काठमाण्डौ । सेयर बजारमा मंगलबार भारी गिरावट आएको छ।
बजार आज ८४.९० अंकको गिरावट आएको छ। योसँगै नेप्से परिसूचक २२६५.५२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.२७ अंकले घटेर ४३९.६९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे १ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार मुक्ति अर्याल आज बजार घट्नुमा विभिन्न कारण रहेको बताउँछन्। बीमा कम्पनीहरुको मर्जरमा जाने सम्झौता गर्नु, अप्पर तामाकोशीजस्ता कम्पनीका खराब वित्तीय विवरण आउनु र लामो समय बिदा हुनुले बजार प्रभावित बनेको उनको भनाइ छ।
गत साता लगातार बजार बढेकोले अल्पकालीन लगानीकर्ताहरुले नाफाबुक गर्दा पनि बजार घटेको अर्याल बताउँछन्। ‘बजेट आउने दिन नजिकिँदै गएको हुँदा केही सकारात्मक आशा गर्न सकिन्छ’, उनले भने।
आज ठूलो अंकले घटेकोले केही दिनभित्रै बजार सम्हालिन सक्ने अर्यालको भनाइ छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे विकास बैंकहरुले ब्याजदर बढाउँदा आउँदो महिना वाणिज्य बैंकहरुले पनि बढाउन सक्ने आँकलनले बजार प्रभावित भएको बताउँछन्। ‘केही वाणिज्य बैंकहरुलाई सीडी रेसियो मेन्टेन गर्न थप निक्षेप आवश्यक हुने हुँदा ब्याजदर घट्नेभन्दा पनि बढ्ने नै सम्भावना रहेको लगानीकर्ताहरुको बुझाइ रहेको देखियो’, उनले भने।
चुनावपछि बैंकिङ प्रणालीमा तरलता थपिए पनि इन्धनको मूल्य तथा खर्च बढेकोले तरलतामा थप दबाब पर्ने देखिएको घिमिरेले बताए। ‘तर पनि बजार अब धेरै नघट्ने सम्भावना छ, बजार आउँदा दिनमा अवश्य सम्हालिन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन अन्य समूह सर्वाधिक ५.८३ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ५.७५ प्रतिशतले घट्दा बैंकिङ समूहमा २.३९ प्रतिशत, व्यापार समूहमा २.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.५८ प्रतिशत, विकास बैंक समूहमा ४.०१ प्रतिशत, जलविद्युत समूहमा ५.२८ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.६९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.०३ प्रतिशत, लघुवित्त समूहमा २.९८ प्रतिशत, जीवन बीमा समूहमा ४.९८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.५८ प्रतिशत र लगानी समूहमा ३.३७ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका ३५ लाख ९५ हजार ५६८ कित्ता सेयर १ अर्ब ६४ करोड ४० लाख ५० हजार २३९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक ९ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ५ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको आज सानिमा माई हाइड्रोपावरको ५ करोड ५६ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ५ करोड ५२ लाख रुपैयाँ, अप्पर तामाकोशीको ५ करोड १९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड १० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड २९ लाख रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ११ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ४ करोड ७ लाख रुपैयाँ र राधी विद्युतको ३ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउमा ५ प्रतिशतको हाराहारीमा बढोत्तरी भएको छ।
यो दिन ५ वटा कम्पनीको सेयरभाउमा नेगेटिभ सर्कि लागेको छ। युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ नेपाल र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारी गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। ग्रीन भेन्चर्स, लिबर्टी इनर्जी र युनिभर्सल पावरको सेयरभाउ ९ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago