– अनन्त्य सुन्दर (प्रशिक्षार्थी पत्रकार)

काठमाण्डौ । वारेन बफेट विश्वका छैटौँ धनी व्यक्ति हुन्। सेयर बजारमा लगानी गरेर नै बफेट विश्वका अर्बपतिहरूको सूचीमा पर्न सफल भएका हुन्। बफेटको कुल सम्पत्ति १००.६ अर्ब अमेरिकी डलर छ।

बफेट आफ्नो सफलताको राज नै आफू अधिकांश समय अध्ययन गर्ने भएकाले बत्ताउँछन्। बफेटले ११ वर्षको उमेरदेखि नै सेयरमा लगानी गर्न सुरु गरेका थिए। उनी उमेरले ९० वसन्त पार गरिसक्दा पनि दैनिक  रूपमा ५०० बढी पृष्ठको कम्पनीको रिपोर्ट, पुस्तक र अन्य पत्रपत्रिका पढ्छन्। बफेट अहिले पनि दिनको ६ घन्टा अध्ययनमा समय बिताउँछन्। 

संसारको सेयर बजारको सफल लगानीकर्ताको सूची हेर्दा बफेट शीर्ष स्थानमा पर्छन्। बारेनले भनेका छन्, ‘आफूमा लगानी गर्नु नै, संसारको सबैभन्दा ठूलो लगानी हो। तिमी जति धेरै पढ्न सक्छौ, उति नै धेरै कमाउन सक्छौ।’

बफेटले सेयर बजारमा लगानी सुरु गरेको ८० वर्षभन्दा बढी भएको छ। बफेट बर्कशायर हाथवेका सीईयो हुन्। बफेटले हरेक वर्ष हाथवेको वार्षिक चिठीमा लगानीकर्ताहरूले पढ्नुपर्ने पुस्तकहरू सुझाव दिन्छन्। 

यस लेखमा बफेटको लगानी जीवनमा सर्वाधिक प्रभाव पारेका ५ पुस्तक यस्ता छन्– 

द इन्टिलिजेन्ट इन्भेस्टर

द इन्टिलिजेनट इन्भेस्टर अमेरिकाका अर्थशास्त्री बेन्जामिन ग्राहमले लेखेका हुन्। पहिलोपटक यस पुस्तक सन् १९४९ मा प्रकाशन भएको थियो। ग्राहमलाई भ्यालु इन्भेस्टिङका पिता पनि भनिन्छ। ग्राहम कोलम्बो विश्वविद्यालयमा पढाउँथे। त्यसबेला बफेट पनि ग्राहमका विद्यार्थी थिए। दीर्घकालीन लगानी कसरी गर्ने ? लगानी गर्दा कस्ता कम्पनीहरू छनौट गर्ने ? सेयर बजारबाट लामो समयसम्म कसरी नाफा कमाउन सकिन्छ ? जस्ता प्रश्नको उत्तर यस पुस्तकमा पाइन्छ। यस पुस्तकलाई लगानीको ‘बाइबल’ पनि भनिन्छ। The Intelligent Investor PDF

कमन स्टक्स, अनकमन प्रोफिट

कमन स्टक्स, अनकमन प्रोफिट अमेरिकी लगानीकर्ता फिलिप फिसरले लेखेका हुन्। फिसरले यस पुस्तक सन् २००७ मा प्रकाशन गरेका थिए। बफेटका अनुसार उनलाई ग्राहमपछि सर्वाधिक प्रभाव पारेका लेखक फिसर हुन्। फिसरले यस पुस्तकमा लाभांश दिने कम्पनीहरू छनोट गरेर दीर्घकालीन लगानी कसरी गर्ने ? भन्नेबारे लेखेका छन्। पुस्तकको नाम जस्तै ‘साधारण लगानी गरेर, असाधारण नाफा’ कसरी कमाउन सकिन्छ ? भन्ने प्रश्नको उत्तर यस पुस्तकमा पाइन्छ। पुस्तकमा लेखकले अंकगणितमात्र नहेरी, राम्रा कम्पनीहरू छनौट गरेर कसरी लगानी गर्न सकिन्छ भनेर लेखेका छन्।Common Stocks Uncommon Profit PDF

