– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालको पुँजीबजारमा हाल ५० वटा ब्रोकर हाउस सञ्चालनमा छन्। यी ब्रोकर हाउस काठमाण्डौ छन्। यीमध्ये केही ब्रोकर हाउसले मोफसलमा पनि शाखा विस्तार गरेका छन्। 

ब्रोकर हाउसहरुले विशेषगरी आफ्ना ग्राहक सेयर लगानीकर्तालाई धितोपत्र कारोबारसम्बन्धी सेवा दिन्छन्। हिजोआज बैंक तथा वित्तीय संस्थाहरुले जस्तै ब्रोकर हाउसहरुले पनि आफ्नो सेवा तथा कामलाई चुस्त तथा दुरुस्त राख्नुका साथै कार्यक्षमता र प्रणालीलाई विकास गर्दै गएका पनि छन्। 

हाल पुँजीबजारमा रहेका अधिकांश ब्रोकर हाउस भाडाका घरबाट सञ्चालित छन्। केही ब्रोकर हाउस आफ्नै भवनमा सञ्चालित छन्।

आफ्नै भवनमा सञ्चालित केही ब्रोकर हाउसले सेवाग्राहीलाई प्रदान गर्दै आएको सेवासुविधा र तिनका भौतिक पूर्वाधारका विषयमा बिजशालाले एउटा खोजमूलक रिपोर्ट तयार पारेको छ।

सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नंं. ३९),  ज्ञानेश्वर

सुमेरु ज्ञानेश्वरस्थित आफ्नै अत्याधुनिक भवनमा सञ्चालित एउटा नमुना ब्रोकर हो । पहिले कमलादीस्थित भाडाको घरमा सञ्चालित यो ब्रोकर हाल ज्ञानेश्वरस्थित जर्मन दूतवासअगाडि भव्य र फराकिलो  पार्किङसहितको आफ्नै पाँचतले भवनमा सञ्चालित छ। 

भौतिक सुविधाका हिसाबले सुमेरु नमुना ब्रोकर नै बनेको छ। सुमेरुका भौतिक सुविधाहरु कर्पोरेट अफिस तथा बैंकिङ सेवाभन्दा कम छैन। आईटी अफिस, रिसर्च एन्ड डेभलपमेन्ट अफिस र तालिमप्राप्त कर्मचारी यो ब्रोकर हाउसको विशेषता हो। 

आईटी अफिसमा आफूलाई चाहिने र ग्राहकको सुविधालाई ध्यानमा राखेर सफ्टवेयर विकास गरिरहेको छ। अझै थप नयाँ–नयाँ प्रविधि भित्र्याउने तयारीमा सुमेरु रहेको छ। 

सुमेरुमा रिसर्च एन्ड डेभलपमेन्ट टिम पनि खडा गरिएको छ। यो टिमले बाह्य तथा आन्तरिक सेयर बजारसँग सम्बन्धित विभिन्न विषय खोज र अनुसन्धानमूलक कार्य पहिचान गर्ने काम गर्छ। 

सुमेरुको भवनको भुइँ तलामा क्याफे रहेको छ। क्याफेमा लगानीकर्ताले आफ्नो ल्याटप राखेर स्क्रिनमा सेयर बजार हेर्दै कफीको स्वादमा कारोबार गर्न सक्नेछन्। 

लिफ्टसहितको भवनको सबै तलामा वाईफाई सुविधा दिइएको छ। सेवाग्राहीको स्वास्थ्य सुरक्षाका लागि ज्वरो नाप्ने मेसिन उपलब्ध गराएको छ भने भीडभाड कम गर्न टोकन प्रणाली लागू गरिएको छ। 

तारे होटेलकै जस्तो सुविधा यो ब्रोकर हाउसमा महसुस गर्न सकिन्छ। डिस्पेन्सर मेसिनसहितको चिया तथा तातोपानीको पनि व्यवस्था गरिएको छ। सेवाग्राही र कर्मचारीका लागि अटोमेटिक ह्यान्ड स्यानिटाइजरको पनि व्यवस्था गरिएको छ।

