काठमाण्डौ । बंगालको खाडीमा विकास ‘यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा हुन सक्ने देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार चक्रवात भारतको  पूर्वी  क्षेत्र  उडिसा  र  पश्चिम  बंगालमा  अवतरण  भएसँगै  पश्चिम–उत्तरबाट  पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ। चक्रवातबाट विकास भएको गहन न्यून चापीय रेखा नेपालको पूर्वी  भूभागहुँदै भित्रिएकोले बिहीबारदेखि नै विभिन्न क्षेत्रमा उच्च हुरीबताससँगै वर्षा भइरहेको छ। यो क्रम भोलि शनिबार दिउँसोसम्म कायम  रहने  महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार शुक्रबार बिहानदेखि नै देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित कतै हल्का र कतै मध्यम वर्षा भइरहेको छ। यो सिलसिला आज रातिसम्मै जारी रहन सक्ने महाशाखाले जनाएको छ। 

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी, अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा साथै गण्डकी प्रदेशका केही स्थानहरूमा  बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका १–२ स्थानमा  भारी हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ।