काठमाण्डौ । मानव जातिका लागि धर्तिले जति बोझ थामेकी हुन्छिन, सन्तान र परिवारका लागि आमाले पनि त्यत्तिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ । 

आमाले अनेक कष्ट व्यहोर्दै नौ महिना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिञ्चन गर्छिन । कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन । आफूले नखाई–नखाई सन्तानको भोको पेट भर्छिन । आफ्नो ज्यानको परवाह नगरी सन्तानको जीवन रक्षा गर्छिन र मानव संसारको जीवनचक्र चलाउँछिन् । यही कारण आमालाई ‘जगत जननी’ भनिन्छ । 

यिनै जगत जननीको खास दिन हो आमाको मुख हेर्ने दिन, अर्थात हिन्दूहरुले यसलाई माता तीर्थ औंशी पनि भन्छन् । यो विशेष दिनमा आमा भएकाहरुले आफ्नी आमालाई उपहार दिने, मीठो मीठो खुवाउने, अन्य बेला भन्दा बढी समय दिने गर्छन । यही विशेष दिनमा हामीले आमाको ममता पाइरहेका केही भाग्यमानी बैंकर, केही उद्योगी, केही व्यवसायी लगायतसँग गरिएको कुराकानी यही प्रस्तुत गरेका छौं । 
 

आमालाई उपहार र विशेष खर्च

लिलाप्रकाश सिटौला, सीइओ, कृषि विकास बैंक


करिब–करिब रिटायर्ड जीवनमा समेत आमाको सामीप्यता र स्नेह पाउने सीमित भाग्यमानी सन्तानमध्येका एक हुन् कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला । उनकी ८६ वर्षीया आमा कलादेवी सिटौला झापामा छिन् । यो पटकको आमाको मुख हेर्ने दिन प्रत्यक्ष रुपमा भेट गर्न जान नसके पनि आफूले हरेक वर्ष यो दिनमा आमाको हात खालि हुन नदिने गरेको सिटौला बताउँछन । ‘म यसपटक पनि फोन गरेर आमासँग गफिएँ ।’ उनले भने–‘मैले हिजो नै आफन्तहरुमार्फत आमालाई उपहार र मीठो लाग्ने चिज किनेर पठाइदिइसकेको थिएँ ।’ उनले हरेक आमाको मुख  हेर्ने दिन आफ्नी आमालाई केही खर्चबर्च समेत पठाइदिने गरेका छन् । 

जागिरको सिलसिलामा उनले माता तीर्थ औंशीको दिन त्यति धेरै आमालाई गएर भेट्न सकेका छैनन् । तर यो दिनलाई विशेष दिनको रुपमा लिने उनी आमालाई फोन गर्न, हालखबर सोध्न र लामो समय गफिन चाहि छुटाउदैनन् । ‘आमाहरुले सन्तानको व्यस्तता बुझ्नुहुन्छ, आमाको मन आकाश झै विशाल हुन्छ ।’ उनले भने–‘यसपटक जाने मन हुँदा हुँदै पनि सकिएन, तर आमाको खूब सम्झना आयो ।’ 

आफूले आमाबुबालाई नै भारत र नेपालका प्रमुख धार्मिकस्थलहरुको तीर्थाटन गराइसकेको उनले जानकारी दिए । ‘एउटा छोराले तीर्थाटन गराउनुपर्छ भन्ने हाम्रो धार्मिक मान्यता अनुसार आमाबुबाको खुशीका लागि हप्तौ समय दिएर तीर्थाटन गराइसकेँ ।’ उनले भने–‘पायक पर्दा र समय मिल्दा अरुबेला पनि झापा पुगेर आमाबुबालाई नै भेट्छु र उहाँहरुको आशिर्वाद लिन्छु ।’ 