यो ब्रोकर होउसको तेस्रो तला करिब ५ हजार स्क्वायर फिटमा फैलिएको छ। तेस्रो तलामा टोकन मेसिन राखिएको छ। लगानीकर्ताले कुन विभागमा सेवा लिने हो, त्यहीअनुसार टोकन लिन सक्छन्। 

सुमेरुमा कुल २५ जना कर्मचारी खटिएका छन्। यस संस्थामा हेल्प डेस्क र क्विक रेस्पोन्स टिम पनि स्थापना गरिएका छन्। यी विभागले ग्राहकलाई कुनै समस्या परेको अवस्थामा छिटोभन्दा छिटो समस्या समाधान गरी आफ्नो ग्राहकलाई चुस्तदुरुस्त सेवा दिन तल्लीन हुन्छन्। 

सुमेरुको झापाको बिर्तामोडमा पनि शाखा छ। त्यहाँ ७ जना कर्मचारीले सेवा प्रवाह गरिरहेका छन्। 

निकै चुस्त–दुरुस्त सेवा दिने सुमेरुमा १७ हजार ३०४ जना डिम्याट खाताधारी र ११ हजार ९३७ जना डिम्याट प्रयोगकर्ता छन्। 

सुमेरुमा टीएमएसमार्फत कारोबार गर्नेको संख्या ५४ हजार ३१ रहेको छ। 

बढीभन्दा बढी ग्राहक सेवालाई ध्यान दिँदै सुमेरुले आफैँ कोल्याट्रल लोड गर्न तथा टीएमएस चलाउनसमेत लगानीकर्तालाई प्रशिक्षण दिने काम पनि गर्छ। ब्राकरले फोनबाटै सेवा लिन चाहने लगानीकर्ताका लागि छुट्टै कस्टुमर सेवाको पनि व्यवस्था गरेको छ। 

त्यसो त सेयर बजारमा सेयर बादशाह उपनामले परिचित निर्मल प्रधान पनि सुमेरुबाटै सेयर कारोबार गर्छन्। ‘मैले लामो समयदेखि यही ब्रोकर हाउसबाट कारोबार गरिरहेको छु’, प्रधानले भने, ‘यहाँबाट कारोबार गर्न निकै सहज छ।’ 

सुमेरुमा भेटिएका एक लागनीकर्ता लक्ष्मण श्रेष्ठले आफू विगत १५ वर्षदेखि यो ब्रोकर हाउसमा आबद्ध रहेको बताए। ‘म यो ब्रोकर हाउसको सेवासुविधाबाट पूर्ण रुपमा सन्तुष्ट छु’, उनले भने। 

अर्की लगानीकर्ता सुनिता महर्जन पनि आफू विगत १० वर्षदेखि सुमेरुमा आबद्ध रहेको बताउँछिन्। ‘सेवा तथा सुविधा राम्रै छ’, उनी भन्छिन्। 

नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४), कालिकास्थान

नेपाल स्टक हाउस पनि कालिकास्थानस्थित आफ्नै भवनबाट सञ्चालित छ। यो ब्रोकर हाउसमा पनि फराकिलो पार्किङ, लिफ्ट, एसी र वाईफाईको सुविधा छ। 

२०७५ साल असार ७ गतेदेखि नेपाल स्टक हाउस कालिकास्थानस्थित आफ्नै भवनमा सरेको थियो। करिब १ वर्षपहिले यो ब्रोकर हाउसमा बुलको प्रतिमा अनावरण गरिएको थियो। 

करिब ४ हजार स्क्वायर फिटमा फैलिएको यो ब्रोकर हाउसमा ३२ जना कर्मचारी छन्। सेवाग्राहीका लागि कोभिड महामारीबीच यो ब्रोकर हाउसले ज्वारो नाप्ने मेसिन र स्यानिटाइजरको व्यवस्था पनि गरेको छ। 

