काठमाण्डौ । बजारको सुस्त गति निरन्तर चलिरहेको छ । पछिल्लो समय परिसूचकसँगै कारोबार रकममा पनि समानान्तर ढंगले गिरावट आइरहेको छ । 

दैनिकजसो नेप्से परिसूचक घटिरहेको बेला कारोबार रकम अझै घटेर मंगलबार ५० करोड तल पुगेको छ । यसले बजारप्रति लगानीर्काको आत्माविश्वास क्रमशः कमजोर हुँदै गएको देखाउँछ । 

मंगलबार नेप्से परिसूचक ०.१७ अंकको झिनो बढोत्तरीका साथ बन्द भए पनि कारोबार रकम ४८ करोडमा सीमित हुनुले बजारको भविष्य शुभ छ भन्ने सकिने अवस्था छैन । 

कारोबार रकम र नेप्से परिसूचकमा लगातार समानान्तर ढंगलको गिरावट आउनुलाई विश्लेषकहरुले अशुभ संकेत मान्दछन् । विगत केही दिनदेखि यस्तै प्रवृति बजारमा हाबी भइरहेको देखिन्छ । 

यसरी बजार निरन्तर घट्दै जानु पछाडि मुख्य रुपमा केही कारण देखिएका छन् । 

पहिलो, बजेटले बजार सुधारका थुप्रै बुँदा घोषणा गरे पनि त्यसको कार्यान्वयनको ढाँचा र अवस्था हेरेर मात्र खरीदबिक्रीको निर्णय लिने भन्दै केही लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा छन् । यसले ती लगानीकर्ताहरुको सक्रियता घटाएको छ, जसको परिणाम बजार मन्द गतिमा कुदन थालेको छ । 
दोश्रो कारण, केही संगठित गिरोहले बढ्न थालेको बजारलाई सुनियोजित ढंगले घटाइरहेका छन् । ५ प्रतिशतमा सीमित गरिएको पूँजीगत लाभकर अन्तिम कर हो या होइन भन्ने बिषयको अन्यौलको आगोमा घिउ थपेर न्यानो तापिरहेकाहरुका कारण समेत बजार घटिरहेको छ । 

तेश्रो, बैंक तथा वित्तीय संस्थाहरुमा आर्थिक वर्षको उत्तराद्र्धमा समेत पर्याप्त तरलता छैन । तरलताको अभावमा बैंक तथा वित्तीय संस्थाहरुको सिसीडी अनुपात टाइट छ । यसको फलस्वरुप नयाँ कर्जा लगानी गर्न नसक्ने, थप निक्षेप बजारबाट उठाउन नसक्ने अवस्थामा वित्तीय संस्थाहरु पुगेका छन् । यसले समेत सेयर बजारमा प्रभाव पारेको छ । 

चौथो, नेपालको सेयर बजारमा वर्षौदेखि संगठित र शक्तिशाली गिरोहहरु परिचालित छन् । सेयर माफियाको रुपमा चिनिने त्यस्तो गिरोहले पछिल्लो समय आम लगानीकर्ताको मनोबल कमजोर पारी बजारलाई अझ तल झारेर न्यून दरमा सेयर उठाउने दाउ हेरिरहेको छ । यो गिरोहले नै बजारलाई माथि पुर्याई आफूसँग भएको सेयर बिक्री गरेर छोटो अवधिमा राम्रो प्रफिट बुक गर्न भ्याइसकेको छ । प्रफिट बुक गरिसकेको बजारलाई यो वा त्यो बाहानमा घटाएर तल्लो विन्दूमा पुर्याउने र आम लगानीकर्ता त्रसित भएको मौकामा घटेको बजारबाट पुनः सेयर उठाउने योजना रहेको स्रोतहरु दाबी गर्छन् ।

यिनै कारणले मंगलबार पनि बजार सुस्त गतिमै दौडियो । बैंकिङ समूह २.४६ अंकले बढेको यो दिन ट्रेडिङ समूह ७.६९ अंक, विकास बैंक समूह ३.१७ अंक, जलविद्युत समूह ४.६६ अंक र माइक्रोफाइनान्स समूहमा ३.५८ अंकले बढे । 

होटल समूहमा ५.५१ अंकको गिरावट आएको यो दिन बित्त समूहमा १.३ अंक, निर्जीवन बिमा समूहमा ४८.३१ अंक, जीवन बिमा समूहमा १.१ अंक, उत्पादन तथा प्रशोधन समूहमा १३.९५ अंक र अन्य समूहमा ५.१८ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७४ कम्पनीका १५ लाख ९ हजार ८८५ कित्ता सेयर ४८ करोड ८ लाख ७६ हजार ९८६ रुपैयाँमा किनबेच भयो । 
शिवम सिमेन्टले सबैभन्दा बढी ३ करोड ७८ लाख बढीको कारोबार गर्यो । 

एनआइसी एशिया बैंकले २ करोड ७४ लाख, कृषि विकास बैंकले २ करोड ५९ लाख, नेपाल बैंकले २ करोड ४९ लाख, प्रभू बैंकले १ करोड ४५ लाख, एनसीसी बैंकले १ करोड २१ लाख, कुमारी बैंकले १ करोड ९ लाख, सिद्धार्थ बैंकले १ करोड ६ लाख, अपर तामाकोशीले १ करोड २ लाख र प्रिमियर इन्स्योरेन्सले १ करोड बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पाँचथर पावर कम्पनीका सेयरधनीले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.५२ प्रतिशतले बढ्यो । 

खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य समेत ९.२३ प्रतिशतले बढेको छ । 

नेपाल हाइड्रो डेभलपर्स लिमीटेडका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ९.६१ प्रतिशतले घट्यो ।