काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई स्टक डिलरको अनुुमति प्रक्रिया शीघ्र अगाडि बढाउन पत्राचार गरेको छ ।

बोर्डद्वारा हिजो सोमबार नागरिक लगानी कोष(सीआइटी)को सहायक कम्पनी नागरिक स्टक डिलरको अनुुमति प्रक्रिया बढाउन पत्राचार गरेको हो ।

नागरिक लगानीकोषका निर्देशक तथा नागरिक स्टक डिलरका प्रबन्ध सञ्चालक इन्द्र कट्टेलले बोर्डबाट पत्र आएको उल्लेख गर्दै अघिल्लो साता लाइसेन्सको अनुुमति र सिस्टम सफ्टवेयरका लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेडसँग २–३ चरणका छलफलसमेत भइसकेको बताए । कट्टेलले बिजशालासँग भने–‘डकुुमेन्टेसन मिलाउँदैछौं, सम्भवतः यही साता नै हामी बोर्ड जाँदैछौं ।’

नागरिक स्टक डिलर कम्पनीका लागि आवश्यक कार्यालय कोठासमेत नयाँ बानेश्वरमा पाइसकेको र ब्याकअफिसका लागि तयारी तीव्र पारिरहेको उनको भनाइ छ ।

पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने नेपाल सरकारको बजेट बक्तव्यमा समेत उल्लेख छ ।

नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई स्टक डिलरको बहुुप्रतिक्षीत रहेकोमा नागरिक लगानी कोषले लकडाउन अगावै नागरिक स्टक डिलर कम्पनीको दर्ता गरिसकेको छ ।

नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेकोले धितोपत्रको दोस्रो बजारमा बेलाबखत उतारचढाव आइरहन्छ । संस्थागत लगानीकर्ताले अध्ययन तथा अनुसन्धानमार्फत् गर्ने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यो आशाअनुसार बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी मिति २०७६।११।०१ देखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो ।