-राजु पौडेल
नेपालको सेयर बजारको इतिहास धेरै लामै छ । सेयर बजारले बोकेको यो लामो इतिहासमा बजारले धेरैपटक आरोहअवरोह पार गर्दै आएको छ । वि.सं. २०७३ साल श्रावण १२ गते नेपालको सेयर बजारले १८८१ को बिन्दुमा पुगेर एउटा नयाँ इतिहास रच्न सफल भएको थियो । त्यतिबेला निरन्तर बढेको सेयर बजारलाई धितोपत्र बोर्डले तारन्तार विज्ञप्ति निकालेर बजार घटाउन तल्लीन भएर लागेको कुरा पनि हामी लगानीकर्ताहरुले भूलेका छैनौ । त्यसबेला धितोपत्र बोर्डले बजार वृद्धिको विरुद्धमा विज्ञप्ति ननिकालेको भए बजार २०००-२२०० सम्मको बिन्दुमा पुग्न सक्थ्यो भनेर सेयर बजारका पुराना अनुभवीहरुले अहिले भन्ने गरेका छन् । 

अब बजार किन १८८१ को बिन्दुमा पुग्यो र आज किन निरन्तर घटिरहेको छ भन्ने कुराको बिचार विश्लेषण गरौं । जब राष्ट्र बैंक र बिमा समितिले बैंक तथा बिमा कम्पनीको चुक्तापुँजी वृद्धि गर्ने बाध्यकारी नियम ल्याए, तब लगानीकर्तामा एउटा हौसला पैदा भयो । अब यो बेलामा सेयरमा लगानी गरियो भने बोनस, हकप्रद सेयर धेरै खान पाईन्छ । त्यही हकप्रद र बोनस सेयरको लोभले बजार निरन्तर बढ्दै १८८१ को यात्रा तय गर्यो । तर, दुर्भाग्य हकप्रदको लोभमा नराम्रो कम्पनीको सेयर पनि उचालिएर खरिद गर्दा आज लगानीकर्ता थचारिनु परेको छ । राष्ट्रबैंक र बिमा समितिले कम्पनीको चुक्तापुँजी वृद्धि, मर्जर, एक्विजिसन र बोनस सेयरबाट मात्र पुँजी वृद्धि गर्नुपर्ने बाध्यकारी नियम बनाउनुपर्नेमा हकप्रद जति पनि र जति पटक निकालेर भए पनि पुँजी वृद्धि गर्न पाउने छाडा नियम कम्पनीहरुलाई दिंदा अहिले बजारको यो दुराअवस्था भएको हो । 

२०६५ साल भदौ १२ मा ११७५ पुगेको नेप्से २०६८ साल असार १ मा बजार घटेर अहिलेसम्मकै न्यून बिन्दु २९२ मा पुगेको थियो । त्यतिबेला बजार घटनुको प्रमुख कारण त्यतिबेलाका अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजार भनेको जुवाघर हो भने भन्ने आरोप छ, जुन आरोप अहिलेका अर्थमन्त्रीलाई पनि लाग्ने गरेको छ । तर, त्यतिबेलाको बजार घटाइको प्रमुख कारण अर्थमन्त्रीको भनाइले भन्दा पनि विविध प्राकृतिक कारण थिए । त्यसबेला आर्थिक मन्दीले पूरै बिश्वको अर्थतन्त्र डामडोल भएको अवस्था थियो । त्यसको असर नेपाली अर्थतन्त्रमा पर्नु स्वभाविक नै थियो । नेपालका बैंकहरु टाट पल्टने अवस्थामा पुगेका थिए, घरजग्गा व्यवसाय तहसनहस थियो । देशमा राजनीतिक अस्थिरता थियो ।  यस्ता विविध कारणहरुले सेयर बजारलाई प्रत्यक्ष असर गरी ११७५ को नेप्से झर्दै २९२ को वियरिस बिन्दुमा पुगेको थियो । तर अहिले बजार घटाउने त्यस्ता प्राकृतिक कारणहरु छैनन् । अहिले सबै अप्राकृतिक कारणहरुले बजार निरन्तर घटिरहेको छ । अहिले बजारलाई वियरिस अबस्थामा पुर्याउने तत्वहरु तथा कारण यस्ता छन्:

१.राष्ट्रबैंक र बिमा समिति: जब राष्ट्र बैंक र बिमा समितिले बाणिज्य बैंकहरुले आफ्नो चुक्तापुँजी २ अर्बबाट एकैचोटि ८ अर्ब, विकास बैंकले २ अर्ब ५० करोड, जीवन बिमा कम्पनीले २ अर्ब र निर्जिबन बिमा कम्पनीहरुले १ अर्ब चुक्तापुँजी पर्याउनुपर्ने बाध्यकारी नियम ल्याए, योसँगै कम्पनीहरुले चुक्तापुँजी पुर्याउने नाममा ६०० प्रतिशतसम्म हकप्रद सेयर जारी गरे । हकप्रद  र बोनस सेयरको लोभमा लगानीकर्ता उचालिँदा बजार बुम हुन पुगेको थियो । तर, पछि हकप्रद सेयर खरीदका लागि लगानीकर्ताले त्यही सेयर बिक्री गर्ने, बैंकबाट ॠण लिएर हकप्रद सेयर किन्नु पर्ने बाध्यता आइलाग्यो । हकप्रद सेयर हाल्नलाई सेयर बिक्री गर्ने क्रम सुरु भएसँगै बजार क्रमशः घट्न सुरु भयो भने उता हकप्रदको कारण बैंकहरुमा ॠणको चाप पर्न थाल्यो र तरलताको अवस्था सिर्जना भयो । यसरी बैंकहरुमा तरलताको समस्या सिर्जना हुनुमा हकप्रद पनि एउटा प्रमुख कारण हो । त्यसकारण अहिले बजारलाई वियरिस अवस्थामा पर्याउनुमा राष्ट्र बैंक र बिमा समितिको पनि प्रमुख हात छ ।

२.धितोपत्र बोर्डको भूमिका बजारप्रति नकारात्मक भइदिंदा बजार बियरिस अवस्थामा पुग्यो:
हकप्रद सेयरको अत्यधिक आपूर्तिले थला परेको बजारमा धितोपत्र बोर्डले बजार विस्तार गर्ने योजना ल्याउनुको साटो बजारमा सेयर आपूर्ति वृद्धि गर्ने बाहेक दोस्रो बजार विकासका लागि अरु केही काम गर्न सकेको देखिएन । जब कि बजारमा आएको अत्यधिक आपूर्ति अनुसार बजार विस्तार योजना, जस्तैः गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउने, बैंकलाई ब्रोकर लाईसेन्स दिएर र ब्रोकर शाखा देशभर पुर्याएर सेयर बजारको विकास र विस्तारमा कुनै कसर बाँकी राख्नु हुँदैन थियो । तर धितोपत्र बोर्ड यस्ता काममा नलागेर कम रेटिङ भएका हाइड्रोपावर कम्पनीहरुलाई धमाधम आईपीओ जारी गर्न दिने, अन्य विभिन्न कम्पनीहरुलाई एफपिओ जारी गर्न दिएर हकप्रदले घाइते भएको बजारलाई नुनचुक लगाउने काम मात्र गरेको देखियो । फलस्वरूप बजार वियरिस अवस्थामा पुग्यो । 

३.नेप्सेको भूमिकाः अहिले बजारलाई वियरिस अवस्थामा पुर्याउनुमा  महत्त्वपूर्ण भूमिका नेप्सेले पनि खेलेको छ । गत साल कार्तिकबाटै अनलाइन कारोबार प्रणाली ल्याउँछु भनेर लगानीकर्तालाई झुक्याएर फसाउने काम नेप्सेले गरेको थियो । गत साल कार्तिकमा आउने भनेको अनलाईन ट्रेडिङ यो बर्षको कार्तिकसम्म पनि आउला कि नआउला भन्ने आशंका लगानीकर्तालाई छ । अनलाइन ट्रेडिङ आउँछ र नेपाली सेयर बजार विश्वब्यापी हुन्छ र घरमै बसेर क्लिक गरेर सेयर किनौला भन्ने आशामा बसेका लगानीकर्ता बारबार नेप्सेले अनलाइन ट्रेडिङ आउने मिति सारिरहँदा निराश हुँदै बजारबाट पलायन भएको कारण पनि बजार बियरिस अवस्थामा पुगेको हो । 

४.सरकारको भूमिका: लामो राजनीतिक अस्थिरतापछि देशमा नयाँ दुई तिहाई बहुमतको बामपन्थी सरकार बनेको छ । देश राजनीतिक क्रान्ति पूरा गरी आर्थिक क्रान्तिमा प्रवेश गर्छ भन्ने हामी लगानीकर्तालाई लागेको थियो । तर, अहिलेसम्मको सरकारको कार्यशैली हेर्दा त्यति आशा जगाउने काम सरकारले गर्न सकिरहेको छैन । उल्टो सरकारका अर्थमन्त्रीले सेयर बजारका बारेमा विभिन्न फोरमहरुमा नकारात्मक कुरा गरिदिंदा अत्यधिक सेयर आपूर्ति र उच्च ब्याजदरले थला परेको बजारमा अर्थमन्त्रीको बोली बलेको आगोमा घ्यू थपे जस्तो भएको छ । नियामक निकायमा बसेका उच्च तहको नेतृत्वले सेयरबजार अति संवदेनशील क्षेत्र भएकोले उहाँहरुले बोलेका सामान्य कुराहरुले पनि बजारमा ज्यादै नकारात्मक असर गर्छ भन्ने कुरा नबुझ्दा त्यसको प्रत्यक्ष मारमा लगानीकर्ताहरु पिल्सिएका छन् ।  त्यसकारण नियामक निकायमा बसेका उच्च तहका व्यक्तित्वहरुले सेयर बजारको बारेमा बोल्दा अलि विचार पुर्याउनुपर्ने देखिन्छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले  चुनावी सभाहरुमा गरेका सेयर बजारको विकास र विस्तार सम्बन्धी भाषण तथा प्रतिबद्धता पनि भाषणमै सीमित हुन पुग्दा लगानीकर्ता निराश हुन पुगे, फलस्वरूप बजार बियरिस अवस्थामा पुग्न गयो ।  

