– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका जलविद्युत कम्पनीहरुमध्ये युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर पनि एउटा हो। युनाइटेड इदी मर्दी पोखराको प्रतिष्ठित समूह केसी ग्रुपद्वारा सञ्चालित कम्पनी हो। 

सन् १९७३ सालदेखि केसी ग्रुपले जलविद्युतलगायतका विभिन्न क्षेत्रमा लगानी गर्दैै आएको छ। खासगरी रारा तथा आहा चाउचाउ उत्पादन गर्ने केसी ग्रुपले बैंक तथा वित्तीय क्षेत्र, हस्पिटालिटी र जलविद्युतमा पनि लगानी गरेको पाइन्छ। 

युनाइटेड इदी मर्दी कम्पनीअन्तर्गत हालसम्म २३.३ मेगावटका सेती दोस्रो, मार्दी खोला र विजयपुर दोस्रो, माद्क्यु खोला र अप्पर मार्दी खोला गरी ५ वटा जलविद्युत आयोजनाहरु सम्पन्न भइसकेका छन्। अन्य ३ आयोजना करुवा सेती, विजयपुर दोस्रो तथा माथिल्लो सेती जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन्। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म युनाइटेड इदी मर्दीको चुक्तापुँजी ४२ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा ४ करोड ८५ लाख रुपैयाँ छ। दोस्रो त्रैमासमा कम्पनीले ४ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २२.७३ रुपैयाँ रहेको छ।

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभले लाखौँ लगानिकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ।

इलिअटमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।   

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ‘ए’, ‘बी’ र ‘सी’ले बजार तल जाने संकेत गर्छन्। 

यो कम्पनीले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा वेभ (१) मा  सेयरभाउ ६७० रुपैयाँसम्म पुगेको देखिन्छ भने वेभ (२) मा सामान्य करेक्सन भएर ४४६  रुपैयाँसम्म आएको देखिन्छ। त्यसपछि सोही डिग्रीकै वेभ (३) मा बढोत्तरीका साथ १००२ रुपैयाँसम्म पुगेको देखिन्छ। वेभ (४)  को करेक्सनमा ८०० रुपैयाँसम्म आउन सक्छ। त्यसपछि वेभ (५) मा १२०० रुपैयाँ सम्म पुग्न सक्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी सिद्धान्तका आधारमा

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ८८० रुपैयासम्म, ०.३८ प्रतिशतको टेवामा ८०० रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ७२० रुपैयाँसम्म र ०.६१ प्रतिशतको टेवामा ६५५ रुपैयाँसम्म आउन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत फेब्रुअरी १७ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस  सिग्नल  बनेको छ र हिस्टोग्राम पोजेटिभ भएका छन्। (हेर्नुहोस् कालो एरो) 

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएको छ र ह्याम्मर स्टिक अर्थात ह्यागिङ म्यान बनाएको देखिन्छ। यसले यो कम्पनीको सेयरमा सामान्य करेक्सन आउन सक्ने देखिन्छ। 

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई ८४ रहेको छ। यो भनेको ओभरबट जोन हो। अघिल्लोपटक यो न्यून  विन्दु २८.४४ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ८८.२९ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्यमा अल्पकालमा केही करेक्सन हुने देखिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ६७२
  • प्रतिरोध २– ७३६
  • प्रतिरोध ३– ८२८
  • प्रतिरोध ४– ९२०
  • प्रतिरोध ५– १००२

पिभट प्वइन्ट : ५८०

घटेमा सपोर्ट 

  • सपोर्ट १– ५१६
  • सपोर्ट २– ४२४
  • सपोर्ट ३– ३६०

निष्कर्ष

यो कम्पनीको सेयरमूल्य केही दिनदेखि निरन्तर बढेको देखिन्छ। प्राविधिक रुपमा हेर्दा बोलिंगर ब्यान्डमा मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएर ह्याम्मर प्याट्रन बनेको र आरएसआई पनि ओभरबट जोनमा रहेकोले अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ। इलिअट वेभमार्फत नियाल्दा दीर्घकालमा सेयरमूल्य बढेर १२००  रुपैयाँसम्म पुग्नसक्ने देखिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका भने होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।