काठमाण्डौ । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने स्किम सार्वजनिक गरेको छ ।

कम्पनीमा प्रचलनमा ल्याईएको बालबच्चा जीवन बीमाबाहेक अन्य जीवन बीमा योजनाहरुमा १८ घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याइएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

यस्तो सुविधा १६ वर्षको उमेर देखि नै लिनसकिने हुँदा न्यूनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोगविरुद्ध सुरक्षा प्रदान गर्ने बताइएको छ । 

यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु रहेको कम्पनीले जनाएको छ । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने बताइएको छ ।

यसैबीच, कम्पनीले अधिकृत पूंजीको ३० प्रतिशतका दरले ६४,५०,००० शेयर कित्ता शेयर सर्वसाधारणलाई आईपिओ जारी गर्ने प्रक्रियामा रहेको समेत जनाएको छ । 

कम्पनीले चालु आ.व. २०७५/७६ को मंसिर महिना सम्ममा प्रथम बीमाशुल्क रकम रु.७६,९५,६८,४२२।– आर्जन गर्न सफल भएको छ । कम्पनीले नेपालभर आफ्ना शाखा तथा उपशाखा कार्यालयहरु बिस्तार गरी ब्यापार ब्यावसाय संचालन गरिरहेको छ । 

हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।