लर्न टु अर्न

लर्न टु अर्न अमेरिकी लगानीकर्ता पिटर लिन्चले लेखेका हुन्। लिन्च दशकौँदेखि अमेरिकी सेयर बजारमा लगानी गर्दै आएका छन्। लिन्चको सेयर बजार बारे अन्य पुस्तकहरू पनि प्रकाशन भएको छ। लर्न टु अर्न, बिटिंग द स्ट्रिट, वान वाक अप अन वाल–स्ट्रिट उनको सर्वाधिक बिक्री भएका पुस्तकहरू हो। लर्न टु अर्न पुस्तकबाट नयाँ साथै पुराना दुवै किसिममा लगानीकर्ताका लागि लाभदायी छ। यस पुस्तकमा पाठकहरूले सेयर बजारमा किन लगानी गर्ने ? कम्पनीको वार्षिक रिपोर्ट कसरी अध्ययन गर्ने ? जस्ता प्रश्नका उत्तरहरू पाउनेछन्। लिन्चले यस पुस्तक सरल भाषामा लेखेका छन्। त्यसैले आर्थिक ज्ञान नभएका पाठकहरूले पनि लेखकले भनेका कुराहरू सजिलैसँग बुझ्न सकिन्छ। Learn to Earn PDF 

सेक्युरिटी एनालाइसिस

सेक्युरिटी एनालाईसिस पुस्तक पनि अर्थशास्त्री बेन्जामिन ग्राहमले लेखेका हुन्। यस पुस्तक लगानीकर्ताले विगत ६० वर्षदेखि अध्ययन गर्दै आएका छन्। यस पुस्तकमा कम्पनीको अंकगणित हेर्दा के के हेर्ने? फण्डामेन्टल हेरेर कसरी लगानी गर्ने ? भनेर लेखिएको छ। बफेट, मंगर, लिन्चलगायत अन्य सफल लगानीकर्ताले यस पुस्तक पढ्ने सुझाव दिँदै आएका छन्। कम्पनीले कति कमाउँदैछ ? कति लाभांश दिन्छ ? ब्यालेन्स सिट कसरी अध्ययन गर्ने ? भन्ने प्रश्नहरूको उत्तर यस पुस्तकमा पाइन्छ। पाठकले यस पुस्तकको सहयताले कम्पनीको त्रैमासिक रिपोर्ट सजिलै अध्ययन गर्न सक्नेछन्।Security Analysis PDF

प्रिन्सिप्ल्सः लाइफ एन्ड वर्क 

प्रिन्सिप्ल्सः लाइफ एन्ड वर्क अमेरिकी अरबपति रे डेलियोले लेखेका हुन्। डेलियोलाई लगानीको स्टिभ जब्स पनि भनिन्छ। डेलियो ४० वर्षदेखि लगानी गर्दै आएका छन्। डेलियोले आफ्नो लगानी जीवनमा के के सिके? भनेर यस पुस्तकमा लेखेका छन्। पुस्तकमा डेलियोको दुई कोठाको अपार्टमेन्टदेखि ब्रिजवाटर असोसियेट्स इन्भेस्टमेन्ट कम्पनी सम्मको यात्रा समेटिएको छ। ब्रिजवाटर असोसियेट्स संसारको सबै भन्दा ठुला हेड्ज फन्डमध्येको एउटा हो। यस पुस्तकमा आफू साथै ब्रिजवाटर असोसियेट्स सफल हुनका लागी उनले के के सिद्धान्तहरू अपनाए भन्ने बारे लेखिएको छ। पुस्तकमा डेलियोले लगानीकर्ताले अनुशासित भएर लगानी गर्ने हो भने बजारमा सफल लगानीकर्ता हुने बताएका छन्। पुस्तकमा बजारमा लगानी गर्दा खरिद–बिक्री निर्णय लिने क्षमतामा कसरी सुधार गर्न सकिन्छ ? भनेर पनि समेटिएको छ। Principles: Life and Work PDF