काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले सर्वसाधारणका लागि ६४ करोड ५० लाख मूल्य बराबरको आइपीओ निश्कासनको प्रक्रियालाई अगाडि बढाउने उद्देश्यले आगामी कात्तिक १३ गते आफ्नो पहिलो वार्षिक साधारणसभा आह्वान गरेको छ । 

यो कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालय रुपन्देहीको सिद्धार्थनगर ८ मा पहिलो वार्षिक साधारणसभा बोलाएको हो । 

साधारणसभामा संचालक समितिको निर्णय बमोजिम कम्पनीको जारी पूँजी अन्तर्गत सर्वसाधारण समुहका लागि छुट्याइएको ३० प्रतिशतका दरले हुन आउने जम्मा ६४ करोड ५० लाख आइपीओ निश्कासन गर्ने सम्बन्धी प्रस्ताव पारित हुने तथा आइपीओ जारी गर्दा आइपर्ने सबै कार्यहरुका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने बताइएको छ । 

साधारणसभाले संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ संचालकको निर्वाचन समेत गर्नेछ ।