– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । बढीभन्दा बढी पैसा कमाउने रहर कसको हुँदैन र ? तर, पैसा कमाउन सोचेजति सहज भने छैन।

संसारका व्यस्त सहरहरुमा दौडिरहेका हरेक मान्छेलाई नियाल्यौँ भने प्रायः सबै डलरकै पछि कुदेका पाइन्छन्। विकसित मुलुकहरुमाक्यासिनो, कोरल क्लब तथा जुवातास वैधानिक पनि हुन्छन्। विदेशमा बस्ने नेपालीलाई पनि आफूले मेहनत गरेर कमाएको पैसा दोब्बर वा तेब्बर बनाउँछु भन्ने सोच आउनु स्वाभाविक नै हो। 

विकसित देशमा पुगेका धेरै नेपालीले पनि लट्री काट्ने तथा भर्चुअल करेन्सी बिटक्वाइन, लिटक्वाइन, इथेरिययमजस्ता मुद्रामा लगानी बढाएको पनि पाइन्छ। अहिले विदेशमा मात्रै नभएर नेपालमा पनि क्रिप्टोकरेन्सीको चर्चा सुन्न हुन थालेको छ। 

क्रिप्टोकरेन्सी एउटा भर्चुअल मुद्रा हो। विकसित देशहरु अमेरिका, बेलायत, चीन, रसिया तथा भारतमा पनि क्रिप्टोकरेन्सीहरुले वैधानिकता पाएका छैनन्। यो वैधानिक पनि हुन सक्दैन। किनकि यसको कुनै पनि देशमा नियमनकारी निकाय छैन। 

यसकारण हुन पनि सक्छ क्रिप्टोकरेन्सी क्र्यास 

क्रिप्टोकरेन्सीको राजा भनेर चिनिने बिटक्वाइन हाल ३६६८६ अमेरिकी डलरमा विश्व बाजारमा कारोबार भइरहेको छ। सन् २०१९ को जुन महिनामा यसको मूल्य १२००० डलरमा सीमित थियो। सन् २०१३ मा जम्मा ११५४ डलरमा सीमित रहेको बिटक्वाइनको भाउ सन् २०२१ को मध्यसम्म आउँदा ६५००० डलरसम्म पुग्यो। हालको कारोबारलाई नियाल्ने हो भने बिटक्वाइनको भाउ उच्च मूल्य लगभग ६५००० डलरबाट ७५ प्रतिशले खसेको छ। 

बिटक्वाइनको पछिल्लोपटकको न्यून विन्दु ३०००० अमेरिकी डलरमा रहेको छ। अबको यसको मूल्य यदि यो मूल्यभन्दा पनि तल आउँछ भने प्राविधिक रुपमा पनि बिट्क्वाइन क्र्यासको बाटोमै लम्केको प्रस्ट हुन्छ। 

आधारभूत रुपमा पनि बिटक्वाइन अब किन पनि कमजोर देखिन्छ भने पछिल्लोपटक शक्तिशाली राष्ट्र अमेरिका, बेलायत, चीन, रसिया र भारतले क्रिप्टोकरेन्सीलाई अवैधानिक घोषणा गरेका छन्। यस्ता करेन्सीको कुनै पनि देशले वैधानिकता नदिएको र कुनै पनि नियामक निकाय नभएकोले कुनै पनि बेला फेरि पहिलेकै मूल्यमा आउन सक्ने देखिन्छ। 

केही समयअघि टेस्ला कम्पनीका मालिक एलन मास्कले क्रिप्टोकरेन्सीको प्रयोग आफ्नो कम्पनीले नगर्ने बताएसँगै ओरालो लागेको बिटक्वाइनको भाउ पुनः त्यही मूल्यमा पुग्न सकेको छैन। 

क्रिप्टोकरेन्सीमा क्र्यास आउने अन्य कारणमा यसको उच्च उतारचढाव पनि एक हो। किनकि सेयर तथा क्रिप्टोकरेन्सीमा न्युटनको तेस्रो नियम लागू हुन सक्छ। 

अर्को मुख्य कारणमा यसको विश्व सेयर बजारसँगको सम्बन्ध पनि हो। विश्व सेयर बजारमा क्रिप्टोकरेन्सीको सम्बन्ध सकारात्मक छ। त्यसैले विश्व सेयर बजारको आरोलो यात्रासँगै क्रिप्टोकरेन्सीको भाउ पनि ओरालो लाग्ने देखिन्छ।

नेपालकै सेयर बजार सुरक्षित 

विदेशमा बस्ने धेरै नेपालीले नेपालको सेयर बजारमा लगानी गर्ने इच्छा प्रकट गरेका हुन्छन्। ‘तर, नेपालमा सहज रुपमा पुँजी बजारमा आउने बाटो एनआरएनलाई खुला छैन’, बजार जानकार शेषराज मैनाली भन्छन्, ‘नेपालमै रहेकालाई पनि अझै पुँजीबजारसम्मको पहुँच सहज बनिसकेको छैन। यस्तो अवस्थामा अहिले धेरै नेपालीले विदेशमै क्रिप्टोकरेन्सीमा लगानी गरेका हुन सक्छन्।’

हाल विदेशमा बसेका नेपालीले उतै लगानी बढाउँदा नेपालमा रेमिट्यान्स घटेका समाचार आइरहँदा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक यस विषयमा गम्भीर भएर सोच्नुपर्ने मैनालीको भनाइ छ। ‘अहिलेको अवस्थामा विदेशमा बस्ने नेपालीहरुले आफ्नै नाममा सेयर बजारमा लगानी गर्न नमिले पनि आफ्नो विश्वासिलो व्यक्ति तथा आफन्तको नामबाट लगानी गर्न सकिन्छ’, उनले भने।

केही समय बढेको नेपालको सेयर बजारमा करेक्सन आएको छ। अर्का बजार जानकार उत्तम सिग्देल भन्छन्, ‘अहिलेको अवस्थामा नेपालको सेयर बजारमा लगानी गर्नु सुरक्षित पनि देखिन्छ। किनकि नेपालमा वित्तीय मजबुत बैंक तथा वित्तीय संस्थाका सेयर अहिले पनि अन्डरभ्यालू नै देखिन्छ।’ 

नेपालको सेयर बजार भर्खर बामे सर्दै गरेको हुँदा बढ्ने ठाउँ पनि प्रशस्त सिग्देलको बुझाइ छ। ‘सेयर बजारमा नियामक निकायलगायत राष्ट्र बैंकको कडा सुपरिवेक्षण हुने हुँदा नेपालको पुँजी बजारमा गरिएको लगानी क्रिप्टोकरेन्सीमा जसरी शून्यतामा जाँदैन’, उनले भने।