काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ। 

दिनभर बढेको बजार अन्तिम समयमा आएर १३.०९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २७८०.८१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.०८ अंकले घटेर ४९६.१४ को विन्दुमा ओर्लेको छ।

आज कारोबार रकमले भने फेरि नयाँ कीतिमान कायम गरेको छ। आज एकैदिन झन्डै १२ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। हिजो ११ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी थियो। 

आज सबैभन्दा बढी कित्ता कारोबारको समेत नयाँ कीर्तिमान बनेको छ। यो दिन २ करोड ५१ लाख बढी कित्ता सेयर कारोबार भएको छ। यसअघि हिजो सर्वाधिक २ करोड ३१ लाख बढी कित्ता कारोबार भएको थियो। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले आजको घटाइलाई इन्ट्राडे करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘कारोबार राम्रै भएको छ, बजार अलिकति घट्नुलाई स्वाभाविक रुपमा लिनुपर्छ’, उनले भने, ‘आज लगानीकर्ताहरुले प्रफिट बुक गर्दा पनि बजारमा करेक्सन आएको हो।’

पछिल्लो समय अनलाइन प्रणालीबाटै सेयर कारोबार प्रभावकारी बन्दै जानुले पनि बजार सकारात्मक बनेको रौनियारको ठहर छ। ‘अहिले देश–विदेश जहाँ बसे पनि अनलाइन प्रणालीबाट सेयर कारोबार गर्न सकिन्छ’, उनले भने। 

मौद्रिक नीति पनि सेयर बजारमैत्री रहनु र नियामक नियकाहरुबाट पनि बजार विस्तारका लागि सकारात्मक कदमहरु चालिनुले बजार बढ्नलाई थप टेवा पुगिरहेको रौनियारको भनाइ छ। ‘यस्तै चौतर्फी माहौल बन्दै गए यही २०७८ सालभित्रै दैनिक कारोबार २० अर्ब रुपैयाँसम्मको हुन सक्छ’, उनले भने। 

ब्रोकर नं. १४ का सञ्चालक ईश्वरी रिमाल पनि आज बजारमा सामान्य करेक्सन आएको बताउँछन्। ‘बुलिस बजारमा करेक्सन आउनुलाई सामान्य रुपमा लिनुपर्छ’, उनले भने, ‘यसले बजार बढ्न थप टेवा पुग्छ।’

रिमालले बैंकहरु बढ्न बाँकी नै रहेको बताए। ‘बैंकहरु बढ्न थालेपछि बजार झनै माथि जानेछ’, उनले भने, ‘बैंकहरुमा लगानी सुरक्षित पनि हुन्छन्।’

नयाँ लगानीकर्ताहरुलाई अरुले भनेको भरमा भन्दा पनि आफैँले जानेबुझेर लगानी गर्न रिमालले सुझाव दिए।  

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ३५.७२ अंकले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १४.१२ अंकले बढेको आज बैंकिङ समूहमा ७.३४ अंक, वित्त समूहमा १.८५ अंक र म्युचुअल फन्ड समूहमा ०.०७ अंकको बढोत्तरी भएको छ।

आज निर्जीवन बीमा समूह सर्वाधिक १५७.९४ अंकले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ६६.३९ अंकले घटेको आज विकास बैंक समूहमा ५१.९८ अंक, जलविद्युत समूहमा ६०.६३ अंक, अन्य समूहमा २७.६२ अंक, लघुवित्त समूहमा ८.६ अंक, जीवन बीमा समूहमा २८.९२ अंक र लगानी समूहमा १.८६ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१४ कम्पनीका २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५५ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल लाइफ इन्स्योरेन्सको ४५ करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको ३० करोड ६० लाख रुपैयाँ, राधी विद्युतको २९ करोड ७३ लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्सको २२ करोड ३५ लाख रुपैयाँ, सेञ्चुरी कमर्सियल बैंकको १९ करोड २७ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १८ करोड ७८ लाख रुपैयाँ, अरुण काबेली पावरको १८ करोड ६१ लाख रुपैयाँ, सिभिल बैंकको १८ करोड ३३ लाख रुपैयाँ र निफ्राको १७ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ५ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। समता घरेलु लघुवित्त, रुरु जलविद्युत, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

यो दिन ङादी ग्रुप पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।