काठमाण्डौ । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले सम्पत्ति शुद्धिकरणको छापाबाट बच्न विद्यार्थीले ताला लगाएको कार्यालयमा प्रवेश गरी डकूमेन्ट मिलाउने र गोप्य कागजात लुकाउने काम गरेको छ ।
कलेज प्रशासनले त्यहाँ आन्दोलनरत विद्यार्थीहरुले ताला लगाएको कार्यालयमा झ्यालबाट कर्मचारी पठाएर कागजात लुकाउने काम गरेको हो ।
विगत २० दिनअघि नै त्यहाँ अध्ययनरत विद्यार्थीहरुले सरकारले तोकेभन्दा बढी आफूहरुबाट असूल गरिएको रकम फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले दैनिकजसो कलेजको मूलगेटमा धर्ना दिइरहेका छन् । सोही क्रममा कलेज प्रशासनले आफूहरुको माग नसुनेको भन्दै उनीहरुले कात्तिक २५ गतेदेखि तालाबन्दी गरेका थिए ।
विद्यार्थीले तालाबन्दी गरेकै समयमा गोप्य रुपमा झ्यालबाट कर्मचारी पठाएर कम्प्युटरहरु खोली महत्वपूर्ण सूचना लुकाइएको र सम्पत्ति शुद्धिकरणको छापाबाट बच्न अन्य फाइलहरु समेत गायब पारिएको त्यहाँको विद्यार्थीहरुले दाबी गरेका छन् ।
'मंगलबार बिहान झ्यालहरु खुलिरहेका रहेछन् । हामीले तालाबन्दी गर्दा झ्याल लगाएका थियौं ।' आन्दोलनरत एक विद्यार्थीले भने-'गएर हेर्दा कम्प्युटरहरु पनि खुल्लै देखियो । झ्यालबाट कर्मचारीलाई छिराएर गोप्य सूचना तथा कागजातहरु लुकाउने काम भएको पाइयो ।'
विद्यार्थीहरुले कलेज प्रशासनले महत्वपूर्ण सूचना र सोसँग सम्बन्धित कागजात गायब पार्न चोरबाटो प्रयोग गरेको भन्दै कलेजको गैरकानूनी आयको विषयमा तत्काल छानबिन गर्न माग गरेका छन् । उनीहरुले अन्य तीन मेडिकल कलेजजस्तै युनिभर्सलमा समेत छापा मार्नुपर्नेमा सरकारी निकायले समेत बेवास्ता गरेको भन्दै आश्चर्य व्यक्त गरेका छन्।
यता, सरकारले पनि विद्यार्थीबाट बढी रकम असूल्ने कलेजहरुलाई रकम फिर्ता गर्न पटक पटक आग्रह गरिसकेको छ । आग्रहलाई नटेर्ने कलेजहरुमा छापा मारेको सरकारले कलेज संचालकविरुद्ध ठगी मुद्धा समेत चलाउने तयारी गरिरहेको छ ।
सरकार कडा रुपमा प्रस्तुत भएसँगै विद्यार्थीबाट बढी असूल्ने कलेज संचालकहरु गोप्य सूचना र तीसँग सम्बन्धित कागजात लुकाउने, प्रमाण नष्ट गर्ने र बच्ने खेलमा लागेको देखिएको हो ।
फेरि परीक्षा बहिस्कारको चेतावनी
विद्यार्थीहरुले आफ्ना माग पूरा गर्ने विषयमा कलेज प्रशासन र अन्य सम्बद्ध निकायले चासो नदेखाएका भन्दै मंसिर १९ गतेका लागि सारिएको प्रथम वर्षको परीक्षा पुनः बहिस्कारको चेतावनी समेत दिएका छन् ।
यसअघि त्रिविले कात्तिक २१ गतेका लागि प्रथम वर्षको वार्षिक परीक्षा कार्यक्रम तोकेको थियो । तर, विद्यार्थीको बहिस्कार पछि मंसिर १९ गतेका लागि सो परीक्षा सार्न त्रिवि बाध्य बनेको थियो । युनिभर्सका लागि विद्यार्थीहरुले आफ्ना माग पूरा नभए १९ गतेको परीक्षा र त्रिविका सबै शैक्षिक कार्यक्रम बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19