-प्रकाश न्यौपाने
काठमाण्डौ । अमेरिकी चर्चित लगानीकर्ता वारेन बफेट अल्पकालीनभन्दा दीर्घकालीन लगानीमा बिश्वास गर्छन। तर पछिल्लो समय अल्पकालीन लगानी गर्न रुचाउनेको संख्या पनि बढ्दै गएको देखिन्छ। 

तुलनात्मक रुपमा दीर्घकालीन भन्दा अल्पकालीन लगानी धेरै जोखिममा हुन्छ। नेपालमा इन्ट्रा डेको सुबिधा नभए पनि  टि प्लस टु सुबिधाको उपयोगबाटै बजारको घटबढ र सेन्टिमेन्ट अनुसार लगानी गरेर कमाउने स्मार्ट लगानीकर्ता पनि प्रशस्तै छन। 

नेपालमा इन्ट्रा डे कारोबारका लागि नियामक र लगानीकर्ता दुबै तयार भएको देखिदैन, तर समयको मागसँगै यो प्रबिधि पनि नेपालमा छिट्टै आउने आशा गर्न सकिन्छ। 

अल्पकालीन(सर्ट टर्म) लगानी गरेर अहिलेको अबस्थामा पनि नाफा कमाउन सकिने स्मार्ट लगानीकर्ता निमानन्द कँडेल बताउँछन् । उनी अगाडि भन्छन्–‘बुझेर लगानी गर्नेले अन्य सेक्टरबाट भन्दा सेयरबजारबाट नसोचेको पैसा कमाएका छन्। केही यस्ता टेक्निक तथा सूत्र छन्, जसलाई पछ्याएर अनुशासित र स्मार्ट तरिकाबाट कारोबार गरेमा अल्पकालमा पनि मनग्ये कमाउन सकिन्छ । 

अर्का सक्रिय लगानीकर्ता अमृत बोगटी पनि कँडेलको कुरामा सहमत छन् । उनको अनुभवमा अल्पकालीन र दीर्घकालीन लगानीका लागि छुट्टा छुट्टै योजना बनाएर लगानी गर्दा नेपालको सेयर बजारमा नाफा कमाउन सकिन्छ । 

कँडेल र बोगटीको अनुभवमा अल्पकालीन लगानी गरी कमाउने सूत्र चाहिँ के हो त ? हेर्नुहोस् उनीहरुले सुझाएका १० बुँदा:

१) खरिद गर्दा खासै मूल्य नबढेका, रिजर्भ र वित्तीय विवरण राम्रो भएका कम्पनी मात्र छान्ने
२) खरिद गर्दा अहिलेलाई धेरै घटेको तर राम्रो कम्पनीको छनौट
३) बढीमा १२ देखि १५ प्रतिशतमात्र नाफाको टार्गेट राख्ने
४)सेयर खरिद गर्दा एकैपटक आफूसँग भएको सबै पैसा खर्च नगर्ने
५)यदि बजार आफूले खरीद गरेपछि पनि निरन्तर घटेमा एभरेजिङ गरी बाउन्सब्याकको प्रतिक्षा गर्ने
६)बाउन्सब्याकपछि पनि पहिलाको खरीद मूल्य नभेटेमा स्टप लस गरी बजारबाट बाहिरिने
७)स्टप लस गर्न नसकेमा दिर्घकालका लागि पर्खने 
८) सेयर खरिद गर्दा एउटै कम्पनीको मात्र नगरी २ देखि ५ वटासम्म गर्ने
 ९) सकेसम्म कम पुँजी भएका कम्पनीमा कारोबार गर्ने, यस्ता कम्पनीको सेयरमा ठूला लगानीकर्ता झुम्मिएको देखिन्छ
१०)सकेसम्म लाभांश घोषणा गर्न लागेका कम्पनीको सेयर कारोबार गर्ने