आमाबुबाको मार्गदर्शन जीवन सफल बनाउने सूत्र भएका उल्लेख गर्दै उनले यो विशेष दिनमा आमालाई सम्झनैपर्ने संस्कार परापूर्वकालदेखि चल्दै आएको र यो सही भएको समेत तर्क पेश गरे । ‘आफ्नी माताप्रति भक्तिभाव कायम होस् भनेर पनि यो विशेष चाड मनाउन थालिएको होला ।’ सीइओ सिटौलाले भने–‘आमाबुबाप्रतिको भक्तिभावले नै मानिसलाई सुखी र सफल बनाउँछ ।’ 

आमा गम्भीर, मन खल्लो

अशोक राणा, सीइओ-हिमालयन बैंक लिमीटेड


हिमालयन बैंकका सीइओ अशोक राणा काठमाण्डौका रैथाने परिवारका हुन् । उनकी ७८ वर्षीया आमा यो बेला गम्भीर बिरामी परेकी छिन् । क्यान्सर र अन्य समस्याबाट पीडित उनको शीघ्र स्वास्थ्यको लाभको कामना गर्दै राणा परिवारले आमाको मुख हेर्ने दिन मनाए । ‘आमा हस्पिटलमा हुनुहुन्छ, निकै गम्भीर अवस्थामा हुनुहुन्छ ।’ उनले भने–‘यो दिन यसपटकको जस्तो खल्लो भएको सायदै  थिएन, तै पनि आमालाई हस्पिटलमै गएर भेटियो ।’ 

बिरामी अवस्थाकी आमाले हस्पिटलमा सन्तानलाई भेट्दा निकै खुशी महसुस गरेकी आफूलाई अनुभूत भएको उनले सुनाए । ‘तर मेरी आमा मनभित्र लागेको कुरा बोल्नसक्ने अवस्थामा हुनुुहुन्न, उहाँको बोली बन्द भएको छ ।’ उनले भने–‘आमाको यो हाल देख्दा हामी निकै दुःखी भएका छौ, यो दिन खल्लो भएको छ ।’ 

उनले विशेष रुपमा माता तीर्थ औंशीको दिन भगवानसँग आमाको सुस्वास्थ्यको कामना गरे । विजय लक्ष्मीका २ छोरा र २ छोरी गरी कुल ४ सन्तान सबैले भगवानसँग यही प्रार्थना गरे । उनीहरु अहिले नै आफूहरु आमाको ममताबाट छुटिन चाहदैनन् । ‘तर दैवको लीला कठोर हुन्छ भन्छन्, के थाहा भोलि के हुने हो ?’ सीइओ राणाले भने–‘हामीलाई संसार देखाउने आमा अझ यो अवस्थामा हुँदा समेत केही गर्न सकिएन भन्ने ग्लानी चाहि हुँदो रहेछ । के गर्ने, सबै कुरा मानिसको बसमा नहुँदो रहेछ ।’ 

सन्तानको दुःख पिइदिने महान आमा

हेमराज ढकाल, अध्यक्ष–हेरिटेज फ्लोरिङ कार्पेट इण्डष्टिज प्रा.लि.


आफ्नी आमासँग हेमराज ।

एक सफल उद्योगी हुन् हेमराज ढकाल । उनकी ८५ वर्षीया आमा रामरेखा ढकालका ९ सन्तान छन् । तीमध्ये ४ दाजुभाई र ५ दिदीबहिनी हुन् । ढकालका लागि हरेक मातातीर्थ औंशीको  विशेष महत्व लाग्छ । बिहानै उठेर आमालाई ढोगी उपहार समेत दिएर उनीहरु सपरिवार मातातीर्थ मन्दिर जाने गर्छन । ‘हामी बिहानै उठेर आमालाई ढोग्छौ, आशिर्वाद माग्छौ र सपरिवार अन्य आमाहरुको दीर्घायू तथा दिवगंत आमाहरुको आत्माको शान्तिको कामनाका मन्दिर जान्छौ ।’ उनले बिजशालासँग भने–‘आमाले नै जन्म दिनुभएको हो, उहाँजस्तो ठूलो चिज संसारमा अरु केही छैन, आमासँगको जस्तो सम्बन्ध संसारमा अन्य कुनै छैन ।’

उनका अनुसार आमाले संसारको पीर र दुःख आफू सहेर हुर्काउने काम गर्छिन । सन्तानलाई थोरै पनि दुःख नहोस् भनेर आमाले नै सबै खपिदिन्छिन् । सन्तानलाई दुःख पर्दा सबैभन्दा बढी पीडा पनि आमालाई नै बोध हुन्छ । ‘त्यही भएर समेत आमा विशिष्ट र महान हुनुहुन्छ ।’ उनले भने–‘आमाको ममता अरुबाट कहाँ पाइन्छ र ?’

आमाको यही महत्व बुझेका उनले जीवनमा अहिलेसम्म कहिल्यै पनि आमाको मन दुखाउने काम गरेका छैनन् । आमालाई समय दिने, खुलस्त भएर उहाँसँग बोलिदिने र निकट भइदिने गर्दा समेत आमाहरुलाई आफ्ना सन्तान टाढा भएको महसुस नहुने उनको बुझाई छ । ‘एउटा सन्तानलाई जन्माउन, हुर्काउन र मान्छे बनाउन आमा जतिको अमूल्य योगदान अरु कसैको हुँदैन ।’ उनले भने–‘त्यही भएर आमालाई सम्मान गरौं, माया गरौं र रुवाउने काम बन्द गरौं ।’ 

वर्षभरि खुशी पारौं आफ्नी आमा

शेखर गोल्छा, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ


७५ वर्षीया पुखराजदेवी गोल्छाका चार सन्तानमध्येका एक हुन् शेखर गोल्छा । उनी चाहि आमाको मुख हेर्ने दिनको बाहानामा हुने गरेको तडकभडक, चमकधमक र देखावटी व्यवहारको सख्त विरोधी हुन् । ‘आमालाई माया गर्न, मीठो खुवाउन र मुख हेर्न पनि कहीँ यही दिन कुनुपर्ने भन्ने हुन्छ ?’ उनले चाड मनाउनेहरुलाई प्रश्न गर्दै भने–‘वर्षको एकदिन होइन, सधैंभरि आमा खुशी पार्ने काम गर्नुपर्छ सन्तानले । एकदिन खुशी भएर मात्र आमाको आशिर्वाद पाइन्न ।’ 

उनले पछिल्लो समय आमाको मुख हेर्ने दिन मदर्स डेको रुपमा विकृति बनेर भित्रिएको दाबी समेत गरे । ‘विकृति रोकिनुपर्छ, चाँडको नाममा हुने अनावश्यक तडकभडक रोकिनुपर्छ ।’ उनले थपे–‘सन्तानका लागि आमा सधैं महान नै हुनुहुन्छ, सन्तानले हरेक दिन आमालाई मायाबाट बञ्चित नगरुन् ।’ 

आफूले आमाको मुख हेर्ने चाँड नमनाउने गरेको उनले प्रष्ट्याए । ‘म आमालाई एउटा असल सन्तान हुनुको नाताले सधैं माया गर्छु, सकेसम्म सधैं समय दिन्छु र हेरविचार गर्छु ।’ उनले भने–‘मेरा लागि यो चाँडले अर्थ राख्दैन, जसले आमालाई माया गर्दैनन् तिनीहरुका लागि यसको महत्व होला कि ?’

