काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा भारी गिरावट आएको छ।
आज बजार ५८.९९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६६१.४४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.३६ अंकले घटेर ५०७.५८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर सवा ४ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे आज बजार घट्नुमा केही कारणहरु रहेको बताउँछन्। राष्ट्र बैंकको कर्जामा कडाइ गर्ने खालको पछिल्लो सर्कुलर, एक बैंकका सीईओको ब्याजदर अझै बढ्नेसम्बन्धी सार्वजनिक अभिव्यक्ति र एमसीसीलाई लिएर पछिल्लो राजनीतिक घटनाक्रमले सेयर बजारमा नकारात्मक असर परेको घिमिरेको भनाइ छ। ‘यिनै गतिविधिले गर्दा लगानीकर्ताको मनोबल खस्केको देखिन्छ’, उनले भने, ‘अर्को भनेको बजारलाई सकारात्मक पार्ने खालका गुड न्युज नआउँदा पनि लगानीकर्ताहरु हतोत्साहित भएका देखिन्छन्।’
सक्रिय लगानीकर्ता निमानन्द कँडेल आज बजार घट्नुमा एक बैंकका सीईओको ब्याजदर बढ्ने अभिव्यक्ति नै मुख्य कारक रहेको बताउँछन्। ‘अर्को भनेको राष्ट्र बैंकको सर्कुलर र पछिल्लो राजनीतिक घटनाक्रमले नै बजारमा लगानीकर्ताहरु प्यानिक बनेका हुन्’, उनले भने।
नीतिनिर्माण संलग्नले केही सकारात्मक काम गरेमा बजार छिट्टै सम्हालिने कँडेलको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक ३.०१ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह २.८६ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.७४ प्रतिशत, व्यापार समूहमा १.७६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५९ प्रतिशत, विकास बैंक समूहमा २.४८ प्रतिशत, जलविद्युत समूहमा २.६९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९५ प्रतिशत, अन्य समूहमा २.७५ प्रतिशत, लघुवित्त समूहमा २.११ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२८ प्रतिशत र लगानी समूहमा २.२९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक २६ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २५ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज जीवन विकास लघुवित्तको १४ करोड ३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ९७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ५५ लाख रुपैयाँ, अपी पावरको ११ करोड ८८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड २५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ९३ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ५९ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको १० करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन युनभिर्सल पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago