काठमाण्डौ । खानेपानी तथा सरसफाइ मन्त्रालयले चालु आर्थिक वर्षभित्र मेलम्चीको खानेपानी काठमाण्डौँ उपत्यकामा वितरण गर्ने भएको छ । 

उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघको चौधौँ वार्षिक अधिवेशनमा बुधबार आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा. सञ्जय शर्माले मेलम्ची आयोजना सम्पन्न गर्न तीव्र गतिमा कार्य भइरहेको र उक्त आयोजनापछि काठमाण्डौ उपत्यकामा १७ करोड लिटर खानेपानी प्रतिदिन आपूर्ति गर्न सकिने जानकारी दिए ।

सरसफाइका क्षेत्रमा देशव्यापी रुपमा विभिन्न कार्यक्रम भइरहेको र विभिन्न गाविस तथा नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लहरसमेत चलेको उल्लेख गर्दै उनले स्थानीयवासीको सहयोगबिना सरकारका कुनै पनि कार्यक्रम सफल नहुने बताए । 

कार्यक्रममा संघका अध्यक्ष विष्णु दाहालले ‘काठमाडौँ उपत्यकामा ट्यांकरबाट खानेपानी आपूर्तिको अवस्था’ बारे कार्यपत्र प्रस्तुत गर्दै खानेपानीको गुणस्तरअनुसार ट्यांकरमा स्पष्टसँग ‘खानेपानी ट्यांकर’ भनी उल्लेख गरिनुपर्ने सुझाव दिए । 

उनले अहिलेको खानेपानी ऐन, उद्योग ऐनलगायतका ऐनलाई समयानुकूल नियमन गर्ने किसिमले संशोधन गर्नुपर्ने र खानेपानी विकास बोर्डको छुट्टै निर्देशिका बनाउने बताए । 

काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर माग हुँदै आएकामा अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सुक्खायाममा नौ करोड लिटर र वर्षायाममा ११ करोड लिटर पानी मात्र आपूर्ति गर्न सकेको छ । 

हाल मन्त्रालयले देशभर ८५ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी पु¥याएको जनाएको छ । सन् २०३० सम्ममा सबै नेपालीलाई खानेपानी र सरसफाइमा पहुँच पु¥याउने सरकारको लक्ष्य रहेको छ ।