबाट नयाँ टीएमएस ल्याउँदैछन्। अब धितोपत्र कारोबार राफसाफ झनै सजिलो हुनेछ। यसका अलवा २०७८ सालमा संस्थागत लगानीकर्ता भित्रिन सक्ने देखिन्छ। अब बुक बिल्डिङ विधि पनि आउने देखिन्छ। त्यसैले अहिलेका धेरै समस्या समाधान हुन्छन्। नयाँ क्लाइन्ट पक्कै  बढ्छन्। बजारको भविष्य राम्रै छ।

तुलसीराम ढकाल, उपाध्यक्ष– नेपान इन्भेस्टर फोरम

२०७७ बजारका सुखद् रह्यो। अन्तिम नेप्से  परिसूचकले अहिलेसम्मकै उच्च विन्दु चुमेको छ। आजको इन्डेक्सबाट प्रस्टै हुन्छ कि अब बजार कता जान्छ भनेर। बजारमा अझै अवसर छन्। धेरै बैंक तथा वित्तीय संस्थाको सेयरमूल्य अझै १२००–१३०० इन्डेक्सकै हाराहारीमा छ। अब बजारलाई बैंकले लिड गर्छ। बैंकमा तरलता अभाव हुने कुनै सम्भावना छैन। पहिलेदेखि तेस्रो त्रैमासमा बैंकले अत्याधिक लगानी गर्ने हुँदा र अहिले कर पनि तिनुपर्ने अवस्था भएकोले सीडी रेसियो केही टाइट देखिएको हो। यदि देशमा चुनाव भएमा लुकेको पैसा बजारमा आउनेछ। अनि तरलता झनै सहज हुन्छ। अहिलेको टीएमएस र मेरो सेयरको  सिस्टममा व्यापक सुधारको खाँचो छ। आगामी दिनमा दैनिक ३० अर्ब कारोबार पनि हुन सक्छ तर सहज रुपले काम गर्ने सिस्टम छैन। अब एउटामात्रै स्टक एक्सचेन्जले काम गर्न सक्दैन। नयाँ स्टक एक्सचेन्जको आवश्यक भइसक्यो। हामीले राज्यलाई कर तिरेका छौँ। त्योअनुसार राज्यले पनि हेर्नुपर्छ। 

प्रेम ओली, बजार जानकार

बजार अहिले बुलिस ट्रेन्डमा छ। बजारले नयाँ वर्षको नयाँ खुसियाली दिएको छ।  गएको फेब्रुअरी–मार्चमा करेक्सन आए पनि बजार बुलिसा नै रह्यो। धेरैजसो लगानीकर्ता अहिले ऋण मिलाउने प्रक्रियामा रहेकोले अगामी कारोबारमा सकारात्मक हुने निश्चित छ। अहिले लगानी लगाउने र भदौ तथा असोजमा प्रतिफल खाने समय हो। यो वर्ष बजार एकैदिन १२२ अंकको गिरावट पनि आयो थियो। भोलिपल्टै फेरि ९० अंकको वृद्धि भयो। आजको टे«न्ड हेर्दा अब बैंकले लिड गर्ने देखिन्छ। साथीहरुले बजार ३५०० सम्मको कुरा गर्छन्। नबढेका सेक्टर अझै बढ्ने देखिन्छ। बैंकको ब्याजदर असार मसान्तसम्म बढ्ने सम्भवना छैन। किनकि अन्य क्षेत्रमा लगानी लगाइहाल्ने अवस्था छैन। त्यसैले लगानीका लागि सेयर बजारको विकल्प देखिँदैन। सेयर बजारका लागि २०७७ भन्दा २०७८ साल बढी फलदायी हुने देखिन्छ।