काठमाण्डौ । आज देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ। यसका साथै नदी नाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात आवागमन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

वर्षा नभएका क्षेत्रहरुमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरुबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ। 

अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तरप्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यूनचापीय रेखाको प्रभावका कारण हाल प्रदेश–१, मधेस प्रदेश, बागमी प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ। वर्षाका कारण विशेषगरी पूर्वी नेपालका नदी तथा खोलामा पानीको बहाव धेरै बढेको छ। पाँचथरस्थित तमोर नदी माझीटारमा जल सतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ। ताप्लेजुङको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। मुलघाटस्थित तमोर नदीले पनि सतर्कता तह पार गरेको छ।

बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरुले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । क्षेत्रमा यसअघि नै एसएमएस अलर्ट पठाइसकिएको विभागले जनाएको छ।