५.उच्च ब्याजदर: सेयर बजार र ब्याजदरको सम्बन्ध विपरीत हुन्छ भन्ने कुरा हामी सबैलाई अवगत भएकै कुरा हो  । जब जब बैंकहरुले सेयर कर्जाको ब्याजदरमा वृद्धि गर्दै जान्छन्, तब तब सेयर बजार घट्न सुरु गर्छ भने बैंकहरुले सेयर कर्जाको ब्याजदर घटाउँदै लग्छ्न, तब  बजार बढ्दै जान्छ । हकप्रद सेयरमा पैसा लगानी गर्नुपर्ने बाध्यताले बैंकमा पैसाको मागको चाप पर्दा बैंकहरुमा तरलताको समस्या सिर्जना भयो, फलस्वरूप ८-९ प्रतिशतमा सेयरकर्जा पाईरहेका लगानीकर्ताले १५-१६ प्रतिशत सम्म ब्याज तिर्नुपर्ने बाध्यता एकातिर भयो भने अर्कोतिर निरन्तर बजार घटदा बैंकहरुले लगानीकर्तालाई मार्जिन कल गरेर सताउँदा लगानीकर्ताहरुले घाटै खाएर पनि सेयर बेच्नुपर्ने बाध्यता सिर्जना भयो । फलस्वरूप बजार बियरिस अवस्थामा पुग्यो ।

यसरी २०६८ सालको बियरिस अवस्था प्राकृतिक थियो भने अहिलेको वियरिस अवस्था अप्राकृतिक छ । किनभने अहिले देशमा राजनीतिक स्थिरता छ, अर्थतन्त्रका सबै सूचक समग्रमा सकारात्मक नै छन्। अहिले मन्दीको अवस्था पनि छैन, देशमा कुनै प्राकृतिक प्रकोप छैन । कम्पनीहरुका प्रगति प्रतिबेदन र सूचकहरु पनि सन्तोषजनक नै छ ।  फेरि पनि बजार निरन्तर घटनु भनेको अप्राकृतिक घटाई हो भन्ने बुझिन्छ । 

अर्कोतिर, सेयर बजारका माफियाहरु, जो बजार १११७ बाट फर्केर १४६७ हुँदा बेचेर बसेका छ्न्, तिनीहरुले विभिन्न हल्ला फिजाएर बजार घटाउन न्वरानदेखिको बल लगाईरहेको कुरा विभिन्न अनलाइन पत्रिकाहरुमा आएको समाचारबाट बुझ्न सकिन्छ  । 

अहिले धमाधम कम्पनीहरुले राम्रो प्रगति गरेको प्रतिवेदन निकालिरहेका छ्न् । बजारका लागि अपवादमा बाहेक सबै कुरा अनुकूल हुँदै गइरहेको छ, ढिलो चाँडो अनलाइन कारोबार प्रणाली पनि आउँदैछ, बैंकलाई ब्रोकर लाइसेन्स दिने बाटो खुलेको छ । त्यस कारण अब बजारले बियरिस अवस्थाको चक्रलाई तोडेर बुलिसको यात्रा सुरु गर्छ भनेर विभिन्न प्रविधिक बिश्लेषकहरु र पुराना लगानीकर्ताहरुले भन्दै गरेका छ्न् । अब यो अवस्थामा लगानीकर्ताले राम्रा राम्रा कम्पनी, जो भबिस्यमा ज्यादै राम्रो गर्दै राम्रो बोनस दिनेसक्ने हैसियत बनाउँदै गएका छ्न्, त्यस्ता कम्पनीहरुको सेयरमा दीर्घकालीन लगानी गर्ने उपयुक्त वातावरण अहिले छ। अब लगानीकर्ताहरुले कुरा अरुका सुन्ने निर्णय आफैं गर्नुपर्छ भन्ने कुराको हेक्का राख्दै यो समयमा राम्रा  राम्रा कम्पनीहरुको सेयर उठाउँदै जाँदा भबिष्यमा मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने कुरामा सुनिश्चित हुँदा हुन्छ ।

(लेखक नेपाल पुँजीबजार लगानीकर्ता संघका उपाध्यक्ष हुन् ।)