नेपाल स्टक हाउसको पोखराको दीपेन्द्र सभागृह अगाडि शाखा रहेको छ। 

कालिकास्थानस्थित नेपाल स्टक हाउसमा भेटिएका लगानीकर्ता कैलाश दाहाल आफू विगत २ वर्षदेखि यो ब्रोकरमा आबद्ध रहेको बताउँछन्। ‘सेवासुविधा राम्रै छ, सन्तुष्ट नै छु’, उनले भने। 

अर्की महिला लगानीकर्ता राधा लुइलेटले पनि आफूले १० वर्षदेखि यो ब्रोकरमा सेवा लिइरहेको बताइन्। ‘अहिलेसम्म राम्रै छ’, उनले भनिन्। 

प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ३२), न्युप्लाजा

प्रिमियर पनि विगत ४ वर्षदेखि न्युप्लाजास्थित आफ्नै भवनबाट सञ्चालित छ। यो ब्रोकरमा २३ जना कर्मचारी छन्। कुल ग्राहक २२ हजार माथि छन्। 

प्रिमियरको दुईतले भवन छ। क्षेत्रफल फराकिलो छ। पार्किङलगायत वाईफाई तथा बस्नका राम्रो सुविधा रहेको छ। यो ब्रोकरले अनलाइन सुविधाका साथै ग्राहकलाई अप्ठ्यारो परेको अवस्थामा बेचेको दिनै पैसा पनि दिने गर्छ। 

प्रिमियरमा भेटिएका लगानीकर्ता टीका केसीले आफू विगत १० वर्षदेखि यो ब्रोकर हाउसमा आबद्ध रहेको बताए। ब्रोकरको सेवा तथा सुविधाबाट उनी सन्तुष्ट नै देखिए। ‘बेचेको पैसा समयमै दिन्छ, कहिलेकाहीँ ढिलो भुक्तानी गर्दा जरिवाना पनि लिँदैन’, उनले भने। 

मल्ल एन्ड मल्ल स्टक ब्रोकरिङ कम्पनी (स्टक ब्रोकर नम्बर ११)

यो ब्रोकर हाउ काठमाण्डौको हात्तीसारमा छ। यसको आफ्नै भवन छ। यसका शाखा इलाम र पाँचथरको फिदिममा पनि रहेको छ। 

यो ब्रोकर हाउसमा १६ जना कर्मचारी रहेका छन्। टीएमएसमा आबद्ध हुनेको संख्या १२ हजार ५०० रहेको छ। कुल ग्राहक संख्या ३३ हजार छ। करिब ५ हजार स्क्वायर फिटमा फैलिएको यो हाउस ब्रोकरमा पनि फराकिलो पार्किङ तथा वाईफाई र अन्य सबै खाले भौतिक सुविधाले सम्पन्न रहेको छ। 

आशुतोष ब्रोकेरज एन्ड सेक्युरिटिज (ब्रोकर नम्बर ८), बत्तीसपुतली

यो ब्रोकर हाउस काठमाण्डौको बत्तीस पुतलीस्थित आफ्नै भवनमा रहेको छ। यसका साथै इटहरीमा पनि यो ब्रोकरको शाखा छ। सबैतिर गरी यस ब्रोकर हाउसमा २३ जना कर्मचारी छन्। 

यो ब्रोकर हाउस १ हजार ५०० स्क्वायर फिटमा फैलिएको छ। यस ब्रोकर हाउस मा २ हजार २०० जना ‘मेरो सेयर’ होल्डर रहेका छन्। टीएमएस लिनेको संख्या १० हजार बढी रहेको छ। 

यो ब्रोकर हाउसमा पनि पार्किङ, वाईफाई र अन्य आवश्यक सबैखाले भौतिक सुविधा रहेको छ।