काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा तीनवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्।

कालिञ्चोक दर्शन, हाथवे इन्भेस्टमेन्ट नेपाल र सिटी होटेलले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा आवेदन दिएका हुन्। कालिञ्चोक दर्शनले स्थानीय र सर्वसाधारणका लागि तथा हाथवे र सिटी होटेलले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने अनुमति मागेका छन्।

सेबोनको अनुमति पाएमा कालिञ्चोक दर्शनले १०० अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। 

हाथवेले भने ५० अंकित दरका २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्नेछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। 

यसैगरी सिटी होटेलले १०० अंकित दरका कुल १६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्नेछ। यसको आईपीओ बिक्री प्रबन्धकमा पनि ग्लोबल आइएमई क्यापिटल नै रहेको छ।