तर पनि यो चाडको बाहानामा कतिपय मानिसहरुले थोरै समय भए पनि आमालाई छुट्याउने र अरुबेला निष्ठुरी हुनेहरु समेत यो दिन आमाका लागि घोत्लिने पक्ष भने सकारात्मक नै रहेको उनको भनाई छ । 

फोनबाटै हेरेँ मुख

रमेशराज अर्याल, का.मु. सीइओ-एनसीसी बैंक


बैंकको कामको सिलसिलामा पूर्वी नेपालमा जानुपर्ने भएकोले रमेशराज अर्याल भौतिक रुपमा यसपटक आमाको मुख हेर्न उपस्थित हुन सकेनन् । तर उनले बिहानै आमालाई फोन गरे र निकैबेर गफिए । ‘यसपटक यस्तै भयो, फोन गरेँ र कुरा गरेँ ।’ उनले भने–‘आमा पनि फोनमै कुरा गर्दा समेत खुशी हुनुभयो ।’ 

आजको जस्तो महत्वपूर्ण दिनमा सन्तानको एउटा सम्झना मात्रै पनि आमाहरुका लागि महत्वपूर्ण हुने उनको बुझाई छ । ‘आमालाई बिर्सनु र माया नगर्नु अपराध हो ।’ उनले भने–‘आमा जति महान अरु कोही हुन सक्दैन, आमाको महत्व सबैले बेलैमा बुझ्न आवश्यक छ ।’ अर्यालले अघिल्ला वर्षका आमाको मुख हेर्ने दिनहरुमा आमालाई उपहार दिने, मीठो खुवाउने र घण्टौ समय दिएर कुरा गर्ने गर्थे । उनकी आमा ७९ वर्षीया जानुका अर्यालका ५ छोराछोरी छन् । तीमध्ये ३ छोरी छन् भने २ छोरा । उपलब्ध सन्तान यो बेलामा सबैजना एकैठाउँमा भेला हुने, आमाकै वरिपरि बसेर रमाइलो गर्ने र आमालाई पनि खुशी बनाउने चलन रहेको उनले सुनाए । ‘तर यो वर्ष बाध्यताले म काठमाण्डौ बाहिर आउनुपर्यो ।’ खल्लो भावका साथ उनले भने–‘यो महत्वपूर्ण दिनमा मेरी आमाको म दिर्घायूको कामना गर्छु, यो उमेरमा समेत आमाको ममता पाएको छु, आफूलाई भाग्यमानी ठान्छु ।’ 

तर उनको सोंचाईमा आमाको मुख हेर्ने दिन मात्र होइन, सधैभरि आमालाई विशेष सम्मान र खुशी दिन सक्नुपर्छ सन्तानहरुले । ‘औंशीको दिन मात्र खुशी पार्ने, अन्य दिन चाहि दुःख तुल्याउने काम सन्तानबाट हुनुहुँदैन ।’ उनले भने–‘यो एउटा चलिआएको चाँड हो, यसको महत्व छ, तर सबैभन्दा ठूलो कुरा सन्तानले आमा–बुबालाई माया र महत्व दिनसक्नुपर्छ ।’ 

एक दिन मात्र गिफ्ट थुपारेरे के गर्नु ?

सुमन पोखरेल, सीइओ-आइएमई 


आमाबिनाको संसार कल्पनासम्म गर्न सक्दैनन् आइएमई रेमिटका सीइओ सुमन पोखरेल । कारण, उनकी ६३ वर्षीया आमा र उनले जन्माएका सबै सन्तान सगोलमै बस्छन् । आमाबुबाको माया, छत्रछाया, प्रेरणा र ढाडस २४ सै घण्टा पाउँछन् । ‘यति धेरै माया र ममता अरुबाट कहाँ पाइन्छ र ?’ आमाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा बिजशालासँग कुरा गर्दै पोखरेलले भने–‘आमाको महत्व सबैले बुझेकै छन्, नबुझ्नेले पनि बुझून्, मेरो कामना ।’ 

