काठमाण्डौ । तीन लघुवित्तसहित ५ कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि आरएसडीसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, युनाइटेड इन्स्योरेन्स र कालिका पावरको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता आरएसडीसीको ५२३.८५ रुपैयाँ, फर्स्टको ६४१.०९ रुपैयाँ, फरवार्डको १९०४ रुपैयाँ, युनाइटेडको ३८२.८६ रुपैयाँ र कालिकाको ३३५.१३ रुपैयाँ कायम भएको छ। 

अन्तिम कारोबार मूल्यअनुसार आरएसडीसीको ५६७.९० रुपैयाँ, फर्स्टको ७६२.९० रुपैयाँ, फरवार्डको २३८० रुपैयाँ, युनाइटेडको ४०२ रुपैयाँ र कालिकाको ३८५.४० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी कम्पनीको सेयर कारोबारमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आरएसडीसी लघुवित्तले आज पुस १५ गते शुक्रबार र बाँकी ४ कम्पनीले पुस १७ गते आइतबार बुक क्लोज गर्दैछन्। हिजो पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

गत आर्थिक वर्ष २०७८–७९का लागि आरएसडीसी लघुवित्तले कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश अनुमोदन गर्न संस्थाले यही पुस २९ गते रुपन्देहीको बुटवलस्थित एसियन होटेलमा बिहान ९ बजे वार्षिक साधारणसभा डाकेको छ। 

यसैगरी फर्टट माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश यही पुस ३० गते हुने संस्थाको वार्षिक साधारणसभाबाट पारित हुनेछ। सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान १० बजे सुरु हुनेछ।

फरवार्ड माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २५ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश छन। प्रस्तावित लाभांश संस्थाको यही पुस ३० गते सुनसरीको दुहबीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा दिउँसो १ बजे हुने वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। 

यसैगरी युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश स्वीकृत गर्न कम्पनीले काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा यही पुस २७ गते बिहान ११ वार्षिक साधारणसभा गर्नेछ। 

कालिका पावर कम्पनीले गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको यही पुस २९ गते वार्षिक साधारणसभा अनुमोदन हुनेछ। सभा चितवनको भरतपुरस्थित कम्पनीको रजिस्डर्ड कार्यालयमा बिहान ११ बजेबाट हुनेछ।