काठमाण्डौ । आज कात्तिक कृष्णऔँसी। आजको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर दीपावलीसहित लक्ष्मीपूजा गरी मनाइँदैछ। 

आजको रात लक्ष्मीको आराधना गर्दा परिवारमा सुख–शान्तिका साथै लक्ष्मी (धन) को बास हुने र कहिल्यै अभाव झेल्नु नपर्ने मान्यता आमजनमानसमा रहँदै आएको छ।

आजबाट सेयर बजार पनि बन्द भएको छ। अब कात्तिक २२ गतेबाट मात्रै खुल्नेछ। 

पछिल्लो समय सेयर बजारमा निकै चमक देखिएको छ। कोभिडबाट अन्य क्षेत्र प्रभावित हुँदा आममानिसदेखि ठूलठूला व्यापारीको आयको स्रोत सेयर बजार नै हुन पुगेको छ। थोरै समयमा एउटा उच्च चुम्न सफल सेयर बजार फेरि घटेर पुनः बढ्न थालेको छ। 

यही मेसोमा आज हामीले पछिल्लो एक वर्षको तथ्यांकलाई आधार बनाई यो अवधिमा उच्च प्रतिफल (रिटर्न) दिने कम्पनीहरुको सूची तयार पारेका छौँ। यो अवधिमा पुराना र हालसालै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका कम्पनी र ती कम्पनीबाट लगानीकर्ताहरु पाएका प्रतिफललाई पनि समावेश गर्ने कोसिस गरेका छौँ।

पछिल्लो एक वर्षको तथ्यांक हेर्ने हो भने महिला लघुवित्तले सर्वाधिक रिटर्न देखिएको देखिएको छ। यद्यपि यो लघुवित्त यही एक वर्षभित्रै नेप्सेमा सूचीकृत भएको हो। 

महिला लघुवित्तले १०५० प्रतिशतभन्दा बढी रिटर्न दिन सफल भएको छ। धितोपत्र दोस्रो बजारमा ४४६ रुपैयाँमा कारोबार खुलेको यो लघुवित्तले छोटो समयमै लगानीकर्ता उच्च प्रतिफल दिन सफल भएको हो। यो लघुवित्त अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सेयर ५१३० रुपैयाँ पुगेको छ। यो हिसाबले हेर्दा लगानीकर्ताले प्रतिकित्ता ४६८४ रुपैयाँ नाफा भइसकेको छ। 

यसैगरी हालै धितोपत्र दोस्रो बजारमा कारोबार थालेको मनकामना स्मार्ट लघुवित्तले पनि सेयरधनीहरुलाई ५६५ प्रतिशतभन्दा बढी रिटर्न दिन सफल भएको छ। पहिलो कारोबारमा प्रतिकित्ता २९६ रुपैयाँ कायम भएको यो लघुवित्तले अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १९७० रुपैयाँ पुगेको छ। यो हिसाबले लगानीकर्ताहरुलाई यो लघुवित्तबाट १८७० रुपैयाँ नाफा भइसकेको छ। 

पछिल्लो एक वर्षको अवधिमा उच्च रिटर्न दिने कम्पनीको सूचीको तेस्रो स्थानमा गोखार्ज फाइनान्स रहेको छ। यो कम्पनीले ४५१ प्रतिशतभन्दा बढी रिटर्न दिएको छ। एक वर्षअघि प्रतिकित्ता १७० रुपैयाँ रहेको यो कम्पनीको सेयरभाउ बढेर अहिले ९३७ रुपैयाँ पुगेको छ। 

चौथो स्थानमा जीवन विकास लघुवित्त रहेको छ। यो लघुवित्त पनि यही वर्ष नेप्सेमा सूचीकृत भई कारोबारमा आएको हो। यो लघुवित्तले ३७७ प्रतिशत बढी रिटर्न दिएको छ। पहिलो कारोबार ९८९ रुपैयाँमा खुलेको यो लघुवित्त सेयरभाउ अहिले बढेर ४७१८ रुपैयाँ पुगेको छ।

प्रभु लाइफ इन्स्योरेन्स उच्च रिटर्न दिने कम्पनीको सूचीमा पाँचौँ स्थानमा छ। यो कम्पनीले ३७० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ। एक वर्षअघि प्रतिकित्ता १४१ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य बढेर ६६४ रुपैयाँ पुगेको छ। 

रिडी हाइड्रोपावरले पनि पछिल्लो एक वर्षमा ३४८ प्रतिशतभन्दा बढी रिटर्न लगानीकर्ताहरुलाई दिएको छ। एक वर्षअघि १८७ रुपैयाँ प्रतिकित्ता रहेको यो कम्पनीको सेयरमूल्य पछिल्लो अन्तिम कारोबार मूल्यअनुसार ८३८ रुपैयाँ कायम भएको छ। यो कम्पनी उच्च रिटर्न दिनेहरुको सूचीमा छैटौँ स्थानमा छ।

रिटर्न धेरै दिने कम्पनीको सूचीमा गुडविल फाइनान्स सातौँ स्थानमा छ। यो कम्पनीले पछिल्लो एक वर्षको अवधिमा सेयरधनीहरुलाई ३३३ प्रतिशतभन्दा बढी रिटर्न दिएको छ। एक वर्षअघि १९७ रुपैयाँ प्रतिकित्ता रहेको यो कम्पनीको सेयरभाउ बढेर अहिले ८५४ रुपैयाँ पुगेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको उच्च रिटर्न दिने कम्पनीको सूचीको अठाँै स्थानमा छ। यो कम्पनीले ३२३ प्रतिशत रिटर्न दिएको छ। एक वर्षअघि २०० रुपैयाँ प्रतिकित्ता रहेको यो कम्पनीको सेयरभाउ अहिले ८४६ रुपैयाँ रहेको छ।

नवौँ स्थानमा समृद्धि फाइनान्स छ। यो कम्पनीले २९५ प्रतिशत रिटर्न दिएको छ। एक वर्षअघि १३९ रुपैयाँ प्रतिकित्तामा पाइने यो कम्पनीको सेयरभाउ बढेर ५५० रुपैयाँ पुगेको छ। 

बेष्ट फाइनान्स दसौँ स्थानमा छ। यो कम्पनीले पनि सेयरधनीहरुलाई २९१ प्रतिशत रिटर्न दिएको छ। हाल यो कम्पनीको सेयरभाउ ५६४ रुपैयाँ रहेको छ। जब कि एक वर्षअघि १४४ रुपैयाँमात्रै थियो।

यो एक वर्षको अवधिमा अन्य २० कम्पनीले २०० देखि झन्डै ३०० प्रतिशतसम्म रिटर्न दिएको देखिएको छ। त्यस्तै अन्य ३९ कम्पनीले १०० प्रतिशतदेखि झन्डै २०० प्रतिशतसम्म रिटर्न दिएका छन्।

यसरी उच्च रिटर्न दिने कम्पनीहरुमा लघुवित्त, जलविद्युत, वित्त र विकास बैंकहरु नै देखिएका छन्। 

वाणिज्य बैंकहरुमा भने सबैभन्दा बढी रिटर्न नबिल बैंकले दिएको देखिएको छ। यो बैंकले लगानीकर्ताहरुलाई यो एक वर्षको अवधिमा ८७ प्रतिशतभन्दा बढी रिटर्न दिएको छ। एक वर्षअघि ८८० रुपैयाँ प्रतिकित्ता रहेको यो बैंकको सेयरभाउ अन्तिम कारोबार मूल्यअनुसार १६५३ रुपैयाँ पुगेको छ। 

यस्ता छन् पछिल्लो एक वर्षमा उच्च रिटर्न दिने कम्पनीहरु (यही एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत भएकाहरुसहित) –