– गोविन्दप्रसाद घिमिरे

२०७९ असार १० गतेका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) यस बियरिस चक्रको न्यूनतम विन्दु १८०६ (बटम) लगाइसकेपछि करिब ९ महिनासम्म पनि उक्त विन्दुलाई ब्रेक गरेर तल जान सकिरहेको छैन। बरु २०७९ चैत ६ गतेसम्म आइपुग्दा न्यूनतम विन्दुबाट करिब १५० अंक माथि नै कारोबार भइरहेको अवस्था छ। आखिर नेप्सेले ९ महिना बितिसक्दा पनि १८०६ लाई किन ब्रेक गर्न सकेन ? के यसपालिको घट्दो बजारमा बटम लागिसकेको हो ? के पुँजीबजार बुलिस चक्रमा प्रवेश गरिसकेको हो ? के अब सेयरमा लगानी गर्ने उपयुक्त समय यही हो ? भन्नेजस्ता अनेकन जिज्ञासा (खासगरी नवप्रवेशी तथा उच्चतम विन्दुमा लगानी गरिसकेका लगानीकर्ताले) राख्ने गरेका छन्। यिनै जिज्ञासालाई बजारको आधारभूत विश्लेषणमार्फत मुख्य ५ बुँदामा सम्बोधन गर्ने प्रयास गरेको छु।

१. सेयरको न्यून मूल्यः नेप्सेमा सूचीकृत विभिन्न उपसमूहका कम्पनीहरुको बजारमूल्य यतिबेला करिब–करिब किताबी मूल्य (नेटवर्थ) आसपास आइसकेको छ। औसतमा प्रतिसेयर आम्दानी पनि राम्रै छ। आगामी असार मसान्तसम्म अझै बढ्ने सम्भावना पनि जीवितै छ। धितोपत्र सूचीकृत निर्देशिकाअनुसार पहिलोपटक सूचीकृत गर्दा नेप्सेमा पहिलो कारोबार उक्त कम्पनीको किताबी मूल्यको तीनगुणासम्म गर्न सक्ने व्यवस्था छ। यस हिसाबले १०० रुपैयाँ किताबी मूल्य भएको कम्पनी अधिकतम ३०० रुपैयाँसम्म बजारमूल्य राखी कारोबार गर्ने व्यवस्था छ। त्यसपछि भने माग र आपूर्तिका आधारमा बजारमूल्य तय हुँदै जान्छ। धितोपत्र बोर्डको उक्त सामान्य निययलाई नै आधार मान्ने हो भने पानी किताबी मूल्यबराबर नै बजारमा सेयर खरिद गर्न पाउनु आफैँमा उपयुक्त समय हो भनेर निर्क्यौल गर्न सकिन्छ।

२  घट्दो व्याजदर र बढ्दो तरलताः सिद्धान्ततः ब्याजदर र पुँजीबजारको सम्बन्ध जहिले पनि विपरीत हुने गर्दछ। र, व्यवहारमा पनि त्यही देखिँदै आएको छ। नेपाललको पुँजीबजारको इतिहासलाई फर्केर हेर्दा पनि जब–जब तरलताको अभाव भई ब्याजदर वृद्धि हुँदै जान्छ तब–तब नेप्से परिसूचकको यात्रा तलतिरै लागेको देख्न सकिन्छ। यसपटक पनि करिब २ वर्षपहिले कोरोना महामारीको नकारात्मक संकेत अर्थतन्त्रमा देखिन थालेपछि नेपाल राष्ट्र बैंकबाट नीतिगत दरहरुमा हेरफरसँगै कसिलो मौद्रिक नीति अंगिकार गरेसँगै विस्तारै लगानीयोग्य रकमको अभाव चर्किंदै गयो। फलस्वरुप तरलता अभाव भई ब्याजदर बढ्न थालेसँग नेप्सेको ओरालो यात्रा सुरु भयो र करिब डेढ वर्षको अन्तरालमा नेप्से परिसूचकमा ४०–४५ प्रतिशतसम्मको गिरावट आउँदा कतिपय राम्रा भनिएका सेयरधनीलाई निरन्तर उच्च लाभांश वितरण गर्दै आइरहेका कम्पनीहरुमा समेत अस्वाभाविक गिरावट आई करिब ७०–७५ प्रतिशतसम्म पनि मूल्यमा गिरावट आइसकेको अवस्थामा आजका दिनसम्म आइपुग्दा अनेकन उतारचढावका बीच तरलताको अवस्था केही खुकुलो हुने संकतेसँगै २ महिना अगाडिसम्म उच्चतम विन्दुमा रहेको बचतको ब्याजदर १.५ प्रतिशत सम्म गिरावट आई क्रमशः घट्दो चरणमा गइसकेको र आगामी वैशाखदेखि कर्जाको ब्याजदरसमेत घट्ने निश्चितप्रायः भइसकेको र आगामी दिनमा सेयरको मूल्य विस्तारै बढ्दै जाने हुँदा अहिलेको मूल्यमा छानी–छानी निरन्तर लाभांश वितरण गर्ने कम्पनीमा समयमै लगानी गरी अगामी बुलका लागि तयारी अवस्थामा बस्दा उपयुक्त देखिन्छ। 

३. नीतिहरुमा बदलावको संकेतः करिब २ वर्षपहिला देशको आर्थिक अवस्थालाई मूल्यांकन गर्दै नेपाल सरकार तथा नियामक राष्ट्र बैंकले मौजुदा नीति–नियमहरुमा परिमार्जन गरी कसिलो मौद्रिक नीति अवलम्बन गरेसँगै बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभाव भई ब्याजदर वृद्धि हुँदा लागत महँगो हुन गई कर्जाको माग हुन छोडेसँगै आर्थिक गतिविधि ठप्पजस्तै भयो र जसको प्रत्यक्ष असर घर–जग्गा कारोबार, सेयर कारोबार, आयातीत व्यापार–व्यवसाय, उद्योगधन्दामा पर्न गई सरकारको राजश्व असुलीमा समेत ठूलो धक्का पुगेको अवस्थामा विभिन्न संघसंस्था, उद्योगीव्यवसायीसँगै आमलगानीकर्ताको निरन्तरको विरोध र आन्दोलनको मागअनुसार नेपाल सरकार, नियामक राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डबाट विभिन्न मागहरुलाई सम्बोधन गर्ने आश्वासनलाई मौजुदा आर्थिक नीति–नियमहरुलाई क्रमशः परिमार्जन गरी व्यवहारत खुकुलो गर्दै जाने संकेत देखिएको छ। साथै लगानीकर्ता तथा सरोकारवालाले उठाउँदै आएको मुख्य माग नयाँ स्टक एक्सचेन्ज र बैंक, वित्त, बीमा तथा विभिन्न क्षेत्रका कम्पनीहरुलाई समेत नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकोले निकट भविष्यमै ती कम्पनीहरुले दिने सेवा सबै स्थानीय तहदेखि वडासम्म सेयर कारोबारको सञ्जाल विस्तार हुने हुँदा सेयरको अत्याधिक माग भएसँगै अहिलेको लगानीमा उचित प्रतिफल प्राप्त हुने अनुमान गर्न सकिन्छ। 

४. राजनीतिक परिदृश्यः करिब १० महिनापहिले स्थानीय निर्वाचन सुरु भएसँगै हालसम्म आइपुग्दा संघ र प्रदेशको निर्वाचन सम्पन्न भई भर्खरै राष्ट्रपति, उपराष्ट्रपतिलगायत सबै संवैधानिक पदहरुको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा अब जुनसुकै वाद र सिद्धान्त भएका पार्टीहरुको सरकार बने पनि आगामी ५ वर्ष नेपालको मौजुदा संविधानबमोजिम नै राजनीतिक कोर्स अगाडि बढ्ने हुँदा जुनसुकै दलको सरकार बने पनि आर्थिक नीतिहरु प्राथमिकताका साथ सम्बोधन हुन्छन् भन्ने आशा गर्न सकिन्छ। जसबाट अर्थतन्त्र चलायमान भएसँगै पुँजीबजारले गति लिन्छ। भलै हालको निर्वाचन प्रणालीबाट ५ वर्ष स्थीर सरकार बन्ने सम्भावना अत्यन्त न्यून रहन्छ। 

५. चक्रीय प्रभाव: पुँजीबजारको उतारचढावमा चक्रीय प्रभावको निकै ठूलो भूमिका रहने गर्दछ। भलै त्यस्तो प्रभाव सबै देश र परिस्थितीमा एउटै खालको नभए पनि बुल र बियरको चक्रलाई सबैले आत्मसाथ गरेको पाइछ। नेपालको पुँजीबजारको इतिहासलाई हेर्दा करिब साढे २ वर्षदेखि ३ वर्षको वियर र ४ वर्षदेखि साढ़े ४ वर्षको बुल चक्र चल्ने गरेको हामीले तथ्यांकमा देख्न सक्छौ। भलै पछिल्लो बुल करिब डेढ वर्षमै पूरा भएको थियो। जसलाई अपवादका रुपमा लिन सकिन्छ। किनकि बजारले पुरानै चक्रअनुसार  समयको संकेत गरिसकेको छ। जसअनुसार पनि अगामी ६–८ महिनाभित्रै बजार बुलिस चक्रमा प्रवेश गर्ने आँकलन गर्न सकिन्छ। भलै १८०६ आसपासको विन्दु नै बियरिस बजारको अन्तिम विन्दु हो भनेर अनुमान गर्न सकिन्छ। त्यस हिसाबले पनि अहिलेको मूल्य लगानीका लागि उपयुक्त हुन सक्छ।

अन्त्यमा, माथि उल्लेख भएबमोजिमका मूख्य आधारहरुका  अलावा अन्य थुप्रै सकारात्मक आधारहरु छन्, जसले गर्दा पुँजीबजारमा अथाहा सम्भावना र आशा देख्न सकिन्छ। तथापि सेयर बजारको लगानी सदैव जोखिमपूर्ण हुने हुनाले कुनै पनि कम्पनीमा लगानी गर्नुपूर्व कसैको लहडमा नलागी कम्पनीको व्यवसायको प्रकृति, संस्थागत सुशासन, साधारण सेयरधनीप्रतिको जबाफदेही सञ्चालक तथा उच्च व्यवस्थापन, खराब कर्जाको अवस्था (बैंक तथा वित्तीय संस्थाको हकमा), उच्च नैतिकवाद नेतृत्व, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, लगानीमा प्रतिफल, उच्च तथा सन्तुलित लाभांश वितरण नीति भएका, समयमै लाभांश वितरण गर्ने ठूला राम्रा र बलिया कम्पनीको वित्तीय विवरणहरु राम्रोसँग अध्ययन गरी वा भरपर्दो विज्ञसँग परामर्श लिई लगानी गर्ने बानी बसालेमा अहिलेको मूल्यमा सेयरमा लगानी गर्दा पक्कै पनि पछुताउनुपर्ने छैन भन्ने मेरो बुझाइ रहेको छ।

(लेखक घिमिरे लामो समयदेखि सेयर बजारमा सक्रियताका साथ लगानी गर्दै तथा बजारको गतिविधि नियाल्दै आएका छन्।)