काठमाण्डौ । जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले काठमाण्डौ जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जनाएको छ। 

कार्यालयका काठमाण्डौ क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ भने क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा गर्ने व्यवस्था मिलाइएको छ। क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा र क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार मतगणना काठमाण्डौ क्षेत्र नं. ५ को टोखाको श्रीसमाज भवनमा, ६ को धर्मस्थलीमा, ७ को बालाजुको जुडो हलमा, ८ को स्वयम्भुको गितामाता स्कुलमा, ९ को नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र १० को त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा हुनेछ। 

ती सबै मतगणनास्थल सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको कार्यालयले जनाएको छ।