काठमाण्डौ। नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित तीन वटा कम्पनीको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ ।

प्राधिकरणले युटिएल, म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको हो ।तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीहरुको अनुमतिपत्र खारेज भएको प्राधिकरणले बताएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण स्रोतका अनुसार ती कम्पनीहरुले अनुमतिपत्र नवीकरण गरेका थिएनन् ।कम्पनीहरुले पाँच वर्षपछि नवीकरण गर्नुपर्नेमा वेवास्ता गर्दै आएका थिए ।

प्राधिकरणले कम्पनीहरुलाई नियमानुसार तिर्नरबुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ । प्राधिकरणले यसअघि पनि विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमति खारेज गरेको थियो ।