उनी आमाको मुख हेर्ने दिन बिहानै उठेर नित्य कर्म सक्ने र आमाबुबाको दर्शन गरी आशिर्वाद लिने गर्छन, शुक्रबार पनि त्यही गरे । यो विशेष दिन आमालाई मनपर्ने केही चिज उपहार दिने, मीठो मसिनो खुवाउने समेत उनले बताए । बिहान घरमा खासै जमघट नभए पनि काम सकेर आएपछि साँझमा भने परिवारका सबै सदस्य भेला हुने र आमा बुबासँगै बसेर मीठो मसिनो खाने गरिएको पोखरेलले बताए । तर उनी पनि एकदिन मात्र आमाको नाममा उपहार थुपारेर र मिठाईका रास लगाइदिएर आमाप्रतिको समर्पण सार्थक नहुने तर्कसँग सहमत छन् । ‘एकदिन मात्र गिफ्ट थुपारेर आमाको माया दर्शिदैन ।’ उनले भने–‘राम्रा सन्तानका लागि आमा सधैं अमूल्य छिन्, संसारकै सबैभन्दा अमूल्य छिन् ।’ 


पोखरेलका आमाबुबा । 

संस्कार र चाँडलाई भूल्न नहुने, तर आफ्नी आमालाई मन पर्ने चिज दिन, मन पर्ने परिकार खुवाउन यो दिन नै पर्खन नपर्ने उनले प्रष्ट्याए । ‘तर यो बाहानामा एकदिन भए पनि सपरिवार भेटघाट हुने पक्ष चाहि रमाइलो लाग्छ ।’ उनले भने–‘हामीलाई संसार देखाउने आमासँगै बसेर रमाइलो गर्नुको मज्जा नै बेग्लै हुन्छ ।’ उनले तमाम सन्तानहरुलाई आमाको महत्व बुझेर जिवित हुँदैदेखि आफ्नो कर्तव्य पूरा गर्न समेत सुझाव दिए । 

आमालाई उपहार र मिष्ठान्न

रविन्द्र भट्टराई, शेयर विश्लेषक


शेयर बजार विश्लेषकको रुपमा ख्याति कमाएका रविन्द्र भट्टराईकी ७६ वर्षीया आमा तुलसीमाया भट्टराई उनीसँगै छिन् । आफूसँगै रहे पनि उनले शुक्रबार बिहानै उठेर आमाको मुख हेरे र खुट्टामा ढोगे । आमालाई उपहार दिए र मिष्ठान्न भोजन समेत गराए । परापूर्वकालदेखि चलिआएको संस्कार मान्नलाई उनी लगायत तुलसीमायाका १२ जना सन्तानमध्ये अधिकांश एकै ठाउँमा भेला हुने, आमालाई खुशी बनाउने र आपसमा रमाइलो गर्ने गर्छन । आमाको स्याहारसुसार, आमालाई माया औंशीका दिन मात्र दर्शाउनेहरु भन्दा फरक मान्यता राख्छ भट्टराई परिवार । ‘आमा सधैंका लागि महान हुनुहुन्छ र विशेष पनि ।’ भट्टराईले भने–‘जन्मदिने आमालाई सधैं माया र खुशी दिनुपर्छ सन्तानले ।’ 
उनको बुझाईमा आमा नहुनेहरुका लागि र आमा भएर पनि भौतिक रुपमा टाढा हुने सन्तानहरुका लागि यो दिनले विशेष महत्व राख्छ । ‘आमा नहुनेहरुले आमालाई यो दिनमा विशेष रुपमा सम्झेलान् ।’ उनले भने–‘टाढा हुनेहरु समेत यही बाहानामा आमाको समीप आइपुग्लान् ।’ व्यस्तताको बाहानामा आमासँगको सामीप्यता सन्तानहरुले नराखेकोमा उनको चित्त बुझेको छैन । ‘आमा त आमा हो नि, धर्ति र जननी हो नि ।’ उनले भने–‘सबै सन्तानहरुले यो कुरा बुझेर सकेसम्म आमालाई समय दिन सक्नुपर्छ, माया दिन सक्नुपर्छ ।’