काठमाण्डौ । सरकारले ११ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगम कार्यालयले मंगलबार सूचना सार्वजनिक गर्दै सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम १ वर्षका लागि ११ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको हो । कालोसूचीमा परेका कम्पनीहरुमा मकवानपुरका हेटौँडा कन्स्ट्रक्सन, विनायक कन्स्ट्रक्सन, शर्मिला निर्माण सेवा, आर.एस. निर्माण सेवा र बि. ब्रदर्स निर्माण सेवा छन् ।

त्यस्तै बाराको जनजागृति कन्स्ट्रक्सन र विशाल कन्स्ट्रक्सन तथा पर्साका अभय कन्स्ट्रक्सन र शिव निर्माण सेवा, रौतहटको सरस्वती कन्स्ट्रक्सन तथा काठमाण्डौको नयाँ युग निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ।

यी ११ वटै कम्पनीलाई कालोसूचीमा राख्न सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय हेटौंडाले लेखी पठाएको र सोहीअनुसार सोमबारको निर्णयले कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले १ वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ।